ad ad

ब्लग


प्रेमप्रसादले नाम लिएकाहरुलाई आत्महत्या दुरुत्साहनको मुद्दा लाग्छ कि लाग्दैन सरकार!

प्रेमप्रसादले नाम लिएकाहरुलाई आत्महत्या दुरुत्साहनको मुद्दा लाग्छ कि लाग्दैन सरकार!

राधिका अधिकारी
माघ ११, २०७९ बुधबार १२:३१, काठमाडौँ

‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ।’

आज सामाजिक सञ्जालका भित्ताहरुमा जनवादी गायक जेबी टुहुरेले वर्षौंअघि गाएको गीतको यही हरफ देखिन्छ। सँगै देखिन्छन्, प्रेमप्रसादको आधा जलेको शरीर, जल्दै गरेको भिडिओ। आफ्नै शरीरमा आगो सल्काउनुअघि प्रेमप्रसादले लेखेको लामो स्टाटस यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हिजो देशको संसद् भवनको गेटमा प्रधानमन्त्रीकै अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले आज बिहानै मृत्युवरण गरे। यता मानिसहरु उनको परिश्रमको गाथा लेखिरहेका छन्। उनलाई श्रद्धाञ्जली दिन शब्दहरुमा फूलबुट्टा भरिरहेका छन्। 

कतिले लेखिरहेका छन्, उनले हिम्मत गर्नुपर्थ्यो। बाँचेर देखाउनु पर्थ्यो। सहयोग गर्ने हामी थियौँ, हामीलाई भन्नु पर्थ्यो। स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले त उनको उपचार भइरहेको कीर्तिपुर अस्पतालमा पुगेर ‘तपाईंले किन यस्तो गर्नु भयो? तपाईंका लागि राज्य थियो, हामी थियौँ’ पनि भनिन्।

तर, प्रेमप्रसादले आत्मदाह गर्नुअघि आफूले सहयोग मागेका थुप्रै वृत्तान्त पेस गरेका छन्। 

कुनै पनि मान्छे आत्महत्याको चरणमा अकस्मात पुग्दैन। यसका पछाडि लामो समयसम्म चलेको हतासा, असफलता, निरीहताले ठूलो भूमिका खेलेको हुन्छ। उसले आफ्ना नजिकका आफन्तलाई यो कुरा भनेको पनि हुन्छ। तर जबसम्म ऊ बाँच्न कोसिस गरिरहेको हुन्छ, त्यतिबेलासम्म सबैले उसलाई गर्ने उपेक्षा मात्रै हो। यहाँ साथ पाउन मर्नु पर्छ। प्रेमप्रसादले पनि जीवितै हुँदा नपाएको साथ मरेपछि पाइरहेका छन्। दुनियाँले गोहीको आँसु झारेर दिएको यो साथले कुनै अर्थ राख्दैन अब उनको जीवनमा।

प्रेमप्रसादले आत्मदाह गर्नुअघि थुप्रै मान्छे र संस्थाको नाम लिएका छन्। यो राज्यव्यवस्थाले उनलाई कतिसम्म दुःख दियो, लेखेका छन्।

वैदेशिक रोजगारीमा गएर कमाएको पैसाले देशमै केही गर्ने सपना बोकेर देश फर्किएका प्रेमप्रसादले जीवनको आखिरी दिनसम्म यो देशको सिस्टमसँग जुध्ने हर कोसिस गरेको उल्लेख गरेका छन्। उनले चिनेका/जानेका सबैसँग सहयोगको अपिल गरेका छन्। उनले मर्नुअघि प्रस्टसँग लेखेका छन्, ‘अहिले २० लाखले मेरो समस्या टर्छ, मलाई सहयोग गर भन्दा मलाई आमा, दाजु, दिदी कसैले सहयोग गरेनन्। सम्पत्ति च्यापेर बसे।’ 

राज्यप्रशासनका हरेक संयन्त्र, यहाँभित्रको लुटतन्त्र, आफन्त, सरोकारवाला निकाय, समाज र राज्यबाटै सहयोग नपाएर आफ्नै जीवन अन्त्य गरेका प्रेमप्रसादको सम्झनामा आँसु झारिरहेकाहरु अझै पनि गैरजिम्मेवार हाम्रा सरकारी निकायका बारेमा उभिन तयार छैनन्। 

राज्यव्यवस्थाका हरेक अंगप्रति हजारौँ शब्दमा औँला उठाउँदै प्रेमप्रसाद यो देशको संसद् भवनअगाडि आत्मदाह गर्छन्। उनको यो मृत्युलाई आत्महत्या भन्ने कि हत्या भन्ने गृहमन्त्री ज्यू? आत्महत्या दुरुत्साहनको अभियोगमा केही समय हिरासतको अनुभव संगाल्नु भएका रवि लामिछाने, तपाईंले यो देशको गृह प्रशासन सम्हालेकै बेला मर्न बाध्य पार्ने थुप्रैको नाम लेखेर प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका छन्। प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आफ्नै शरीरमा आगो लगाउनुअघि नाम लिएका ती मानिसहरुलाई आत्महत्या दुरुत्साहनको मुद्दा लाग्छ कि लाग्दैन?

व्यवसायमा पाएको असफलता, त्यसकै कारण भोगेको चरम निराशाको चरण, पटकपटक गरेको आत्महत्याको प्रयास, सहयोगका लागि याचना गरेर उनले आत्महत्याको संकेत थुप्रैलाई दिएका रहेछन्। तर, उनको सुरक्षा र उद्धारका लागि आफन्त र राज्य संयन्त्र कसैले पनि ध्यान दिएको देखिँदैन। 

राज्य सञ्चालकसँगको असन्तुष्टि व्यक्त गर्ने पहिलो व्यक्ति प्रेमप्रसाद होइनन्। बेलाबेला नेतामाथि हुने जुत्ता प्रहार, कालो झण्डा प्रदर्शन, सार्वजनिक ठाउँमा हानेको झापड पनि त्यसका प्रमाण हुन्। प्रेमप्रसादको यो आत्महत्याले देशका सञ्चालकहरुलाई केही असर नगर्ने देखिन्छ। उनको उपचाररत अस्पतालमा राज्यमन्त्रीको उपस्थिति र उपचारका लागि उनले दिएको निर्देशन नै तिनका लागि काफी भइसक्यो। यो राज्यले देशका आम नागरिकका लागि दिनसक्ने र दिँदै आएको त्यही निर्देशन हो। त्योबाहेक यो मेरो देश हो, यो देशमा कानुन छ, राज्यसञ्चालक हाम्रा जनप्रतिनिधि हुन्, विदेशमा पसिना पोखेर कमाएको पैसा आफ्नै देशमा लगानी गर्नु पर्छ भनेर सोच्नु भनेको मूर्खता मात्र हो।

गृहमन्त्री, मन्त्री तथा सरोकारवाला निकायका सबै मानिसले उनीप्रति समवेदना लेखिराखेका छन्। उनको आत्माको शान्तिको कामना गरिरहेका छन्। तर कसैले पनि उनका नाबालिग छोरी र विधवा श्रीमतीप्रति चासो दिएका छैनन्। चरम आर्थिक संकटका कारण मृत्युवरण गरेको एक नागरिकको परिवारले बाँच्नसक्ने अवस्था सिर्जना गर्नु समवेदनाका शब्द खर्च गर्दै गर्नु भएका तपाईंहरुको दायित्वभित्र पर्छ कि पर्दैन? दोष मेरो र हाम्रो हो भनेर सामाजिक सञ्जालमा लेखेर मात्रै देशको यो हालत सुधार हुने छैन। 

प्रेमप्रसादले आत्मदाह गर्नुअघि विभिन्न माग पेस गरेका छन्। उनले पेस गरेका ती माग प्रेमप्रसादका मात्रै होइनन्, ती माग त मध्यमवर्गीय ती तमाम युवाहरूको हो, जो स्वदेशमै बसेर केही गर्न चाहन्छन् र समृद्ध नेपालको सपना देख्छन्। 

देशमा उद्यम गर्छु भन्ने एउटा सक्षम युवा अनेक काम गरेर सबैतिरबाट लुटिन्छ। कयौं हण्डरठक्कर खाँदै, न्याय र सहयोगको याचना गर्दागर्दै हार्छ। उनको मृत्युमा समाज आक्रोशित भइरहेको छ। तर यो विद्रोह जबसम्म प्रेमप्रसादलाई बाँच्न नदिने दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरुद्ध सामूहिक रुपमा उत्रँदैन तबसम्म केही हुनेवाला छैन। यो देश सिमित पुँजीपतिबाहेक अरुका लागि होइन भन्ने कुराको एउटा उदाहरण मात्रै हो प्रेमप्रसादको आत्मदाह!

उनले भोगेका सबै कुरा आधा नेपालीले भोगिरहेका छन्। उनले लेखेको लामो स्टाटस पढेर मुटु ढक्क फुलेको छ। देश कता जाँदै छ? राज्य सुव्यवस्थाका नाममा राजनीति गरिरहेका राजनीतिक दल के गरिरहेका छन्? राज्यको नीति, नियम, ऐन र व्यवहारले दिमाग फनफनी घुमाइरहेको छ। 

प्रेमप्रसादको आत्मदाहको खबरपछि धेरै युवाले लेखिरहेका छन्, ‘सरकार हामी पनि प्रेमप्रसादले जस्तै जीवन बिताइरहेका छौँ। हामीभित्र यो राज्यव्यवस्थाले दिएको हैरानीको उकुसमुकुस छ। देशको नागरिकता बोकेर हामी आफ्नै देशमा टेक्ने आधार र समाउने ठाउँ नभएरै अन्यौलको जिन्दगी बाँचिरहेका छौँ। हामीमा मात्रै उनको जस्तो हाम्रो शरीरमा आगो लगाउने आँट नआएको हो।’ 

राजनीतिक अस्थिरता, बेरोजगारी र बेथितिका कारण कयौँ पटक विदेशको भिसा लगाउन खोज्दा पनि नलागेर यो देशको नागरिक मात्रै भएर बसेका कति युवा होलान् देशमा? प्रेमप्रसादझैँ कति युवा सास फेर्नै मुस्किल भएर बाँचिरहेका होलान्? बेलैमा सरकार गम्भीर बनोस्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .