समाज


प्रहरीलाई बचाउन जाँदा प्रहरीकै गोली खाएका वीरेन्द्र

सात वर्ष बित्दा पनि उपचार खर्च नपाएपछि अनसनमा
प्रहरीलाई बचाउन जाँदा प्रहरीकै गोली खाएका वीरेन्द्र

माइतीघरमा अनसनरत वीरेन्द्र जैसी (तस्बिर : सरोज नेपाल)


समृद्धा केसी
असार ४, २०८० सोमबार २०:२२, काठमाडौँ

दिउँसो एक बजेको प्रचण्ड गर्मी। तर उनलाई त्यो उखरमाउलो गर्मीले रत्तिभर पनि छोएको थिएन। माइतीघर मण्डलमा एक्लै अनसनमा बसेका थिए उनी। 

‘अन्जानमै भए पनि राज्यकै सेवकले चलाएको बन्दुकबाट निस्केको गोलीले पेट छेड्यो तर राज्यले उपचार खर्च पनि दिएन,’ वीरेन्द्र जैसीले मसिनो आवाजमा भने। 

कैलाली जानकी गाउँपालिकाका २५ वर्षीय वीरेन्द्र जैसी २०७३ सालमा कक्षा १० मा पढ्दै थिए। पढेर भविष्यमा केही बन्ने लक्ष्य लिएका जैसी यतिबेला सोच्दै नसोचेको जिन्दगी बाँचिरहेका छन्। 

८ वर्षदेखि शारीरिक पीडा भोग्दै आएका उनलाई अहिले त मानसिक पीडाले पनि सताएको छ। 

यो उमेरमा कमाइ गरेर परिवार पाल्नु पर्ने उनी आफैँ परिवारको बोझ बनिरहेको अनुभूति गर्छन्। 

गत महिना मात्र शरीर दुखेर हिँड्नै नसक्ने भएपछि उनलाई पाँच पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। 

आठ वर्षअगाडि प्रहरी जवानले चलाएको गोली लागेर घाइते भएका जैसीको घाउ त पुरियो। तर त्यसले दुःख दिन भने अझै छोडेको छैन। सरकारले गरेको त्यो वाचा पनि पुरा नगर्दा अनसन बस्न बाध्य बनेको उनले सुनाए। 

त्यो घटना, जसले वीरेन्द्रको जीवन नै उजाड्यो 
१ फागुन २०७३ को साँझ खाना खाएर परिवारसँग कुराकानी गरिहेका जैसीले अत्तालिएको आवाजमा बाहिर कसैले बोलाएको सुन्छन्। उनी बाहिर निस्कन्छन्। 

प्रहरीको बर्दीमा आएका एक जनाले अत्तालिँदै गाउँलेसँग गुहार मागिरहेको उनले देख्छन्। 

भएको के थियो भने पूर्वबाट पश्चिमतर्फ आइरहेको राँगा गाडामा सालका चिरान काठ ल्याउदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक बृजलाल अधिकारी र सहयोग माग्न आएका प्रहरी जवान गणेशबहादुर सेठ्ठीले सोधखोज गर्छन्। 

प्रहरीहरुले काठ तस्करी गरेको भन्दै दुई जनालाई हतकडी लगाउँछन्। तर १०/१५ जना अपरिचित व्यक्तिहरु आएर यी दुई प्रहरीमाथि आक्रमण गर्न थाल्छन्। 

अपरिचित व्यक्तिबाट गम्भीर घाइते बनेका दुई प्रहरीमध्ये सेठ्ठी भाग्न सफल हुन्छ। उनी सहयोगका लागि गाउँलेसँग हारगुहार माग्न आइपुगेको उनले सुनाउँछन्।

प्रहरी जवानको कुरा सुनेर १०/१२ जना गाउँले घटनास्थलतर्फ लाग्छन्, अर्का प्रहरीलाई बचाउन। 

यता पिटाइ खाइरहेका अधिकारी आत्मरक्षाको लागि पिस्तोल निकालेर २ राउन्ड फायर गरी सुरक्षित स्थानतर्फ भागिसकेका हुन्छन्। 

सो क्रममा उनलाई बचाउन गएका गाउँलेहरुलाई अधिकारीले आक्रमणकारी ठानेर गोली चलाउँछन्। उनले अन्धाधुन्द गोली चलाउँदा वीरेन्द्र जैसीको दायाँ पेटमा गोली लाग्छ।

तत्कालै उनलाई टीकापुर अस्पतालमा प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेजमा रिफर गरिन्छ। तर अस्पतालले उपचार गर्न नसक्ने भन्दै शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गर्छ। 

प्रहरी नायक निरीक्षकले आत्मरक्षाका लागि चलाएको गोली लागी निर्दोष जैसी अस्पतालको बेडमा महिनौँ लडिरहन्छन्। तर, उनलाई भेट्न राज्यका तर्फबाट कोही पुग्दैन। 

सात वर्ष बितिसक्दा पनि पाएनन् उपचार खर्च 
त्यो बेला शिक्षण अस्पतालमा उपचार गराउँदा लाखौँ खर्च भएको जैसी बताउँछन्। 

प्रहरी कार्यालयले आत्मरक्षाका लागि चलाइएको गोलीले जैसी घाइते बनेको स्वीकार गरेको थियो। र उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले नै ब्यहोर्ने प्रतिबद्धता समेत गरेको थियो। तर त्यो अहिलेसम्म पनि पूरा भएको छैन। 

उपचारमा लागेको खर्चको बिल जैसीले जिल्ला प्रशासन कार्यालय कैलाली र गृह मन्त्रालय पनि पुर्‍याए। तर अहिलेसम्म एक पैसा नपाएको उनले सुनाए। 

गोली लागेपछि परिवारले ऋण गरेरै उपचार गराएको जैसीले बताए। १० कक्षामा पढ्दापढ्दै गोली लागेपछि उनले पढाइलाई पनि निरन्तरता दिन नसकेको सुनाए। 

‘त्यो बेला घटेको घटनामा लागेको गोली अन्जानमा थियो। प्रहरीलाई पनि धेरै चोट लागेको थियो। उहाँले आत्मरक्षाका लागि चलाउनु भएको थियो। सबै हाम्रै पक्षमा भएकाले बाँचुन्जेलसम्म उपचार खर्च सरकारले नै व्यर्होने भन्ने कुरा भएको थियो तर खोई अहिलेसम्म केही गरेको छैन,’ उनी भन्छन्।

पेटमा गोली लागेर ढाडबाट निस्किएको उनले बताए। जसले गर्दा आन्द्रा चुँडिएकाले प्लास्टिकको आन्द्रा राखिएको छ। ‘खाना पनि पेटभरि खान मिल्दैन थोरै थोरै गरेर खानु पर्छ,’ उनले भने। 

ढाड निकै दुख्ने भएपछि उपचारका लागि ऋणपान गरेर मुम्बई पनि पुगेको तर निको अझै पनि नभएको उनले बताए। 

‘राम्रोसँग हिँड्न पनि सक्दिनँ,’ जैसीले भने, ‘सुतेपछि उठ्न सक्दिनँ। कम्मर हल्लाउन सक्दिनँ। सधैँभरि बेल्ट लगाउनु पर्छ। सहनै नसक्नेगरी पेट र ढाड दुखेपछि गत महिनामा मात्र पाँच पटक राति १/२ बजे शिक्षण अस्पताल पुगेँ।’

उनी उपचार खर्च माग्दै महिनौँ गृह मन्त्रालय धाइसके। तर कुरा कसैले सुनेन।

‘गृह मन्त्रालयमा गएर क्षतिपूर्ति माग्दा अहिले त मलाई त्यँहा पस्नै दिइँदैन,’ उनले भने ‘तपाईंलाई भित्र जान नदिने भनेर भित्रबाट नै आदेश आएको छ। जान मिल्दैन भनेर रोक्छन्। राज्यले नै दिएको पीडाको न्याय माग्न म कहाँ जाऊँ।’

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि आफ्नो पीडा सुनाइसकेका छन्। तर सबैले हुन्छहुन्छ भने पनि उपचार खर्च कसैले पनि नदिएको उनको दुखेसो छ। 

‘गृह मन्त्रालय गए प्रधानमन्त्रीकहाँ पठाउँछन्, प्रधानमन्त्रीकोमा गए गृह मन्त्रालय पठाउँछन्,’ उनले भने ‘राज्यले गरेको सम्झौता अनुसारको क्षतिपूर्ति पाउनका लागि पनि सात वर्षदेखि दौडिरहनु परेको छ।’

अनि अनसन 
‘यो घटनाले मेरो त जिन्दगी नै बर्बाद भइसक्यो,’ उनी भन्छन्, ‘पढाइ पनि रोकियो। विदेश काम गर्न जाऊँ भने शरीरले साथ दिँदैन। यहीँ पनि केही काम गर्न सकिरहेको छैन। जिन्दगी कटाउन धेरै गाह्रो भइसक्यो। आफूले सोचे जस्तो गर्न नसक्ने भएँ। एकातिर उपचार गराएको ऋण पनि यत्तिकै छ।’

अर्थिकरुपमा निकै नाजुक अवस्थामा पुगिसकेकाले अब अस्पताल जाने खर्च पनि नभएको उनले सुनाए।

सरकार आफैँले गरेको प्रतिबद्धता पूरा नगरेपछि २ असारदेखि उनी माइतीघरमा एक्लै अनसन बसेका छन्। 

अहिलेसम्म लागेको १०/१२ लाख उपचार खर्च र आगामी दिनमा स्वास्थ्यमा आउने समस्याको उपचार राज्यले गरिदेओस् भन्ने उनको माग छ। 

‘कहिलेसम्म तड्पेर बाँच्ने?’ उनी प्रश्न गर्छन्, ‘जबसम्म राज्यले मेरो आवाज सुन्दैन, तबसम्म यसरी नै अनसन बासिराख्छु। मरे पनि यहीँ मर्छु।’ 

उनी अनसन बसेको दोस्रो दिनको रातिबाट बिरामी परेका छन्। अहिले उनी बस्ने सक्ने अवस्थामा पनि छैनन् तर राज्यको कुनै पनि निकायले उनको यो अनसनलाई वास्ता नगरेको उनको गुनासो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .