समाज


ज्यालामा ठगिन्छन् महिला कामदार

ज्यालामा ठगिन्छन् महिला कामदार

नरेन्द्रसिह कार्की
पुस ४, २०७६ शुक्रबार ९:४८,

मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउँछिन्। उनले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि उक्त रकम पाउँछिन्।

रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले रु ८०० पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने रु २५० पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन्। ‘महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौँ’, स्थानीय सरिता टमटाले भनिन्। भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका उनले गुनासो गरिन्।

सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन्। काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम गराउँछन्। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा पनि आफूहरुले थोरै ज्याला पाएको महिलाहरुको गुनासो छ। ‘महिलाले गरेको कामको मूल्यांकन हुँदैन’, सरिताले भनिन्, ‘विकास निर्माणका कामभन्दा पनि घरायसी काम गराउँदा हामीले पाउनुपर्ने ज्याला कम छ, पुरुष र महिला बराबर काम गर्छौं, तर रकम दिँदा पुरुषबाटै पीडित हुनुपरेको छ।’

महाकाली नगरपालिका–३ की बिस्ना लोहार हरेक बिहान नाम्लो र बोरा बोकेर बसपार्क पुग्छिन्। जिल्ला बाहिरबाट खलंगा आउने गाडीका यात्रुको भारी बोक्न कुर्छिन्। महिला दिनभरि भारी बोकेर घर खर्च जुटाउँछिन्। सदरमुकाम र सीमावर्ती धारचुला बजारमा बिहानै काँधमा डोरी बोकेर भारी खोज्न उनीहरूका बीचमा तँछाडमछाड नै चल्छ।

परिवारको आर्थिक दायित्व पूरा गर्ने अरू कुनै विकल्प नभएपछि विगत नौ वर्षदेखि भरियाको काम गरेर गुजारा गर्ने गरेको उनले बताइन्। उनीहरुले दिनभर काम गर्दा पनि पुरुषसरह ज्याला नपाउने उनले सुनाइन्। धारचुलाबाट दार्चुला बसपार्कसम्म पुरुषले भारी बोक्दा सजिलै रु २०० पाउँदा महिलाले रु १०० माग्दा पनि पाउँदैनन्।

दुहु गाउँपालिका–४ की जैमती कुँवर श्रमअनुसारको ज्याला नपाएकामा दुखेसो गर्छिन्। ‘काम अनुसारको ज्याला नै पाइँदैन’, उनले भनिन्, ‘ग्रामीण भेगमा उत्पादन भएको अन्नले वर्षभरि खान नपुग्ने र खानाबाहेकका सामान जोहो गर्न ज्यालादारीमै काम गर्नुपर्ने बाध्यता छ।’ हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष दानीराम तिरुवा विगतदेखि नै महिलाले कामको कम मूल्य पाउने गरेका बताउँछिन्।

‘हलिया मुक्ति भयो, खलोमा काम गर्ने चलन हट्यो’, उनले भनिन्, ‘तर तिनै मालिकको अहिले दैनिक ज्यालादारीमा काम गर्दा महिलाले थोरै रकम पाउँछन्।’ पुरुषले बिहान १०ः०० बजेदेखि बेलुकीसम्म काम गरे दिनको रु ८०० पाउने गर्छन्। तर महिला बोल्न नसक्दा समस्या भएको उनले बताइन्। जिल्ला दररेट निर्धारण समितिले भने आठ घण्टा काम गरेवापत दक्ष कामदारको रु ९५० र अदक्ष कामदारको रु ७०० निर्धारण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad