ad ad

समाज


पात्रो प्रकाशनका लागि पञ्चाङ्ग निर्णायक समितिमा छलफल

पात्रो प्रकाशनका लागि पञ्चाङ्ग निर्णायक समितिमा छलफल

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १७:२१, काठमाडौँ

विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रूप दिन छलफल सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि १७ वटा निवेदन परेका छन्। विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्न निवेदन दिन गत साउनमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो।

समितिको सूचना अनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएका थिए। निवेदन दिने पात्रोका पञ्चाङ्गकारबीच आइतबार छलफल सुरु भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन् । यी तीनवटै पञ्चाङ्ग यो वर्ष पनि समितिसँग स्वीकृति नलिई प्रकाशन गरिएका छन्। 

मुक्तिनाथ र नेपाल पञ्चाङ्ग विश्व पञ्चाङ्ग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए। विगतमा एकपटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चाङ्ग केही समय भने स्वीकृति नलिई प्रकाशनमा आएको थियो। ज्वालाले यसपटक फेरि स्वीकृतिका लागि निवेदन दिएको समितिले जनाएको छ। 

केही महिना प्राप्त निवेदनबारे छलफल, चाडपर्वको निर्णय, ग्रहगणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइने छ। पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने गरी समितिले तयारी गरेको उनले बताए। 

समितिको सङ्गठन तालिका निर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। केही हप्तामै यसले पूर्णता पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र अर्थ मन्त्रालयले वचन दिएका छन्। 

समितिले कर्मचारी सेवा, सर्त र आर्थिक नियमावली पनि मस्यौदा गरी स्वीकृतिका लागि संस्कृति मन्त्रालयमा पठाउने तयारी गरेको छ। समितिको सङ्गठन तालिका, कर्मचारी सेवा, शर्त र आर्थिक नियमावली तयार भएपछि काममा सहज हुनेछ। 

समितिमा हाल पर्याप्त मात्रामा जनशक्तिको व्यवस्था नहुँदा गठन आदेशमा दिएका जिम्मेवारी पूरा गर्न समस्या भएको छ। गठन आदेशमा समितिलाई पात्रो र भित्तेपात्रो प्रकाशनको स्वीकृति दिने जिम्मेवारी दिइएको छ। सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .