महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण दिएका छन्।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने निर्णय चैत ६ गते भएको थियो। लामिछानेविरुद्ध उजुरी गरेका युवराज सफलले महान्यायाधिवक्ता कार्यालयसँग कारबाही नहुनेको कारण माग गरेका थिए।
महान्यायाधिवक्ता पोखरेलले रवि लामिछानेले झुटा विवरण पेश गरेर राहदानी लिएको नदेखिएको र राहदानी प्राप्त गर्ने कार्यमा निजको आपराधिक मनसायसमेत रहेको नदेखिएका कारण मुद्दा नचलाउने निर्णय गरेको उल्लेख गरेका छन्।
रवि लामिछानेले सन् २०१४ फेब्रुअरी १४ मा प्राप्त गरेको अमेरिकी नागरिकता र सन् २०१४ मार्च ५ मा प्राप्त गरेको अमेरिकी राहदानी सन् २०१८ मे १८ मा परित्याग गरेका थिए। यी सहित मुद्दा नचलाउनुको कारण महान्यायाधिवक्ताको निर्णयमा खुलाइएको छ।
उनले पुरानो नेपाली राहदानी नविकरण गरी २०१५ मे २७ मा नेपाली राहदानी लिएका थिए।
‘जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट विसं २०५० फागुन १० मा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ र नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा गरी पुनः नेपाली नागरिकता प्राप्त गरिसकेको, निजले सन् २०१५ मे २७ मा प्राप्त गरेको नेपाली राहदानी नेपाल सरकारको आधिकारीक निकायमा बुझाएको र सो राहदानी आधिकार प्राप्त निकायबाट कानुन बमोजिम रद्द भई हाल कायम नरहेको’, निर्णयमा उल्लेख छ।
महान्यायाधिवक्ताको निर्णयमा थपिएको छ, ‘निजले अमेरिकी नागरिकता तथा राहदानी परित्याग नगरेसम्मस नेपाली राहदानी प्रयोगमा ल्याएको नदेखिएको, निजको नेपाली नागरिकता र पुरानो राहदानीमा भएको व्यक्तिगत विवरणको रोहमा राहदानी प्राप्त गरेको देखिँदा निजले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) बमोजिम जानीजानी झुटा विवरण दिई राहदानी प्राप्त गरेको भन्न सकिने अवस्था नरहेको र सो राहदानी प्राप्त गर्ने कार्यमा निजको आपराधिक मनसाय समेत रहेको देखिएन।’
रविले नागरिकता ऐन, २०६३ बमोजिमको कसुर तथा तत्कालीन राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड –ख) तथा प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड –क) ले निषेध गरेको कसुर गरेको स्थापित हुन सक्ने अवस्था नभएको निर्णयमा उल्लेख छ।
‘मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय समर्थन गरेको उच्च सरकारी वकिल कार्यालय पाटनको निर्णय बमोजिम मुद्दा नचलाउने भन्ने सहन्यायाधिवक्ता एवम् नायब महान्यायाधिवक्ताले पेश गर्नु भएको राय मनासिव देखिँदा निज प्रतिवादी रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गरिदिएको छु’, महान्यायाधिवक्ता पोखरेलले निर्णयमा उल्लेख गरेका छन्।
प्रतिक्रिया