ad ad

समाज


खासखुस गर्दै दिनभर आफैँविरुद्धको बहस सुन्दै बालकृष्ण र टोपबहादुर

खासखुस गर्दै दिनभर आफैँविरुद्धको बहस सुन्दै बालकृष्ण र टोपबहादुर

फाइल तस्बिर


उजिर कार्की
जेठ २१, २०८० आइतबार २०:४१, काठमाडौँ

जिल्ला अदालत काठमाडौंको इजलास नम्बर-२५। कोठाका पछिल्लो दुई लाइनका बेन्च प्रतिवादीले खचाखच थिए। अघिल्लो लाइनमा एउटै बेञ्चमा थिए बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र इन्द्रजित राई। 

त्यसअघि टोपबहादुर रायमाझीलाई ११ नबज्दै अदालतमा उपस्थित गराइएको थियो। पछि बालकृष्ण खाँण र इन्द्रजितसहित प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रतिवादीहरूलाई सवा ११ बजे अदालत पुर्‍याइयो। 

सुरूमा इजलास नं २ मा भेला गरिएका उनीहरूलाई त्यसपछि इजलास नं २५ मा सारिएको थियो। जुन इजलासमा उनीहरूको सुरुदेखि नै बयान गराइएको थियो। 

यही इजलासबाट टुंगो लाग्ने छ, मुद्दा पुर्पक्षका क्रममा थुनामा रहने कि थुनाबाहिर भन्ने। न्यायाधीश प्रेमप्रसाद न्यौपाने पहिल्यै इजलासमा उपस्थित थिए। 

प्रतिवादी लिएर पुगेका प्रहरीले इजलास सुरूमा अटाइ नअटाइ भयो। विस्तारै प्रहरीहरू प्रतिवादीलाई भित्र राखेर बाहिरि निस्किए। वकिलहरू भित्र पस्न थाले। 

सुरूमै बहसका लागि कति समय लिने भन्ने प्रसंग सुरु भयो। इजलासको अघिल्लो भागमा थिए, खाँणका वकिल, रायमाझीका वकिल र सरकारी वकिल।   

न्यायाधीश न्यौपानेले सुरूमा सरकारी वकिललाई दुई दिनमा बहस सक्न भने। सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि नेउपानेले दुई दिनमा नभ्याइने बताए। त्यसपछि न्यायाधीश न्यौपानेले अर्को दिन थपे, ‘ल त्यसो भए तपाईंहरू तीनदिनमा सक्नुस्। पछि जवाफी बहस आधा दिन हुन्छ।’ 

टोपबहादुर रायमाझीका तर्फबाट इजलासमा उपस्थित पूर्व महान्यायाधीवक्ता रमेश बडालले एक दिन समय मागे। रायमाझीका तर्फबाट एक दिन समय माग भएपछि न्यायाधीशले सुरूमा प्रतिवादीलाई ५ दिन दिने बताएका थिए। पछि बालकृष्ण खाँणका अधिवक्ताले पनि प्रतिवादी धेरै भएकाले समय अपुग हुने बताए। 

अनि न्यायाधीश नेउपानेले भने, ‘ल तपाईंहरू बुधबारदेखि अर्को मंगलबारसम्म। ककसले कति समय गर्ने हो तपाईंहरूले म्यानेज गर्नुहोला। मागे जति नै समय त कहाँ मिल्छ त ‘टाइम म्यानेज’ भनेकै यही हो।’

त्यसपछि उनले एउटा मुद्दामा एक जना वकिलले लामो बहस गरेको उदाहरण सुनाए। सरकारी वकिल प्रमुख नेउपानेले फेरि भने, ‘हामीलाई चाहिँ तीन दिन मात्रै।’

‘उहाँहरू (प्रतिवादी) धेरै हुनुहुन्छ’, न्यायाधीशले जवाफ दिए। 

‘हामीले पनि त धेरै जनाको कुरा राख्नु पर्छ नि’, नेउपानेले थपे, ‘यो तीन दिनमै जाहेरवालाका वकिल पनि?’

‘होइन यो सरकारी वकिलका लागि मात्रै हो। जाहेरवालाका तर्फबाट कतिजना हुनुहन्छ?’, न्यायाधीशले सोधे। 

‘अहिलेसम्म कोही पनि आउनु भएको छैन’, नेउपानेको जवाफपछि समयको बहस सकियो। बहस तत्काल सुरु गर्न न्यायाधीशले सरकारी वकिललाई भने। 

हामी सल्लाह गरेर आउँछौं भन्दै सरकारी वकिल इजलासबाट बाहिरिए। 

उनीहरू आधा घण्टा जति समयपछि इजलास फर्किए। अनि, जिल्ला सहन्यायाधीवक्ता महेश खत्रीले बहस सुरु गरे। जाहेरीबाट विषय उठान गरेका खत्री विस्तारै अनुसन्धानका भित्रि कुरा कोट्याउन थाले। जहाँ यो प्रकरणमा कसको के भूमिका थियो भन्ने लगायतका विषय थिए। 

पक्राउ परेर म्याद थपका लागि अदालत लैजाँदा जस्तो उत्साहित थिएनन् आज टोपबहादुर रायमाझी । बरू, सधैं गम्भीर मुद्रामा देखिने बालकृष्ण खाँण चनाखो भएर बहस सुनिरहेका थिए। 

वकिलले अनुसन्धानका फेहरिस्त सुनाइरहँदा न्यायाधीशका प्रति प्रश्नले प्रतिवादीहरुलाई सहानुभूति मिलिरहेको थियो। टोपबहादुर, बालकृष्ण, इन्द्रजित र टेकनारायण जती चासो दिएर अरुले बहस सुनिरहेका थिएनन्।

बहसका क्रममा सरकारी वकिल महेश खत्रीले भने पालैपालो सबैका कर्तुत सुनाइरहेका थिए। को को जाहेरवाला कति ठगिए भन्ने सुनाउँदै गर्दा न्यायाधीश न्यौपानेले सोधे, ‘उनीहरुको चाहिँ कानुनी दायीत्व हुँदैन? नेपाली नागरिकता त्याग्न तयार भएकाहरू, आफ्नो नाम ठेगाना बदल्दै नेपाली पहिचान नै मेटाएर भुटानी शरणार्थी बनेर जान तयार हुनेहरूको पनि केही दोष त होला नि? संविधानको धारा ४८ मा नागरिकका पनि कर्तव्यका कुरा छन्।’

न्यायाधीश न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा सरकारी वकिल खत्रीले यसअघि १ लाख १३ हजार भुटानी शरणार्थी पुनस्र्थापना गर्दा पनि केही नेपाली अमेरिका छिरेको खुलाए। 

‘यसअघि १ लाख १३ हजार भुटानी शरणार्थी अमेरिकासहितका देशमा पुनस्र्थापनाका लागि जाँदा पनि केही नेपाली छिरेका रहेछन्। उनीहरूको पनि केही बाध्यता होलान्। तर जाहेरवाला पनि यसमा दोषि छैनन् म भन्दिँन श्रीमान्,’ उनले भने, ‘उनीहरू पनि प्रतिवादी बनेर आउँछन्। केही आएका पनि छन्। उनीहरुमाथि पनि कारबाही हुन सक्छ।’

उनीहरूलाई किन प्रतिवादी बनाइएन भन्ने न्यायाधीशको जिज्ञासामा सहन्यायाधीवक्ता खत्रीले भने, ‘हामी पनि ठगियौँ भन्ने मान्छे चाहियो। साक्षी चाहियो। सरकारी वकिलले मात्रै बोलेर भएन। संलग्नहरू ढिलो चाँडो कानुनी दायरामा आउँछन्।’

उनले सुरूमा जाहेरी दिएका र पछि प्रतिवादी बनाइएका केहीको उदाहरण दिए। न्यायाधीशको यो प्रतिप्रश्नले प्रतिवादीको मनमा मलम लगाउने काम गर्यो। 

तर यसपछि सहन्यायाधीवक्ता खत्रीले अन्य प्रमाण खोतल्न थाले। उनले गृहमन्त्री र गृहसचिवजस्ता जिम्मेवार व्यक्तिले प्रतिवेदन नै नक्कली बनाएको बताए। 

टोपबहादुरलाई योजनाकारका रुपमा चित्रण गरे। 

यी आरोप सँगै बसेर सुनिरहेका थिए, बालकृष्ण र टोपबहादुर। तर उनीहरू एकअर्कामा संवाद भने गरिरहेका थिएनन्। बरू, बेलाबेला आफ्ना वकिलसँग खासखुस गरिरहन्थे। 

टोपबहादुरको सिधै पछिल्लो बेन्चमा थिए उनका छोरा, सन्दीप। बाबु छोराको पनि दिनभर नै संवाद भएन। पछिल्लो बेन्चको ढोका नजिकै बसेका दम्पत्ति लक्ष्मी महर्जन र हरिभक्त महर्जन भने बेलाबेला संवाद गरेको देखिन्थ्यो।

लक्ष्मीको नजिकै उनको निगरानी गर्ने थिइन्, महिला प्रहरी। 

उनीहरूको भने बहसमा खासै प्रसंग जोडिएको थिएन। उनीहरू आफैंमा गफिन्थे। हिरासतमा पुगिकन भेटघाट र संवाद हुन पाएको थिएन। 

बहसको बीचमै गृहमन्त्री र गृहसचिवले शरणार्थी सम्बन्धि प्रतिवेदन बदलेको प्रसंग आएपछि न्यायाधीश न्यौपानेले प्रतिप्रश्न गरे, ‘प्रतिवेदन किर्ते गरेको आरोपमा गृह मन्त्रालयका मन्त्री र सचिवलाई मात्रै प्रतिवादी बनाउनु भएको रहेछ। त्यहाँ पनि शाखा(महाशाखा होलान्। प्रतिवेदन फेर्ने गरी फाइल तयार पार्ने र अघि बढाउने अरु कर्मचारी होलान्। उनीहरुलाई चाहिँ किन प्रतिवादी बनाइएन? गृहमन्त्री र सचिवले नै त प्रतिवेदन फेरेका होइनन् होला।’

जवाफमा खत्रीले अनुसन्धानका क्रममा अन्यको संलग्नता नदेखिएको र गृहमन्त्री र सचिवले अन्य संलग्न रहेको भन्ने बयान पनि नदिएको बताए। 

न्यायाधीशले अर्को प्रश्न गरे, ‘गृह मन्त्रालयमा रहनेले त प्रतिवेदन किर्ते गरे, त्यसो भए अरु जो गृहमन्त्रालय नै टेकेका छैनन् उनीहरुलाईचाहिँ किन यसमा प्रतिवादी बनाउनुभएको?’

समूहमा मिलेर गरेको अपराधमा कुन काममा को संलग्न छ भन्दा पनि सबै कसुरमा सामूहिक जोडिने जवाफ वकिलले दिए। 

जवाफपछि उनी सबैको कनेक्सन कोट्याउँदै गए। तर न्यायाधीशले कनेक्सन बुझाउने ग्राफिक्स देखाउँदै भने, ‘यसलाई कसरी पुष्टि गर्नुहुन्छ? कसको कोसँग कनेक्सन छ भन्ने आधार के हो? कि कसैले मलाई फोन गर्यो भने त्यही आधारमा मलाई पनि प्रतिवादी बनाइदिई जाने हो?’

तर जवाफमा खत्रीले यसका लागि पर्याप्त प्रमाण रहेको बताए। उनले हरेकका एउटा मात्रै नभएर १०÷१० वटा प्रमाण रहेको बताए। उनले यसबीचमा फेला परेको डायरी र बैंक स्टेटमेन्टहरू रहेको रिपोर्ट सुनाए। 

यसअघि सचिव टेकनारायण पाण्डेले अदालतमा बयान दिँदा प्रहरीले सुरुमा आफूलाई दबाब दिएको बताएका थिए।

यसको खण्डन पनि सरकारी वकिलले इजलासमा गरे। 

उनले भने, ‘जसले पूर्व गृहसचिव भएको फाइदा हिरासतमा पनि उठाउनु भएको छ। उहाँले यसैको फाइदा लिँदै हिरासतबाट पत्र आदान प्रदान गर्न भ्याउनु भएको छ। अरु कसैलाई टर्चर नहुने, उहाँलाई चाहिँ कसरी टर्चर भो त श्रीमान।’

टेकनारायणले हिरासतबाट लेखेको पत्रमा भएको विवरण पनि इजलासमा सुनाए। यी सबै आफूविरुद्धका प्रमाण सुन्न बाध्य थिए, खाँण, टोपबहादुरहरू। 

दिउँसो २ बजेतिर केहीबेर ब्रेक भयो। ब्रेकमा सबै एकसाथ खासखुस गर्न थाले। कानुन व्यवसायी र प्रतिवादीबीच एकसाथ संवाद हुन थालेपछि प्रहरीले आ–आफ्नो ठाउँमा बसाउनु परेको थियो। 

यहीबीचमा खाँणले आफ्ना पूर्व निजी सचिव नरेन्द्र केसीसँग संवाद गरे। खाँणसँगको संवादका क्रममा नरेन्द्र अलिक रिसाएजस्तो देखिन्थे। केहिबेरको खासखुसपछि खाँणको खाजा आएको जानकारी लिएर प्रहरी आए। 

खाँण बाहिर निस्किए। प्रहरीलाई सोधिरहेका थिए, ‘कहाँ बसेर खाने हो?’

‘कहाँ कहाँ!’, प्रहरीले पनि जवाफ दिन सकेनन्। 

प्रहरीले अरुलाई भने, ‘तपाईंहरू पनि खाजा खाने भए मगाउनुस् है।’ पछि अरुले पनि खाजा बगाएर त्यही बीचमा खाए। 

साढे दुई बजेपछि इजलासमा पुनः बहस सुरु भयो। केही समय खत्रीले बहस गरेपछि सहन्यायाधीवक्ता जनक घिमिरेले बहस गरे। रायमाझी र खाँणसहितका १८ जना प्रतिवादी भने दिनभर आफूविरुद्धको बहस सुनेर बसिरहे।  

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको कसुरका यी प्रतिवादीविरुद्ध अझै दुई दिन बहस हुनेछ। मंगलबारसम्म सरकारी वकिलले बहस गरेपछि बुधबारदेखि प्रतिवादीका वकिलले प्रतिरक्षा गर्नेछन्। यसका लागि खाँण र रायमाझीले पूर्व महान्यायाधीवक्ताको नेतृत्वमा दर्जनौं वकिल उतार्दैछन्। खाँणको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती लगायत छन्। रायमाझीको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमेश बडाल लगायत छन्।

उनीहरुले अर्को मंगलबार बहस सक्नेछन्। बुधबार पुनः १ बजे दिउँसोसम्म सरकारी वकिलले जवाफी बहस गरेपछि यो मुद्दाका प्रतिवादीहरू को को थुनामा जाने र कोको थुनामुक्त हुने भन्ने आदेश आउने छ। 

मुद्दाको फैसला हुन भने समय लाग्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .