समाज


जीर्ण बन्दै राप्ती राजमार्ग, बढ्यो दुर्घटनाको जोखिम

जीर्ण बन्दै राप्ती राजमार्ग, बढ्यो दुर्घटनाको जोखिम

रासस
चैत १२, २०७९ आइतबार ६:४१, काठमाडौँ

राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ।

दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ’, सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ।’

सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ। त्यस्तै समय पनि धेरै लाग्ने गर्छ। ‘धुलोले शरिर थपक्कै ढाकेको हुन्छ,’ मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ।’

बिग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए। ‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स-साना ठेक्का लागिरहेका छन्,’ उनले भने, ‘स-साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ।’

ठाउँ-ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अवस्था छैन। पटक-पटक म्याद थप गर्ने कार्य भइरहेको छ। यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ।

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो। त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ-ठाउँमा बिग्रिएको उनको भनाइ छ।

तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ-ठाउँमा बिग्रिएको छ। तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ।

चालु वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करिब ४८ करोड बजेट परेको छ। सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ। यस सडकमा बर्सेनि करोडौं बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .