ad ad

समाज


ललितपुरका लुसुन, जो जापानमा बने ब्रेन क्यान्सरका सफल सर्जन

ललितपुरका लुसुन, जो जापानमा बने ब्रेन क्यान्सरका सफल सर्जन

मीना खड्का
कात्तिक २५, २०७९ शुक्रबार ७:२२, नागोया, जापान

नेपालबाट अध्ययनका लागि जापान आएर चिकित्सा क्षेत्रमा नाम कमाएका व्यक्ति हुन्, डा. लुसुन चालिसे। सन् २००२ मा जापान आएका लुसुन हाल नागोया सेन्ट्रल हस्पिटलमा कन्सलट्यान्ट न्युरो सर्जनका रुपमा कार्यरत छन्।

न्युरो सर्जनका रुपमा उनले ब्रेन क्यान्सरका धेरै सफल अप्रेसन गरेका छन्। त्यति मात्र होइन, ब्रेन क्यान्सरको नयाँ उपचार पद्धति खोज्न पनि अनुसन्धानरत छन् उनी। २०१४ देखि उनले नागोया विश्वविद्यालयमा ब्रेन क्यान्सरको नयाँ औषधि विकासका लागि अनुसन्धान सुरु गरेका थिए।

मानिसको रगतको सेतो रक्तकोषलाई जिनेटिक मोडिफिकेसन गरेर क्यान्सर निवारण गर्ने कार–टी भनिने नयाँ प्रविधिमा आधारित उपचार पद्धति विकास गरे लुसुनले। यसलाई उनले ल्याबमा सफल परीक्षण सिन गरिसकेका छन्।

४० वर्षीय लुसुनले अनेकौँ अनुसन्धानमा सहभागिता जनाएका छन्।

पुर्ख्यौली घर ललितपुरको चालिसे डाँडामा भए पनि लुसुन लगनखेलमा जन्मिए। केजीदेखि कक्षा ६ सम्म महेन्द्र आदर्श स्कुलमा पढे। त्यसपछि भने विद्यालय परिवर्तन गर्नुपर्ने भयो।

सेन्ट जेभियर्स स्कुलमा पढ्न खोजे। त्यतिबेला नेपालको सबैभन्दा राम्रो र नाम चलेको स्कुलमा गनिन्थ्यो, सेन्ट जेभियर्स। कक्षा ६ मा भर्ना हुन प्रवेश परीक्षा दिए। उनी छनोट भए।

शैक्षिक अवस्था अत्यन्त राम्रो भएको परिवारमा जन्मिएका थिए लुसुन। ललितपुरको दक्षिण भेगबाट सबैभन्दा पहिला एसएलसी उत्तीर्ण गरेको भनेपछि उनकै हजुरबुबा मुकुन्द चालिसेको नाम आउँथ्यो। उनका जिजुहजुरबा त राणाकालीन कप्तान समेत थिए रे। सरकारी कृषि अधिकृत थिए हजुरबुबा मुकुन्द चालिसे। बुबा डा. मुकेशकुमार चालिसे चाहिँ प्राध्यापक थिए।

बेलाबेला बुबा उनलाई भन्थे, ‘हामीले साँच्न सक्ने पुँजी भनेको विद्या हो। ज्ञान हो। त्यसैले जत्ति सकिन्छ पढ्नुपर्छ।’

सरकारी जागिरबाट अवकाश भइसकेपछि हजुरबुबाले छापाखाना खोलेका थिए। हजुरआमाको नामबाट– ‘मुना प्रेस’। त्यो बेला नेपालमा छापाखानाको संख्या एकदमै कम थियो। 

त्यसताका कम्प्युटर सर्वसुलभ थिएन। छापाखानाहरूमा सिसामा ढालिएका अक्षर जोडेर शब्दशब्द जोडेर वाक्य, त्यसरी नै अनुच्छेद र पृष्ठहरू तयार गरिन्थे। उनको छापाखानामा त्यतिबेला कवि र लेखकहरु छपाउन आउँथे। 

उनी बच्चा हुँदा नै हजुरबुबा लेखहरुको प्रुफ पढ्न लगाउँथे। उनले पढेका कुराहरू छापिन्थ्यो। बाल्यकालमा विभिन्न चर्चित लेखकहरुले लेखेका पुस्तकहरु पढेका थिए। छापाखानामा राष्ट्रकवि माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठहरुजस्ता नेपालका नाम चलेका लेखकहरु आउने गर्थे।

बुबाको साथमा डा. लुसुन

जे देखे पनि पढिहाल्नुपर्ने उनको बानी थियो। ३ वर्षको उमेरमै प्रख्यात कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ घोकेर त्यसका रचनाकार सिद्धिचरण स्वयंलाई सुनाउँदा कविबाट ५ रुपैयाँ पुरस्कार पाएको रमाइलो अनुभव उनी सुनाउँछन्। 

पहिले ‘मुना प्रेस’ भएको ठाउँमा अहिले नेपालको प्रथम वयष्क महिला स्कुल प्रेरणा महिला विद्यालय छ। उक्त विद्यालयकी प्रथम प्रधानाध्यापक जनककुमारी चालिसे लुसुनकै आमा थिइन्। आमाले साथीहरुसँग मिलेर सुरु गरेको सो विद्यालयमा सुरुमा अंग्रेजी र गणित पढाउने राम्रा शिक्षक थिएनन्। त्यसैले लुसुनले एसएलसी पास गरेपछि केही समय सो स्कुलमा पनि पढाएका थिए।

‘साधारण परिवार भए पनि पढ्नुपर्छ भन्ने चेतना थियो,’ उनी भन्छन्, ‘बुबा र हजुरबुबाले सधैँ पढ्न प्रेरित गर्नुहुन्थ्यो।’

महेन्द्र आदर्श विद्यालयमा पढ्दा त झन् विद्यालय स्वयंले पुस्तकहरु बेच्थ्यो। नाम चलेका पुस्तक पसल भनेर रत्न पुस्तक र एकता बुक्सलाइ चिनिन्थ्यो त्यतिबेला पनि। किन्न उनीहरू त्यहीँ जान्थे। 

बच्चामा आशीर्वाद दिँदा मान्यजन भन्थे, ‘राम्रोसँग पढ्नु, डाक्टर बन्नु।’

तर, त्यतिबेला उनलाई डाक्टर होइन, क्रिकेटर बन्न चाहन्थे। अलिपति गितार बजाउन थाले। गायनमा रुचि बढ्यो। गायक पो बन्छु कि जस्तो लाग्यो। बुबासँग पहाड र जंगल घुम्न जाँदा जीव विज्ञ बन्नुपर्ला भन्ने सोच्थे।

सेन्ट जेभियर्सबाट आईएस्सी पुरा गरेपछि भने डाक्टर बन्ने निश्चित जस्तै भइसकेको थियो। यसपछि  थप अध्ययनबारे सोचिरहेको बेला सन् २००२ मा जापानी दूतावासको छात्रवृत्तिमा जापानमा अध्ययनको अवसर पाए। 

एक वर्ष जापानी भाषा अध्ययन गरेपश्चात् उनले चिकित्सा अध्ययन सुरु गरे। उनले २००९ मा ओसाका युनिभर्सिटीको फ्याकल्टी अफ मेडिसिनबाट डाक्टर अफ मेडिसिनको अध्ययन पुरा गरे। त्यसपछि २०१५ मा बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी पुरा गरी सन् २०१८ मा नागोया युनिभर्सिटीबाट विद्यावारिधि सम्पन्न गरे।

आफ्नो विज्ञता आफ्नै देशमा प्रयोग भए हुन्थ्यो भन्ने उनलाई लाग्छ। तर, नेपाल आएर काम गर्न प्रविधि र वातावरण नभएको उनको ठम्याइ छ।

‘नेपालमा बितेका १० देखि १५ वर्षमा धेरै प्रगति भएको छ। तर आवश्यक प्रविधि छैन। जनशक्ति छैन। सरकारले नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छैन। अनुसन्धानको के कुरा गर्नु?’ उनी भन्छन्, ‘विकास भनेर नेपालमा बाटो खन्ने र भ्यु टावरजस्ता संरचना बनाउने कामलाई बुझिन्छ कि जस्तो लाग्छ। अस्पतालको नाममा घर बनाउनेबाहेक योजना हुँदैन। अस्पतालभित्र चाहिने प्रमुख कुरा भनेको आवश्यक प्रविधि र दक्ष प्राविधिक हुन्। त्यसको विकासमा ध्यान दिनुपर्नेमा दुर्गमको एउटा बिरामीलाई हेलिकोप्टरमा लिफ्ट गरेर काठमाडौँ ल्याएर चुनावी न्युज बनाइन्छ।’

नेपालमा जटिल रोगको उपचारका लागि सुविधासम्पन्न सरकारी तथा सामुदायिक अस्पतालको ठूलो कमी रहेको उनी बताउँछन्। 

‘राजधानीबाहिरको त कुरै छोडौँ, काठमाडौँ खाल्डोभित्रका आम जनमानसको लागि पनि पर्याप्त सरकारी अस्पताल छैनन्। केही राम्रा अस्पताल छन्। राम्रा जति सबै प्राइभेट छन्। महँगा छन्। जनताको पहुँचमा छैनन्,’ उनले भने।

सबैकुरा राजनीतिसँगै जोडिएको हुन्छ भन्ने उनलाई लाग्छ। नेपालको वर्तमान राजनीतिबाट उनी आशावादी छैनन्। तैपनि कुनै न कुनै बेला नेपाल फर्किने उनको योजना छ।

‘काम गर्ने वातावरण भए त भोलि नै जान्छु,’ लुसुन भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .