समाज


गगन र बालेन्द्रको साँधमा गायब पारिएको खहरेकाे लीला : १० मिनेटमै उर्लन्छ, गाडी बगाउँछ

पानी नपर्दा खोलो हो कि बाटो, छुट्याउनै मुस्किल
गगन र बालेन्द्रको साँधमा गायब पारिएको खहरेकाे लीला : १० मिनेटमै उर्लन्छ, गाडी बगाउँछ

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १३:४९, काठमाडौँ

नेपालखबरको परिचयपत्र र क्यामेरा बोकेर काठमाडौंको कपनस्थित मिलनचोक पुग्दा तरकारी किनेर घर फिरिरहेका एक बुज्रुकले हप्काएको शैलीमा भने, ‘पानी नपरेका बेला तपाईहरु यहाँ किन आएको? पानी परेपछि आउनोस्, १० मिनेटमै खोलो उर्लिएको देख्नुहुन्छ। गाडी बगाउँछ, मान्छे बगाएर मारिसक्यो।’

बुुज्रुकले औंल्याएको ठाउँमा पानीको नामो निशाना थिएन। बरु ढुंगा बिछ्याएको खोलाको अवशेषजस्तो ठाउँमा गाडीहरु वारिपारि गर्न खोजिरहेका थिए। यो खोलो हो या बाटो? नयाँ मानिसलाई छुट्याउन गाह्रो थियो।

बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १० र काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ को सीमास्थल रहेछ यो ठाउँ। मानिसहरुले यसलाई कपनको मिलनचोक भन्ने गरे पनि सार्वजनिक बोर्डमा ‘चखुंन्चा चोक’ लेखिएको थियो।

भिडिओ

नेपालखबरको टोली मिलन चोकमा पुग्दा खहरेले बिगारेको ठाउँमा ढुंगा ओछ्याएर गाडीहरु पास गरिरहेको दृश्य देखियो। स्थानीय एक पसलेले भने, ‘यहाँ दुर्घटनामा परेर दिनहुँ एक–दुईजना मानिस लडेकै हुन्छन्, स्थानीय सरकारले माथि देखाउँछ, माथिले स्थानीय सरकार।’

केही वर्षयता यहाँ खोलो मिचेर बाटो बनाइएको रहेछ। तर, खोलाले बाटो भत्काएर आफ्नो आकार ग्रहण गरेकाले अहिले यहाँ गाडी चल्दैनन्। पानी परेको १० मिनेटमै सबैतिरको पानी जम्मा भएर बाढी आउन थालिहाल्छ र मानिसको भागाभाग हुन्छ।

सुख्खा खहरेको डिलमा हिँडिरहेकी रेनु संगतलाई हामीले खोलाको इतिहास सोध्यौं।

रेनुले भनिन्, ‘म कपन सरस्वतीनगरमा जन्मेकी हुर्केकी हुँ। यहाँ पहिला खोलै थियो। हामीले सानो छँदा माछा मार्ने खोला हो यो।’

रेनु भन्छिन्, खोलाभित्र ढल हालेर बाटो बनाइयो। यसलाई मिचेकै भनिन्छ होला नि। खोलाले त आफ्नो बाटो खोज्दै गइहाल्छ नि। वर्षा भएको बेलामा यसले एकदम उग्र रुप लिन्छ। हामीलाई पारि तर्न एकदमै गाह्रो भइहाल्छ।’

खहरेको डिलमा भेटिएका अर्का स्थानीय कृष्णबहादुर सापकोटा ०३५ सालदेखि यहीँ बसोबास गर्दै आइरहेका छन्। उनले पनि विगतमा यहाँ खोलो नै रहेको र पछि ढल हालेर बाटो बनाइएको सुनाए।

‘यहाँ म ०३५ सालमा आउँदा घर कहीँ पनि थिएनन्। पछाडिपट्टि एउटा कार्कीको घर थियो। यहाँ खेत थियो। सानो खोलो थियो। माछा मार्न हिँड्थे यहाँका काँठे केटाहरु। आर्मी र पुलिसले घोडा कुदाउँथे’, सापकोटा विगत सम्झँदै भन्छन्, ‘खेतको डिलडिलै हामी साततलेतिर जान्थ्यौं। साततले भन्ने पनि थिएन पहिला। यो रोड त यिनीहरुले दुईचोटि पिच गरिसके। अहिले यहाँभित्र दुईटा ढल हालेको छ। जब यो पिच गर्यो, यहाँबाट खोला आयो। माथि बूढानीलकण्ठ, फैकातिर पानी पर्यो भने यहाँ सलल बाढी आइहाल्छ। अस्ति दमकल आउन सकेन।’ 

कृष्णबहादुर सापकोटा
  

मिलन चोकमा स्टुडियो सञ्चालन गर्दै आएका छविरमण काफ्ले ०५२ सालदेखि यही एरियामा बसोबास गरिरहेका छन्। हामीले काफ्लेलाई पनि सोध्यौं, ‘यो खोलो हो कि बाटो हो?

जवाफमा उनले भने, ‘यो शीर लामो भएको खोलाचाहिँ होइन, एउटा खहरे खोला हो। पहिलेदेखि नै खोलै थियो। खोलोलाई व्यवस्थित गर्ने भनेर तल दुईवटा ह्युमपाइप हालेर माथिबाट बाटो कायम गरिएको हो। तर, दीर्घकालीन भएन, केही समयका लागि मात्रै भयो।’

काफ्लेले नेपालखबरसँग भने,  ‘बस्ती बढ्दै जाँदा यो खोलो हो, ढल यसैमा मिसाउनुपर्छ भनेर चारैतिरबाट कपन गुम्बा, जगडोल गुम्बा, महांकालदेखि लिएर सबैतिरको ढल एकोहोर्याएर यसैमा हालियो। सबै एरियाबाट ढल मिसाउँदा मिसाउँदै यो वृहत भयो। अब यसलाई नियन्त्रण गर्न नसक्ने अवस्था भयो, अलिकति पानी पर्यो कि सबैतिर जम्मा भएर यहीँ आउने भयो। अहिले अव्यवस्थित भएर बाहिर खोला कुदिराखेको छ।’

काफ्लेका अनुसार ०६२ साल अघिसम्म यो ठाउँ प्राकृतिकरुपमा खोलै थियो। अहिले खोलाकै रुपमा छोड्दा ढल मिसिएर बस्तीमा दुर्गन्ध फैलिने बताउँदै काफ्ले भन्छन्,‘यसलाई मुनिबाटै दबाएर लानुपर्छ। तर, ठूलो, डबल लेन बनाउनुपर्छ। यत्तिकै छाड्ने हो भने बाटो पनि हुँदैन, खोलालाई पनि सीमा पुग्दैन।

छविरमण काफ्ले

अघिल्लो साता कांग्रेस महामन्त्री एवं यस क्षेत्रका सांसद गगन थापाले खोलामा बाढी आउनासाथ आफूले गाली खाने गरेको बताएका थिए। हामीले काफ्लेलाई सोध्यौं, ‘बाढी आउनासाथ तपाईहरु गगन थापालाई गाली गर्नुहुन्छ रे नि?’

काफ्लेले भने, ‘गाली त गरिहालिन्छ नि, उहाँको क्षेत्र हो। उहाँजस्तो चर्चित व्यक्तित्वले पनि नहेरेको यो समस्या ५–७ वर्षदेखि ज्युँका त्युँ छ। यहाँका बासिन्दाले जब समस्या पर्छ, प्रतिनिधिहरुलाई सम्झिइहाल्छन्।’

बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिचाँहि के गरिरहेका छन् भन्ने प्रश्नमा काफ्लेले भने, ‘बनाउने काम हुँदैछ भन्नुहुन्छ, तर आधिकारिकरुपमा योजना बनेजस्तो लाग्दैन मलाई। बाटो बनिहाल्छ भनेको थियो, तर भएन।’

गगन, बालेन्द्र र एमाले तीनै पक्षको दायित्व
खहरे खोलाले बाटो बगाएको यो स्थान बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाको सीमानापर्छ। काठमाडौं महानगरको वडा नम्बर ६ मा पर्ने यो स्थान निर्वाचन क्षेत्रको हिसाबले एमाले सांसद कृष्ण कुमार राईको ३ नम्बर क्षेत्रमा पर्छ। खहरेभन्दा पश्चिमको बूढानीलकण्ठको भाग चाहिँ सांसद गगन थापाको निर्वाचन क्षेत्रमा पर्छ।

स्थानीय तहको कुरा गर्ने हो भने खहरेखोलाले पीडित बनाएको यो क्षेत्र स्वतन्त्र मेयर बालेन्द्र शाह र बूढानीलकण्ठका एमाले नेता एवं मेयर मीठाराम अधिकारीको कार्यक्षेत्रमा पर्छ।

खोलो रहेको बूढानीलकण्ठ वडा नम्बर १० पनि एमालेकै वडाध्यक्ष नवराज भट्टराईको क्षेत्र हो। काठमाडौं ६ तर्फका वडाध्यक्ष भने काँग्रेसका भुवन लामा छन्।

यसरी हेर्दा खहरे खोलाको समस्या समाधान गर्नुपर्ने दायित्व कांग्रेस, एमाले र बालेन्द्र शाह सबैमा पर्ने देखिन्छ।

तर, खोलाको समस्यालाई लिएर खास गरी कांग्रेस र एमालेले एक अर्कालाई दोष लगाउँदै बसेको देखिन्छ। कसैले सांसद गगन थापालाई गाली गर्ने त कसैले एमाले नेतृत्वको बूढानीलकण्ठ नगरपालिकालाई गाली गरेको देखिन्छ।

एक स्थानीयले नेपालखबरसँग भने, ‘अस्ति मेयर बालेन्द्र शाह पनि हेर्न आएका थिए। मिलनचोकदेखि खहरेको डिलै डिल हिँडेर साततलेमा निस्किए।

मिलनचोकबाट कपन बजारमा पसेको खहरे खोलो सात तलेमा पुगेर धोबी खोलातर्फ मोडिन्छ र मिसिन्छ। 

थप तस्बिर- 

सबै तस्बिरहरु: विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .