समाज


विमानस्थलमा घुस : आन्तरिकपछि अन्तर्राष्ट्रियका हाकिम पनि तानिए

विमानस्थलमा घुस : आन्तरिकपछि अन्तर्राष्ट्रियका हाकिम पनि तानिए

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १३:२९, काठमाडौँ

एकपछि अर्को घटनाले बदनाम बनेको त्रिभुवन विमानस्थलका एकपछि अर्का हाकिम घुस प्रकरणमा मुछिन थालेका छन्।

नेपाललाई हवाई मार्गबाट जोड्न अहिलेसम्मकै प्रमुख विमानस्थल (पोखरा र भैरहवाबाट अझै नियमित जहाज उडेका छैनन्) मा खुलेआम घुस चल्ने कुरा पहिलेबाटै सुनिन्थ्यो।

संयोग कस्तो भने सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी सम्हालेपछि उनकै मन्त्रालय मातहतका दुई हाकिम घुस प्रकरणमा मुछिएर समातिएका हुन्। 

सुदनले माघ ३ मा पर्यटनमन्त्रीका रुपमा काम थालेका थिए। त्यसपछि उनी माघ ५ गते नै त्रिभुवन विमानस्थलको अनुगमनका लागि पुगेका थिए।

त्रिभुवन विमानस्थलका शौचालय फोहोर भएको र स्केलेटरमा यात्रुहरु अड्किएको गुनासो आएपछि त्यहाँ पुगेका उनले तत्काल सुधार गर्न निर्देशन दिएका थिए। तर उनको निर्देशन अझै पनि कार्यान्वयनमा नआएको गुनासो छ। त्यसपछि अर्को पटक पनि उनी त्रिभुवन विमानस्थल पुगेका छन्। 

नेपालको पहिलो ऐनाका रुपमा रहेको विमानस्थलमा आशातित सुधार नभएपछि उनी यही शनिबार पनि अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका थिए। 

माघ ५ मा पहिलो अनुगमन गरेर उनी फर्किएको चार दिनपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित समातिए।

त्यसअघि किराती माघ ६ गते नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा पुगेर हवाई सुरक्षामा विशेष ध्यान दिएर सुधार गर्न निर्देशन दिएका थिए।

माघ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडालको कार्यकक्षबाट स्रोत नखुलेको लाखौँ रुपैयाँ र विभिन्न ब्रान्डका मदिरा बरामद गरेको थियो। 

विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पाउने पास उपलब्ध गराएबापद चुँडालले मासिक १० हजारका दरले घुस लिने गरेको उजुरी परेपछि अख्तियारको टोलीले छापा हानेको थियो।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार हवाई टिकट काटिदिएका यात्रुलाई आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनेर उनले प्रतिमहिना १० हजारका दरले २०७८ कात्तिकदेखि लिँदै आएको १५ महिनाको एकमुष्ट एक लाख ५० हजार रुपैयाँ लिएका थिए। 

नियन्त्रणमा लिइसकेपछि चुँडालको कार्यकक्षमा अख्तियारको टोलीले छापा मारेको थियो। त्यसक्रममा उनको कार्यकक्षको स्टिलको दराजभित्र खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि अख्तियारले बरामद थियो।

त्यसैगरी त्यही दराजबाट अख्तियारको टोलीले विभिन्न ब्राण्डका ९ बोतल मदिरा पनि नियन्त्रणमा लिएको छ। जसमा ब्ल्याक लेबल ५ वटा, डबल ब्ल्याक लेबल १ वटा, चिभास रिगल १ वटा, ग्लेनफिड्च १ वटा र गुर्खाज एन्ड गन्स १ वटा बरामद गरेको थियो।

प्रेम ठाकुर 
चुँडाल समातिएको एक महिना नबित्दै घुस बार्गेनिङमा मुछिएर त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुर निलम्बित भएका छन्। 

थाई स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई कायमै राख्न घुस मागेको प्रमाण भेटिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ठाकुरलाई शुक्रबार निलम्बित गरेको हो। 

ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकोले निलम्बन गरिएको मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले जानकारी दिए। 

‘घुस लिने विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, उनले भने। 

उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने केसीले बताए। यससँगै अब चुँडाल र ठाकुर दुवैमाथि अख्तियारले छानबिन अघि बढाउने छ।

साउनमा समातिएका थिए उपसचिव
त्यस्तै गत साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित रंगेहात पक्राउ  गरेको थियो। 

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उजुरी परेपछि आयोगले नेपाललाई २२ लाख ५० हजार घुससहित गरेको थिए। 

 नागपोखरीको एक होटलबाट रंगेहात पक्राउगरी अनुसन्धान गरिरहेको छ। 

 उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिन सेवाग्रहीबाट ६ लाख रुपैयाँ घुस मागेको आरोप लागेको थियो।

अख्तियारले छापा मार्दा उक्त रकमसहित थप १६ लाख ५० हजार रुपैयाँ गरी २२ लाख ५० हजार रुपैयाँ फेला पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .