राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशनमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारहरूबीचको रस्साकस्सी चर्किएपछि प्यानल नै बनाएर चुनावी मैदानमा उत्रने तयारी भएको हो। जसका लागि मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको अच्युतम लामिछाने र उत्सव अर्यालबीचमा प्यानल सहितको चुनावी प्रतिस्पर्धा हुने भएको हो।
रास्वपा एक सदस्यका अनुसार दुईजनाबीचमा प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेको हो। जसका लागि हाल उम्मेवारी दिएका धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्रीलाई लामिछाने प्यानलमा ल्याउने तयारी भैरहेको रास्वपाका एक नेताले बताए।
‘निर्वाचनमा सभापतिका लागि दुईजनाबीचमा प्रतिस्पर्धा हुने भयो, ती नेताले भने, ‘अच्युतम लामिछानेले पनि प्यानल बनाइरहनु भएको छ। उत्सव अर्यालले पनि प्यानल बनाइरहनु भएको छ। कृष्णमानजी र हरिबहादुरजीले लामिछाने प्यानललाई सघाउने गरी छलफल चलिरहेको छ। सायद, भोलि बिहानसम्ममा उहाँहरू दुवैजनाले लामिछानेको लागि मत माग्न थाल्नुहुनेछ।’
यसअघि सभापति पदको उम्मेदवारी दर्ता गराएर फिर्ता लिएका सांसद बदन भण्डारी लामिछानेको प्यानलमा उपसभापति उठ्नेगरी भएको सहमती अनुसार फिर्ता भएका हुन् भने महामन्त्रीमा सुरेन्द्र भट्ट नै दोहोरिने दाउमा छन्। सह–महान्त्री लगायतको पदका लागि भने छलफल चलिरहेको रास्वपा बागमती प्रदेशका पूर्वमहामन्त्री सुरेन्द्र भट्टले बताए।
‘अच्युतम दाईको प्यानलमा उपसभापतिको उम्मेदवार बदन दाई नै फिक्स हो, महामन्त्रीको दाबीमा म स्वंम् छु, उनले थपे, ‘अन्य पदका लागि पनि इच्छुक नेताज्युहरू सँगको संवादमै छौँ। उम्मेदवार बन्न चाहाने धेरै हुनुहुन्छ। कसरी अटाएर लैजाने भन्नेमै छलफल हुँदैछ।’
उनका अनुसार सभापतिमा दाबी गरिरहेका शाक्य र खत्रीले लामिछाने प्यानललाई सघाउँदा उनीहरूलाई समेत सम्मानजनक पद दिएर लैजाने तयारी गरिएको हो।
त्यसोत, मकवानपुरका उत्सव अर्यालले पनि आफ्नो प्यानलको तयारी गरिरहेका छन्। उनले यसअघि सहमहामन्त्री रहेकी राधिका ढकाललाई उपसभापतिको उम्मेदवार बनाउने योजना बनाएका छन् भने महामन्त्रीमा यसअघि कोषध्यक्षको जिम्मेवारीमा रहेकी मेनुका ठकुरीलाई अघि सारेको एक नेताले बताए। यो सँगै अन्य पदमा समेत प्यानल नै बनाउने अर्यालको योजना छ।
के भन्छन् शाक्य र खत्री?
यता, लामिछाने निकट नेताहरूले सभापतिका उम्मेदवार शाक्य र खत्रीले सघाउने दाबी गरिरहँदा सभापति पदको उम्मेदवार बनेका खत्रीले भने आफू लामिछाने प्यानललाई नभएर अर्यालको प्यानलमा रहनेगरी सभापतिको उम्मेदवार निस्क्रिय पार्ने तयारीमा रहेको बताए। सुरुको दिनदेखि नै आफू अर्यालसँग नै निकटता भएको कारण र जेनजी युवाको पक्षमा वकालत गर्दै आएको कारण अर्याललाई साथ दिने उनले बताए।
‘पुराना दलहरूले देखाएको राजनीतिक स्वार्थ सहन नसकेर हामी नयाँमा लागेका हौँ। यहाँ आएर पदको लालच गर्नहुन्न भन्ने लागेर उम्मेदवारी फिर्ता लिँदैछु,’ खत्रीले भने, ‘यस्तो अवस्थामा मैले सघाउने भनेको अर्यालजीलाई नै हो। लामिछाने टीमसँग छलफल भएकै छैन। सायद हुँदैन पनि होला। मेरो कित्ता क्लियर छ।’
सभापतिका अर्का उम्मेदवार कृष्णमान शाक्यले पनि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनी निकट नेताका अनुसार शाक्यले पनि अर्याललाई नै सघाउने तयारी भैरहेको हो। यता, सभापति पदको उम्मेवारी फिर्ता लिएको स्वीकार गर्दै शाक्यले रास्वपाको भित्री विवाद सतहमा आएपछि सभापति पदको उम्मेवारी त्याग्न मन लागेको बताए।
‘म केन्द्रीय संगठन विभागको सदस्य भैसकेको मान्छेले पदकै लागि रमिता देखाउन सही हो जस्तो लागेन, शाक्यले नेपालखबरसँग भने, ‘उम्मेदवारी छोड्दा कसैको पक्षको लागि त्यागेको होइन। मेरौ नैतिकताको आधारमा भने उत्सव जीलाई सहयोग गर्न पर्छ भन्ने मेरो लाइन हो। सांसद भैसकेको व्यक्तिले त संसदीय भूमिका बलियो बनाउन मेहेनत गर्नुपर्ने हो। तर पदका लागि गरिएको हो–हल्ला, विधान विपरितका कार्यले म मर्माहत भएको हुँ। त्यसैले उम्मेदवारी फिर्ता लिएँ।’
मंगलबार हेटौंडामा सुरु भएको अधिवेशनमा विवाद सिर्जना भएपछि स्थगित भएको थियो। सोही अधिवेशन अन्तर्गतको निर्वाचन शनिबार (भोलि) काठमाडौँमा हुँदैछ। रास्वपाको संस्थापन पक्षका लामिछाने र समायोजनबाट आएका अर्थात् इतर पक्षमा अर्यालबीच चुनावी प्रतिस्पर्धा हुँदैगर्दा अधिकांश प्रतिनिधिहरू लामिछानेको पक्षमा देखिएका छन्। यद्यपि, सांसद पदको जिम्मेवारीमा रहेका व्यक्तिले प्रदेश सभापतिमा दाबी गर्न हुने भन्दै लामिछानेको विरोध समेत भैरहेको छ।
रास्वपाको विधानअनुसार दुई चरणमा निर्वाचन हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ। बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ।
Shares

प्रतिक्रिया