मामा माइजुलाई बुबाआमा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा प्रहरीले महोत्तरीबाट एक भारतीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको मानिकचोक पश्चिमी पञ्चायत वडा नम्बर–१० बस्ने धर्मेन्द्र कुमार साहका १८ वर्षीय छोरा आकाश कुमार साह छन्।
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–९ बस्ने मामा राजकिशोर साह र माइजु उर्मिला देवी साहलाई बुबा–आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई नायब सुब्बा भरत यादवले शंका लागेर सोधपुछ गरेका थिए।
त्यही क्रममा उनी भारतीय नागरिक रहेको भेटिएपछि पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
नागरिकताका लागि आइतबार नै जिल्ला प्रशासन कार्यालय पुगेका आकाशको शैक्षिक प्रमाण पत्र भारतीय रहेको देखेपछि कर्मचारीले शंका लागेर नागरिकता दिएका थिएनन्।
कर्मचारीले उनका बुवा बनेर आएका मामा राजकिशोरसँग सनाखत गराएर सोमबार नागरिकता दिने भनी फर्काएका थिए ।
सोमबार दिउँसो २ बजे आकाश नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्दा नासु यादवसहितले उनीसँग सोधपुछ गर्ने क्रममा उनी भारतीय नागरिक ठहरिएपछि तत्कालै पक्राउ गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाण पत्र लिन खोजेका युवक आकाश, नागरिकता बनाउन सिफारिस गरेका वडाध्यक्ष झा र जन्मदर्ता बनाउने वडा सचिव लाललाई कार्यालयको मुद्दा शाखामा राखेर बयान लिएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको सहायक प्रजिअ न्यौपानेले बताए।
आकाशले बुबाआमाको नाम कम्प्युटरबाट फर्जी रुपमा स्क्यान गरेर माध्यमिक परीक्षाको नक्कली भारतीय शैक्षिक प्रमाण पत्र बनाई बुबाआमाको ठाउँमा मामा र माइजुको नाम लेखेर ल्याएको पाइएको सहायक प्रजिअ न्यौपानेले बताए।
प्रतिक्रिया