ad ad

समाज


आँधीखोलाको अस्तित्व सङ्कटमा

आँधीखोलाको अस्तित्व सङ्कटमा

स्याङ्जास्थित आँधीखोला। तस्बिर : रासस


तोलाकान्त बगाले
मंसिर २३, २०७९ शुक्रबार ९:४१, वालिङ

स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ। श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ। 

यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन्। पछिल्लो समय उत्खननले खोलाको सतह घट्दै गएको छ।  सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व सङ्कटमा पर्ने खतरा बढेको हो। बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ। समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ। 

समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता सङ्कटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउन नेपाल नदी संरक्षण संस्था, नेपालले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्त्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएकाले यसको रोकथाम र संरक्षणमा ध्यान दिन ‘आँधीखोला संरक्षण महाअभियान’ सञ्चालन थालिएको बताए। 

‘आँधीखोलामा पहिला पानीमुनी देखिने ढुङ्गा अहिले धेरै माथि आइसकेका छन्, यो जथाभावी रुपमा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यबाट निम्तिएको सङ्कट हो’ आलेलले भने, ‘पहिलाजस्तो ढुङ्गा खोलामा देखिँदैनन्, माछा पाइनै छाडे, माछा मारेरै जीवनयापन गर्ने माझी जातीको पेसा लोप भएको छ।’

आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए। ‘स्याङ्जाको सभ्यता तथा अमूल्य गहनाका रुपमा रहेको आँधीखोलाको संरक्षण र संवर्द्धनमा यहीँका नीति निर्माता र नागरिक पहिला सचेत हुनुपर्छ’, आलेले भने, ‘होइन भने केही वर्षपछि काठमाडौँको बागमती र विष्णुमतीको जस्तै हालत आँधीखोलाको हुनेमा कुनै शङ्का छैन, समयमै ध्यान दिनुपर्छ।’

खोलाबाट जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने अवस्था छ। खोलाको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ। खोला आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेर मात्रै मिसाउन, माझी जातिको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाइएको छ। 

आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आआफ्ना ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाणले बताए। आँधीखोलाको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको दोहन हुन नदिन प्रयास गरिने बताए। 

‘आँधीखोलाको सभ्यता जोगाउन हामी प्रतिबद्ध छौँ, सकारात्मक छौँ, यसलाई प्रदूषणरहित बनाउन कसरी सकिन्छ भन्नमा  चिन्तित छौँ’ खाणले भने, ‘बजारबाट खोलामा मिसिने ढललाई सिधै नभई प्रशोधन गरेर मिसाउन कार्य थालिएको छ, अब छिट्टै सकिन्छ।’ 

आँधीखोलामा माछा हराउँदै गएकाले माझी जाती आफ्नो पुर्ख्यौली पेसाबाट पलायन हुँदै गएको छ। आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका हुँदै आँधीखोला बग्छ। उत्पत्ति भएको अन्धाअन्धी दहदेखि आँधीमुहान पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार यही खोलाको किनारमा अवस्थित छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .