समाज


वकिलहरुको तर्क : किशोरी बालिग हुन्, अभियोग गलत भइसक्यो, सन्दीपलाई थुनामुक्त गरौँ

बहस लम्बिएकाले बिहीबार पनि आदेश आउने सम्भावना कम
वकिलहरुको तर्क : किशोरी बालिग हुन्, अभियोग गलत भइसक्यो, सन्दीपलाई थुनामुक्त गरौँ

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १३:२७, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा तीन दिनदेखि सुनुवाइ जारी छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मंगलबारदेखि भइरहेको बहस लम्बिएपछि बिहीबार पनि आदेश आउने सम्भावना कम छ।

'वकिलहरुले बहस लम्ब्याएपछि उक्त मुद्दामा आजै आदेश आउने सम्भावना कम छ', स्रोतले भन्यो, 'बहस आज दिनभर जान सक्छ। त्यसो हुनाले आदेश आउन अझै केही दिन कुर्नुपर्ने हुन सक्छ।'

बिहीबार पनि सन्दीपकै पक्षमा वकिलहरुले बहस गरिरहेका छन्। बुधबार अधिवक्ताहरु रोशनी पौडेल र मुरारी सापकोटाले बहस गरेका थिए। 

सापकोटाले बुधबार पीडित भनिएकी किशोरी बालिग रहेको प्रमाण न्यायाधीशसमक्ष पेश गरेका थिए। 

उनले बहसका क्रममा पीडित भनिएकी किशोरी १८ वर्ष पूरा भइसकेको तीन प्रमाण पेश गरेका थिए।

जसमा पीडित २०६१ असार १८ गते जन्मिएर गत भदौमा घटना हुँदाको समय १८ वर्ष ३ महिना पूरा भइसकेको जन्मदर्ताको प्रतिलिपि, कक्षा ८ मा भर्ना हुँदा कायम भएको उमेरको कागजात र बसाइँसराइ गरेर जाँदा उमेरसहितको विवरण समेटिएको सरकारी कागज पेश गरिएको छ।

उक्त प्रमाण पेश भइसकेपछि वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा,  अधिवक्ता सविता भण्डारी बराल र अधिवक्ता सुवास पाठकले बहस गरिसकेका छन्। 

बिहीबार वरिष्ठ अधिवक्ता लव मैनालीले सन्दीपको पक्षमा बहस गरिरहेका छन्। सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरुले पीडित भनिएकी किशोरी नाबालिग नरहेको प्रमाण पेश भइसकेको तर्क गरेका छन्। 

उनीले अभियोग नाबालिग भनेर लगाइएको अवस्थामा उनी बालिग भएको पुष्टि भइसकेकाले सन्दीपलाई थुनामुक्त गर्नुको विकल्प नरहेको बताएका छन्। 

'हामीले पीडित नाबालिग होइन बालिग भन्ने सोचिसक्यौँ। प्रमाणले त्यो कुरा बोलिसकेको छ', सन्दीपका वकिलहरुको तर्क छ, 'सन्दीपलाई थुनमुक्त गरौँ। अभियोग नै गलत भइसकेको छ। हामीले किशोरी बालिग भन्ने प्रमाण दिइसकेका छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .