मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडकमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार (हिजो) राति १०:५० बजेतिर माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक सिन्धुली कमलामाई नगरपालिका-९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बारा पचरौता नगरपालिका-७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए।
बुढाथोकी नेपाली सेनाका पूर्व हबलदार हुन् भने यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए।
दुर्घटनापछि नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौँ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट खटिएको संयुक्त टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो।
तर, बिहीबार बिहान ५ बजे अस्पतालमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।
मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको मकवानपुर प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया