ad ad

समाज


दिल्लीमा सञ्चारमन्त्री शर्मा, टेलिफोन शुल्क घटाउन भारतलाई आग्रह

दिल्लीमा सञ्चारमन्त्री शर्मा, टेलिफोन शुल्क घटाउन भारतलाई आग्रह

नेपालखबर
चैत ८, २०७९ बुधबार १७:१९, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत भ्रमणमा छिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्भावित भ्रमणको वातावरण बनाउन उनी दिल्ली पुगेको बताइएको छ।

उनले बुधबार भारतीय समकक्षी एस जयशंकरलाई भेटेकी छन्। त्यो भेटमा उनले नेपालबाट  टेलिफोन गर्दा लाग्दै आएको महसुल घटाउन आग्रह गरेकी छन्। 

नयाँ दिल्लीमा बुधबार भएको भारतीय समकक्षीसँग जयशंकरसँगको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन्। 

‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले घरमा फोन गर्दा अत्यधिक शुल्क लाग्ने गुनासो गर्ने गरेका छन्’, उनले भनिन्, ‘दुवै देशबीचको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु।’

सञ्चार मन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानल भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ ध्यानाकर्षण गराइन्। 

‘भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकोले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्दछु’, उनले भने, ‘विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुन म आग्रह गर्दछु।’

प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी मुलुक नेपाल चलचित्र छायाङ्कनका लागि उपयुक्तस्थल भएको पनि उनले बताइन्। 

‘यस सन्दर्भमा नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्तालाई उत्प्रेरित गरिदिन माननीय मन्त्रीज्यूको सहयोग हुनेछ भन्ने मेरो विश्वास छ’, उनले भन्नि, ‘नेपालमा चलचित्र नगरी निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्नसक्दछन्।’
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उद्घाटन हुनुुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने अपेक्षा उनको थियो। 

‘यहाँलाई अवगत नै छ नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो। समुद्रसम्मको हाम्रो पहुँचलाई भारत सरकारले रेल तथा सडक यातायातबाट सहज बनाइदिएको छ’, उनले भनिन्, ‘यसका लागि धन्यवाद दिँदै सूचना प्रविधिको उपयोगलाई थप सहज र सुलभ बनाउन सहयोग हुने विश्वास व्यक्त गर्दछु।’

विशेषतः नेपालले अन्तर्राष्ट्रिय ब्याण्डविथ प्राप्त गर्न हुने गरी सबम्यारिन केवलसम्मको पहुँच सुनिश्चित गर्न भारतले सहयोग गर्नुपर्ने पनि उनको भनाइ थियो। 

हाल नेपालले भारतका सेवाप्रदायकमार्फत् इन्टरनेट ब्याण्डविथ प्राप्त गर्ने गरेका उनले स्मरण गराइन्। 

‘नेपालले प्राप्त गर्ने ब्याण्डविथमध्ये ८० प्रतिशत एकै बिन्दु (भैरहवा-सुनौली) बाट मात्रै आइरहेकाले भारतीय सेवाप्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्याण्डविथ उपलब्ध गराइदिनुस्’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .