World Cup 2026


केप भर्डेको रोमाञ्चक नकआउट यात्रा

केप भर्डेको रोमाञ्चक नकआउट यात्रा

उरुग्वेविरुद्ध पहिलो गोल गरेपछि केभिन पिनासँगै केप भेर्डेका खेलाडी। तस्बिर: गेट्टी इमेजेज


लक्ष्मी जि.सी
असार १३, २०८३ शनिबार १५:१२, काठमाडौँ

अन्डर डग टोलीको रुपमा उदाएको केप भर्डे फिफा विश्वकप २०२६ को नकआउटमा पुगेको छ। 

समूह चरणका तीनै खेलमा सानदार प्रदर्शन गरेको केप भर्डेले पहिलो सहभागितामा नै नकआउट चरणमा पुगेर चर्चा कमाएको छ। केप भर्डेसँगै जारी विश्वकपमा डेब्यु गरेका कुराकाओ, जोर्डन र उज्वेकिस्तान भने समूह चरणबाट नै बाहिरिएका छन्। 

समूह चरणको पहिलो खेलमा विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सानदार सुरुवात गरेको ब्लु सार्क टोलीले दोस्रो खेलमा दुई पटकको च्याम्पियन उरुग्वेलाई २-२ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको केप भर्डे अपराजित रहँदै नकआउट पुगेको हो। 

केप भर्डे रहेको समूह ‘एच’बाट स्पेन समूह विजेता बन्दै नकआउटमा पुग्दा उरुग्वे र साउदी भने समूह चरणबाटै बाहिरिए। नकआउटमा केपभर्डेले साविक विजेता अर्जेन्टिनालाई प्रतिद्वन्द्वी पाएको छ।

यो खेललाई मेस्सी भर्सेस भोजिन्हा भनेर सामाजिक सञ्जालमा चर्चा सुरु भइसकेको छ। किनकि, मेसीले विश्वकमा सर्वाधिक गोलको कीर्तिमान बनाएका छन् भने केप भर्डेका गोलकिपर भोजिन्हा पहिलो खेलबाटै चर्चामा छन्। स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले थुप्रै प्रहार रोकेका थिए। 

विश्व विजेता टोलीलाई पन्छाउँदै अन्तिम ३२ मा पुगेको केपभर्डेले अर्जेन्टिनालाई रोक्न कस्तो रणनीति प्रयोग गर्ला त त्यसका लागि भने अर्को सातासम्म पर्खनु पर्नेछ। 

पाँच लाख २५ हजार जनसंख्या रहेको केप भर्डेको क्षेत्रफल पनि चार हजार बर्गकिलोमिटर मात्रै छ। सानो अफ्रिकी मुलुक केप भर्डे पहिलो पटक विश्वकप खेलिरहेको छ। 

केप भर्डेका गोलकिपर भोजिन्हा।

नकआउटमा आइभरी कोस्ट र नर्वे  तथा ब्राजिल र जापान भिड्नेछन्। यी दुई खेलको विजेताले अन्तिम १६ मा भेट गर्नेछन्। 

यस्तै जर्मनी र पाराग्वे, फ्रान्स र स्वीडेन, दक्षिण अफ्रिका र क्यानडा, नेदरल्यान्ड्स र मोरक्को तथा अमेरिका र बोस्निया एन्ड हर्ज गोभिना भिड्ने पक्का भइसकेको छ। यसअघि नै नकआउटमा पुगिसकेका मेक्सिको, अस्ट्रेलिया, स्वीटजरल्यान्ड, स्पेन, बेल्जियम र इजिप्टले भिड्ने टोलीको टुंगो लाग्न बाँकी छ। 

समूह चरणमा शीर्ष दुईमा रहँदै समूह ‘के’बाट कोलम्बिया र पोर्चुगल, समूह ‘एल’बाट इंग्ल्यान्ड र घानाले पनि नकआउटमा स्थान बनाइसकेका छन्। 

उत्कृष्ट तेस्रो टोलीका रुपमा स्वीडेन, इक्वेडर, बोस्निया एन्ड हर्जगोभिना र पाराग्वे नकआउटमा पुगेका हुन्। अब उत्कृष्ट तेस्रो बन्ने दौडमा सेनेगल, इरान, क्रोएसिया, कोरिया, अल्जेरिया र स्कटल्यान्ड छन्। 

विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार बिहान पौने ३ बजे समूह ‘एल’ का पानामा र इंग्ल्यान्ड तथा क्रोएसिया र घाना भिड्नेछन्। 

आइतबार बिहान सवा ५ बजे कोलम्बिया र पोर्चुगल तथा डीआर कंगो र उज्वेकिस्तान प्रतिस्पर्धा गर्नेछन्। यस्तै, आइतबार बिहान पौने ८ बजे समूह ‘जे’ को अल्जेरिया र अस्ट्रिया तथा जोर्डन र अर्जेन्टिना खेल्ने तालिका छ। 

यो नै समूह चरणको अन्तिम खेल हुनेछ। आइतबार मध्य रातिदेखि नकआउट चरणका खेल सुरु हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad