समाज


कोठामै बसेर प्रहरीले यसरी गर्छ उपत्यकाको निगरानी, सीसीटीभीबाटै पत्ता लाग्छन् अपराधी

कोठामै बसेर प्रहरीले यसरी गर्छ उपत्यकाको निगरानी, सीसीटीभीबाटै पत्ता लाग्छन् अपराधी

नेपालखबर
पुस २४, २०७९ आइतबार १८:११, काठमाडौँ

गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा फर्किनन्। 

उनी सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीसीटीभी मनिटरिङ सुरु गर्यो। 

सीसीटीभीबाटै उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लाग्यो। चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरी फेला पार्न प्रहरी सफल भयो।
***

भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हरायो। यसको पनि अनुसन्धान सीसीटीभीकै सहयोगमा सफल भयो। 

सीसीटीभी मनिटरिङबाट विभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल चालकले टिपेको देखियो। प्रहरीले ती चालकलाई बोलायो र उक्त रकम महिलालाई फिर्ता दिलायो। 

***

सिरहाका २८ वर्षीय पाण्डव दोङको २ लाख रुपैयाँ र एउटा मोबाइलसहितको झोला बसमै छुट्यो। विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आएका उनलाई आफू चढेको बस नम्बर पनि थाहा थिएन।

भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा छुटेको झोला पनि प्रहरीले सीसीटीभीकै सहयोगमा खोजी गर्यो।

विभिन्न क्यामरा फलोअप गर्दा कलंकी खसीबजारमा उनी ओर्लिएको गाडी नम्बर पत्ता लाग्यो। त्यसपछि चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगदसहितको झोला बुझाउन प्रहरी सफल भयो।
***

यी त केही प्रतिनिधि घटना मात्रै हुन्। यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सीसीटीभी मनिटरिङ कक्षबाट प्रहरीले सीसीटीभी फुटेजमार्फत निगरानी गरिरहेका छन्। 

काठमाडौंको जाम सीसीटिभीबाटै मनिटरिङ
प्रहरीले आपराधिक घटना मात्रै होइन काठमाडौंको जाम पनि सीसीटीभीबाट निगरानी गर्ने गरेको छ। सीसीटीभी मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गर्ने काम पनि प्रहरीले सीसीटीभीबाटै गर्छ। 

सीसीटिभीबाट निगरानी गरेर तत्काल त्यहाँ प्रहरी परिचालन गर्ने उपत्यका प्रहरी कार्यालयले जनाएको छ। काठमाडौं उपत्यकामा सीसीटीभी क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको प्रहरीको अनुभव छ।

उपत्यकाका मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनीकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सीसीटीभी क्यामेराको प्रभावकारिता बढ्दै गएको छ।

नेपाल प्रहरीले आफ्नै अप्टिकल फाइबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरामार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएको थियो। हाल आईपी क्यामराहरू १ हजार ५१ वटा रहेका छन्। उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी जम्मा ३ हजार २३१ वटा क्यामेराहरु सञ्चालित छन्। 

कुनै पनि सवारी दुर्घटना वा घटनापश्चात् पीडितले सीसीटीभी फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था छ। निवेदन प्राप्तिपश्चात् सम्बन्धित प्रहरी कार्यालयहरूले सीसीटीभी फुटेज प्राप्तिका लागि कारणसहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गर्छन्। त्यसपछि मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ। 

कतिपय अवस्थामा पीडित आफैँ काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सीसीटीभी फुटेज हेर्न चाहेमा घटनाको गाम्भीर्यका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरेको छ।

एक हजार बढी घटना पत्ता लाग्यो सीसीटिभीबाट 
गत वर्ष र चालू आर्थिक वर्षमा एक हजार बढी घटना सीसीटीभीको सहयोगमा पत्ता लागेको छ। 

गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको र हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगायत अन्य विभिन्न घटनाहरुमा २ हजार १७६ र चालू आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ६ फुटेज माग भएको थियो। 

गत वर्ष १२६४ र चालू आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराएको छ। सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालू आर्थिक वर्षमा २६८ वटा घटनाहरु  फुटेजको सहायताले अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ।

यसैगरी आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराइएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७ हजार ४०७ जना, ट्राफिक लेन र फिल्ड अनुशासन कारबाही ३ हजार ८४० जना र चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३ हजार ९८७ जना, ट्राफिक लेन र फिल्ड अनुशासन कारबाही १ हजार ८५७ जनालाई सीसीटीभीकै आधारमा पहिचान तथा फलोअप गरी कारबाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ।

राजधानी प्रवेश गर्ने तथा बाहिरिने मुख्य नाकाहरु र मुख्य चोकमा सीसीटीभीलाई थप प्रभावकारी बनाउने योजना रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .