समाज


१६ जिल्लामा फैलियो दादुराको प्रकोप, एक हजार बढी संक्रमित

देशभर १६ लाख बालबालिकालाई खोप लगाइँदै
१६ जिल्लामा फैलियो दादुराको प्रकोप, एक हजार बढी संक्रमित

फाइल तस्बिर


समृद्धा केसी
जेठ २८, २०८० आइतबार २१:११, काठमाडौँ

गत १२ पुसमा बाँकेबाट फैलिएको दादुरा अहिले काठमाडौंसहित १६ जिल्लामा फैलिइसकेको छ।

स्वास्थ्य सेवा विभाग अन्र्तगत रहेको परिवार कल्याण महाशाखाले दिएको तथ्यांकअनुसार २६ जेठसम्म १६ जिल्लाका एक हजार तीन जनामा दादुरा पुष्टि भइसकेको छ। 

बुधबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित ज्योयो कुटुम्पा गुम्बामा बस्ने चार जना बालबालिकामा दादुरा पुष्टि भएको महाशाखाले बताएको छ।

ती विद्यालयमा जम्मा पाँच सय ६० जना रहेका विद्ययार्थीहरूमध्ये ६२ जनामा उस्तै प्रकारका लक्षण देखिएको तर जाँच गर्दा चार जनामा संक्रमण पुष्टि भएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

संक्रमण पुष्टि भएका चार जनालाई आइसोलेसनमा राखिएको छ।

काठमाडौंमा पनि दादुरा देखिएपछि विभागले काठमाडौंका निजी तथा सरकारी सबै अस्पतालमा दादुराका सक्रिय केस खोजी र शंकास्पद केसहरू भेटिए नगरपालिका र स्वास्थ्य सेवा विभागमा रिपोर्ट गर्न अनुरोध गरिएको छ।

एक जना दादुराको बिरामीले १८ जनालाई संक्रमित बनाउन सक्ने भएकाले सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुन समेत विभागले निर्देशन  दिएको छ।

१६ जिल्ला पुग्यो दादुरा प्रकोप 
हालसम १६ जिल्ला पुगेको दादुरा सबैभन्दा बढी बाँकेमा तीन सय २२ मा संक्रमण देखिएको र एक जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। 

महोत्तरीमा एक सय पाँच जनामा दादुरा पुष्टि भएको छ भने सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषा २३, कपिलवस्तुमा पनि २३ बाजुरमा १८ र अर्घाखाँचीमा ११ संक्रमित भएको तथ्यांक रहेको छ। 

त्यस्तै, प्रकोप प्रभावित स्थानमा स्वास्थ्यकर्मीहरुलाई संक्रमण नियन्त्रणबारे जानकारी, संकास्पद विरामीहरुलाई आइसोलेसन गर्ने र भिटामिन ए पनि खुवाउन लगाएको महाशाखाले जनाएको छ ।

१६ लाख बालबालिकालाई खोप लगाइँदै 
परिवार कल्याण महाशाखाले यही आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अति प्रभावित जिल्ला मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुराका बालबालिकालाई दादुरा रुवेलाविरुद्धका खोप लगाइरहेको छ। 

त्यस्तै, सरकारले १५ वर्ष मुनिका बिरामी बाहेक सबै बालबालिकाहरुलाई दादुराविरूद्धको खोप दिन तयारी गरेको छ। 

दादुरा संक्रमण फैलिन थालेपछि जोखिम रहेका नौ जिल्लामा बिहीबारदेखि खोप दिन सुरू गरिएको हो। 

बाँकेमा आउटब्रेक हुँदा गरिएको अध्ययनले संक्रमण देखिएका अधिकांश बालबालकाले खोप नलगाएको पाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुरपभाइजर नरेश श्रेष्ठले जानकारी दिए। 

त्यसैले सरकारले खोप अभियानलाई तीव्र पारेको शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए।

‘नौ जिल्लाका ६ महिनादेखि १५ वर्षमुनिका १६ लाख ८१ हजार आठ सय ५१ बालबालिकामा दादुराविरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ ,’ उनले भने। 

महाशाखाले यसअघि दादुरा फैलिएका बाँके, कैलाली, सुनसरी, महोत्तरीका प्रभावित क्षेत्रका बालबालिकालाई खोप लगाइसकेको छ।

सरकारले सन् २०२३ सम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ। तर स्वास्थ्य विज्ञहरूले गत पुसमा बाँकेमा भएको दादुको आउटब्रेकले गर्दा यो अधुरै हुने बताएका छन्। 

नेपालले सन् २०१९ भित्र दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। तर यो रोगको संक्रमणदर बढ्न थालेपछि निवारणको लक्ष्य सन् २०२३ मा सारिएको थियो। 

समयमै उपचार नपाए बिरामीको मृत्यु हुन सक्ने 
दादुरा कोरोना भाइरसभन्दा पनि छिटो फैलिने सरुवा रोग भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए। 

‘एक जना दादुरा संक्रमितले झन्डै १८ जनालाई सार्न सक्ने भएकाले यसलाई निकै तीव्र गतिमा फैलिने सरुवा रोग मानिन्छ,’ डा. पुनले भने, ‘दादुरा संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ।’

सामान्यतया दादुरा ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रूप लिन पनि सक्छ। यदी बालबालिकाको समयमा उपचार भएन भने गम्भीर प्रकारको जटिलता हुनुका साथै मृत्युसमेत हुन सक्ने उनी बताउँछन्।

शरीरमा दादुराको भाइरस प्रवेश गरेको ७ देखि १४ दिनसम्ममा लक्षणहरु देखिने डा. पुनले बताए। 

दादुरा भएका व्यक्तिमा ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, आँखा रसाएको जस्तो रातो हुने र मुख हुँदै शरीरभरि रातो बिमिरा देखिन्छन्। यस्ता लक्षणहरू देखिनासाथ बिरामीलाई अस्पताल लैजानुपर्ने डा. पुनले बताए। 

दादुरा तीव्र गतिमा फैलिने भएकाले लक्षण देखिएका व्यक्तिहरुले जति सक्यो चाँडो भिडभाडबाट टाढा बस्न उनको सुझाव छ।

दादुराले बिरामीलाई गम्भिर बनाउनुका साथै निमोनिया हुने वा मस्तिष्क लगायत शरीरका विभिन्न अंगमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले  समयमा उपचार गर्नुपर्ने उनको भनाइ छ। ‘बिरामीले समयमै उपचार नपाए बिरामीका मृत्यु समेत हुन सक्छ,’ डा. पुनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .