समाज


सरकारले पूरा गर्ला प्रेम आचार्यका यी २५ माग?

सरकारले पूरा गर्ला प्रेम आचार्यका यी २५ माग?

नेपालखबर
माघ ११, २०७९ बुधबार १२:२८, काठमाडौँ

इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्य एकजना व्यवसायीका रुपमा स्थापित थिए।

तर, उनले देशभित्रै केही गर्न खोज्दा अनेक हण्डर र ठक्कर ब्यहोरे। आचार्यले लगानी गरेको ठाउँमा पैसा फस्यो। व्यापारका क्रममा घाटा व्यहोर्नुपर्यो।

अनेक ठक्करले गलेका उनले मंगलबार दिउँसो नयाँबानेश्वरस्थित सडकमै आत्मदाह प्रयास गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै गाडीअगाडि आत्मदाहप्रयास गर्दा गम्भीर घाइते उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा बुधबार सबेरै बिहान निधन भयो। 

उनी इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय सामाग्रीको व्यापारमा संलग्न थिए। आफूले जीवन टुंग्याउने घोषणा फेसबुकमार्फत नै गरेर उनले ६ हजार ५३५ शब्दको पीडा पोखेका थिए। 

उनैले उक्त पीडा पोख्ने क्रममा दलाल पुँजीवादले साना व्यवसायीलाई कतिसम्म दु:ख दिएको रहेछ भन्ने छर्लङ्ग पारेका छन्। 

आफूले पाइला पाइलामा पाएको ठक्कर र अनेक पीडाका पोका फेसबुकमा खोलेका आचार्यले आत्मदाह गर्नुअघि राज्यलाई विभिन्न विषयमा २५ बुँदे सुझाव पनि दिएका थिए।

जसमा देशमा मौलाएको भ्रष्टाचार, विचौलिया र दलालहरुको हालीमुहालीसँगै दलहरु पनि त्यसकै दुष्चक्रमा फसेको कुरा उल्लेख गरिएको छ। 

'जाँदा जाँदै नेपाल सरकारसँग निम्न मागहरु राख्छु। त्यो पूरा होस भन्ने अपीलसहित, यो शरीरलाई अग्निकुण्डमा समाहित गर्दैछु। सबैमा अपिल, यो देश गरिखान लायक बनोस्, बस्न लायक बनोस्, मिहिनेत गर्नेको भलो होस्, सबैको फलोस फुलोस', उनले मंगलबार फेसबुकमा भनेका थिए, 'अन्त्यमा मैले गरेको यो आग्रह सबैसामु पुगोस्, विश्वले पनि सुनोस्। मेरो क्रान्ति हो यो। मैले माथि उल्लेख गरेका कुनै पनि भोगाइहरु, कारोबार, हण्डर  गलत रहेछन भने त्यसलाई प्रमाणित गर्न म चुनौती दिन्छु।'

उनले आफूले भोगेका समस्या व्यक्तिगत नभएको पनि बताएका छन्। 'सबैले भोग्दै आएका राष्ट्रिय समस्या हुन्। किन कोही बोल्नुहुन्न? मेरो आवाज सुनिदिनुहोस्', उनले भनेका थिए, 'म आफैँलाई मात्र मार्दैछु। अरुलाई नोक्सान पुर्‍याउने छैन। यो अपिल सरकारले महसुस गर्नेगरी सुनाउदैछु।'

उनले नेपाल गर्व गर्नलायक बनोस् भन्ने सपना पनि देखेका थिए। 'मेरो देश गर्व गर्नलायक बनोस्, विदेशिएका लाखौं युवाहरुले यही देशमा केही गर्न सकुन् भन्दै निम्न मागहरु नेपाल सरकारसामु राख्दै, यो शरीर सुन्दर देश नेपाल बनोस् भन्ने कामनासहित बलिदान दिँदैछु। अलबिदा!'

राज्यलाई आचार्यको अन्तिम आग्रह 

१. राष्ट्रिय उत्पादनमा vat शून्य गर। आयातित वस्तुमा बरु २ प्रतिशत लगाऊ। उपभोग्य वस्तुमा मुल्यवृद्धिको प्रमुख कारण VAT हो।

२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय-विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर। यहाँ निमुखा उत्पादक/supplier ले भाटभटेनी, big mart, Dabur Nepal, जस्ता व्यापारिक डनहरुलाई पाल्नु परिरहेको छ। उधारोमा उनीहरुलाई सामान दिइरहनुपरेको छ। त्यही सामान बेचेर पैसा अन्यतिरै (share, जग्गा) आदिमा घुमाएर बैंकमा मुद्दती खोली ब्याज खाएर, थप मुनाफा कमाएर मात्रै उत्पादक/supplier लाई बल्लतल्ल दिन्छन्। तबसम्म उत्पादक/supplier, ऋणले, ब्याजले, operating capital shortage ले मरिसकेका हुन्छन्। धनी पैसाले नै उक्लेको उक्लै, गरिब थिचिएको थिच्यै।

३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर। धेरै नाफा गर्दा करको दर घट्ने हुनाले सबै उद्योगी/व्यापारी नाफा तर्फ लाग्नेछन।

४. Land Leasing प्रणाली लागू गर। जग्गा-जमीन पुस्तौँसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनता अल्छे भएका हुन्। एक जमीनको स्वामित्व एक व्यक्तिलाई ५० वर्षसम्मलाई मात्रै देऊ।

५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर। सहरका अनुत्पादक जग्गाले जति नै valuation गाउँका उत्पादक जग्गाले पनि पाओस्। शहरका चारआना जग्गा बैंकमा राख्दा त्यो नबेची पैसा आउँदैन। तर गाउँका उत्पादनशील जग्गाले आम्दानी दिइरहन्छ, फसल र उत्पादनले पैसा आइरहन्छ र बैंक ऋण तिर्ने आधार बढी हुन्छ।

६. सबै बहालका घरलाई करको दायरामा ल्याऊ। महिनाको १० हजार तलब खाने कर्मचारीले चाहिँ १ प्रतिशत TDS तिर्नुपर्ने तर सहरका महिनाको लाखौं घरबहाल उठाउनेले कर नतिर्दा हुने? घरबाहाल तिरिहाले पनि भाडावालालाई तिराउँछन। तिम्रो धेरै राजश्व घरबहालमा चुहावट भइरहेको छ।

७. भाट्भटेनी, BIG MART, पतञ्जली, डाबर नेपाल, युनिलिभर जस्ता ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन् नियमन गर। उनीहरुले जसो भन्यो बजार त्यतै जान्छ बजार। आफ्नो कम्पनी profile high बनाउन राष्ट्रिय-अन्तर्राष्ट्रिय कम्पनीहरुले भाटभाटेनीमा आफ्नो सामानको उपस्थिति देखाउँछन, उसलाई उच्च margin दिएर, बरु घाटा नै सहेर। तर बाहिरी बजारमा त्यही सामानकम margin मा अझ भाटभटेनीलाई दिँदाको घाटा पूर्ति हुनेगरी बेच्छन् र दैनिक उपभोग्य सामानको मुल्यवृद्धि भइरहेको छ।

८. दर्ता नगरी खुलेका online पसलहरु बन्द गर। नभए वैधानिक दर्ता भइ कर तिरेको हुनुपर्यो।

९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडामा नलगाऊ। खाडीमा महिनाको लाखौँ कमाउन सकिने visa मा त्यहाँका कम्पनीहरुले demand र embassy attestation को लफडा गरिरहँदैनन्। जसले गर्दा पढेलेखेका skilled युवाहरु लाखौँ कमाउन सकिने खाडीको जागिरबाट वञ्चित भइरहेका छन्। सरकार तिम्रो श्रमकागज नेपालको airport मा देखाउने एउटा खोस्टो मात्रै हो। अनि दलाल पोस्ने official घुस, त्यति हो श्रम document अनि पत्रपत्रिकामा आउने डिमाण्ड फगत देखाउन मात्र हो manpower हरुको। राम्रो तलब र सुविधा भएको मागमा manpower लाई सम्पर्क गर्यो भने, त्यो त देखाउन छापेको भन्छन् सिधै, थाहा छ सरकार?

१०. अनुदान र subsidy प्रणाली को सबै पुरानो file निकाल। कति भ्रष्टाचार भएको रहेछ थाहा पाउँछौ। काम गर्नेलाई हर तरहको प्रोत्साहन, अनुदान मिलोस। कागज पत्रमा सीमित कम्पनीलाई मात्रै होइन, यहाँ अनुदानका लागि proposal लेखिदिने, कागजपत्र दरिलो बनाइदिने, केही दिनलाई भाडामा अनुगमनका लागि फर्म देखाइदिनेको झुण्ड नै छ।

११. विचौलियाको अन्त्य गर। देशका सबै पालिकालाई एकै ठाउँमा भेट गराउने गरी पालिका बजार नामक online national web server को विकास गर। जहाँ सम्बन्धित पालिकाको कृषि तथा औद्योगिक उत्पादनको विवरण हुने छ मूल्यसहित। नेपालभित्र कुन पालिकामा के उपलब्ध छ? कुन पालिकालाई के चाहिएको छ, demand and supply command त्यहीँबाट हुने गरि ब्यवस्था मिलाऊ। विचौलिया सबै चट हुनेछन्।

१२. यहाँको अलैँची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता। अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्। इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्। विश्वले हाम्रा उत्पादन चिनुन्। 

१३. गाँजा खेतीले वैधानिकता पाओस्। गाँजा र त्यसको बोटबाट बन्ने सामानको विश्व बजारमा धेरै माग छ। देश २-४ वर्षमै समृद्ध हुनेछ।

१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर। यी राज्यले जनतालाई दिनुपर्ने आधारभूत सेवा हुन्। सबैको पहुँचमा सरल र सहज तरिकाले यी वस्तु तथा सेवा उपलब्ध गराऊ। यो देशमा विरामी परियो भने उपचार गर्ने पैसा नभएर मर्नुपर्छ सर्वसाधारणले।

१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घरपायक जागिर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ। एउटा सरकारी अधिकृतले सहरमा बसी जागिर खाँदा आवास, बच्चाको शिक्षा, औषधोपचार आदिमा महिनाको ४०-४५ हजार तलबले पुग्दैन। अनि भ्रष्टाचार नगरेर के गरोस त?

१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर। जसले थोरै कबोल गर्छ उसलाई ठेक्का होइन, जसले वैज्ञानिक र आधुनिक विकास अवधारणाअनुसार आफैँ बजेटिङ गरेर ठेक्का प्रस्ताव गर्छ, उसलाई विकास निर्माणको ठेक्का दिने गर।

१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर संसद।

१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिवलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर।

१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर। कमसेकम भारतीय नागरिक नेपाल आउँदा जहाँसुकैको नाकाबाट on arrival visa निश्चित समयलाई दिने गर। त्यसको अभिलेख सधैँ अद्यावधिक गर।

२०. आयात प्रतिस्थापन गरि सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहान गर। उत्पादन वृद्धिमुखी कार्यक्रम आओस् देशमा। उत्पादनमुलक उद्योगले हरतरहको प्रोत्साहन पाओस्।

२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर। तिमीलाई थाहा छ सरकार हाम्रो देशको ६० प्रतिशत पैसा बचत तथा ऋण सहकारीमार्फत परिचालित छ। ४० प्रतिशत मात्र निजी तथा सरकारी बैंकमार्फत परिचालित छ। सहकारीको अवधारणा कृषि सहकारी, उद्योग सहकारी, आदिमा मात्र लागू गर।

२२. विकास खर्च जनताले राज्यलाई दिएको करबाट गर्ने हो। विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत उठाउने गरिएको छ, त्यो बन्द गर। 

२३. कक्षा ६ देखि नै 'उद्यमशीलता – entrepreneurship' विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर। जीवनयापन गर्न, पैसा कमाउन सीप र कला नै चाहिन्छ।

२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर।

२५. बैंक ऋणको ब्याजदर ७ प्रतिशत भन्दामाथि नउठ्ने गरि सीमित गर। देशको पैसाजति सबै ठूला व्यापारीको हातमा छ। देशका अधिकांश बैंकमा तिनै ठूला व्यापारीको लगानी छ। मुद्दतीमा धेरै ब्याज लिन उनीहरुले नै अहिले बैंकको ब्याजदर वृद्धि रचेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .