ad ad

समाज


आश्रममै दसैँ

आश्रममै दसैँ

नेपालखबर
असोज ११, २०७९ मंगलबार ९:३५, तानसेन

आफ्ना ७४ वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ। उनलाई नजिकिँदै गरेको दसैँको  रौनक छैन। आफ्नो जीवनकालका ५० बढी दसैँहरू सम्झँदा यस वर्षको दसैँ उनलाई नरमाइलो लागेको छ। पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा  गत वर्षदेखि तानसेन  वडा नं १ भुँसालडाँडास्थित निलसागर आश्रममा बस्छन्।

‘अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ’, फुलसा भन्छिन्, ‘पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे।’

ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए। घरपरिवार र अन्य आफन्त नभएका उनीहरू दसैँमा आश्रममै बस्ने बताउँछन्।आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन्।

उनीहरुमध्ये अधिकतरको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ। उनीहरूलाई सबै दसैँको कुनै रौनक छैन। रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो। आँखा धमिलो र कान कम सुन्ने उनी परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुगेका हुन्। दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन्। ‘छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु’, उनी भन्छन्। 

दसैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ। घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ। तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन। मिस्त्री काम गरेर गुजारा चलाएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुगे।

‘पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ’, गहँभरि आँशु पार्दै उनले भने, ‘क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिनँ, आश्रममा आइपुगेँ। ’ निको नहुञ्जेल घर नजाने उनले बताए। 

आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ। उनले भने, ‘मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .