समाज


बालेनलाई सम्झौता कार्यान्वयन नभए फोहोर फाल्न नदिने २ पालिकाको चेतावनी

बालेनलाई सम्झौता कार्यान्वयन नभए फोहोर फाल्न नदिने २ पालिकाको चेतावनी

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १४:४, काठमाडौँ

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको फोहोर रोक्ने चेतावनी दिएका छन् ।

हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको छ। काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा आफूले राखेको माग पूरा नभएको भन्दै जनप्रतिनिधिले १५ दिने अल्टिमेटम दिएका हुन्।

बुधबार ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधिहरूको बैठक बसी विभिन्न ६ बुँदे माग राखेका छन्। ती माग पूरा नभए फोहोर रोक्ने चेतावनी उनीहरूले दिएका छन्।

यसअघि गत जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षहरूको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता भएको थियो। सम्झौता अक्षरसः कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।

बन्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गिकरण गरी बन्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुअब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग उनीहरूको छ।

आफ्ना मागहरू यथाशीघ्र पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठक बसी फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी उनीहरूले दिएका छन्।

यसअघि लामो समयदेखि फोहोरले त्यहाँका बासिन्दाहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरकार र सरोकारवाला निकायहरूबीच सम्झौता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .