समाज


राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो

फाइल तस्बिर


समृद्धा केसी
असार ५, २०८० मंगलबार १४:१५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। 

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो। 

राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे बेहोस भएपछि  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

मंगलबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म पौडेलको मुटुको शल्यक्रिया भएको हो। 

त्यहाँ जाँच गर्दा मुटुको चाल कम पाइएपछि पौडेललाई तत्कालै मनमोहन सेन्टरको सीसीयूमा राखेर उपचार थालिएको थियो। 

उनको मुटुको चाल कम भएकाले अस्पतालले केही दिनसम्म निगरानीमा राखेर मनिटरिङ गरिरहेको थियो। तर सुधार नभएपछि शल्यक्रिया गरेर पेसमेकर राखिएको मनमोहन स्रोतले जानकारी दिएको छ। 

पौडेललाई गत मंगलबार छातिको बीचमा असहज भएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्‍याइएको थियो ।

त्यतिबेला उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार रोकिएको थियो। गंगालालमा एन्जिओप्लास्टी गरेर मुटुको नसा खुलाइएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका थिए। 

कस्तो अवस्थामा राखिन्छ पेसमेकर? 
सामान्यतया व्यक्तिको मुटु एक सेकेन्डमा एक पटक धड्किनु पर्छ, तर मुटुको चालमा कमी आउँदा त्यो नहुने मनमोहन कार्डियोथेरापी सेन्टरमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताए।

‘बालबालिकाको मुटु एक मिनेटमा एक सय ४० पटक धड्किन्छ तर वयस्क व्यक्तिको मुटु ९० देखि ६० पटक मात्रै धड्कन्छ। तर मुटुमा समस्या आउँदा ६० देखि २० पटक मात्र धड्कियो भने त्यसलाई चालमा कमी आएको बुझ्नु पर्छ’, डा भट्टराईले भने।  

मुटुको चालमा कमी आएका बिरामीलाई २४ घण्टासम्म ‘अब्जर्भेसन’ मा राखिन्छ। त्यति गर्दा पनि चाल नबढे शल्यक्रिया गरेर मुटुमा पेसमेकर (ब्याट्री) राखिने उनको भनाइ छ। 

‘मुटुको चाल कम भएका बिरामीको मुटुको शल्यक्रिया गरेर चलाउ ब्याट्री राख्नुलाई नै पेसमेकर भनिन्छ’, उनले भने, ‘यो शल्यक्रिया गर्न एकदेखि २ घण्टासम्म लाग्छ। यो शल्यक्रियाको जोखिम एक प्रतिशतमात्रै हुन्छ।’

एक पटक शल्यक्रिया गरेर राखेको पेसमेकरले चार देखि १० वर्ष काम गर्छ। त्यसले काम गर्न छाडेपछि फेरि ब्याट्री राख्नुपर्ने डा. भट्टराईले बताए। 

चैतयता पाँच पटक अस्पताल भर्ना 
उसो त पौडेल राष्ट्रपति भएयता लगातार बिरामी भइरहेका छन्। १८ चैतमा पेटमा समस्या देखिएपछि पौडेललाई त्रिवि शिक्षणमा भर्ना गरिएको थियो। त्यसबेला उनी पाँच दिन उपचारपछि डिस्चार्ज भएका थिए। 

शिक्षणमा पौडेलको फोक्सोमा जमेको ८० मिलिलिटर पानी निकालिएको उपचारमा संलग्न डाक्टरले बताएका थिए। 

७९ वर्षीय राष्ट्रपति पौडेल गत मंसिर ४ को प्रतिनिधि सभा चुनावदेखि नै स्वास्थ्यमा समस्या सुरु भएको पारिवारिक स्रोतले बताएको छ। 

परिवरिक स्रोतका अनुसार, तीनचार वर्षपहिला पौडेललाई अल्सर भएको थियो। त्यसयता ढाड दुख्ने, छातीसम्बन्धी समस्या र अहिले मुटुमा हल्का समस्या देखियो। 

‘सम्माननीयज्यू बिरामी भइरहने मान्छे होइन। तर, मंसिरको चुनावमा एक्कासि बिरामी हुनुभयो। ज्वरो आउने, ढाड दुख्ने र श्वास फेर्न गाह्रो भयो। त्यसबेला केही दिनमै सन्चो हुनु भयो’ स्रोतले भन्यो, ‘त्यसयता बिरामी हुनु भएको थिएन। तर शीतल निवास छिरेसँगै उहाँको स्वास्थ्यमा समस्या देखिन सुरु भयो।’

वैशाख ४ गते दोस्रोपल्ट छातीमै संक्रमण भएर उनी शिक्षण अस्पताल पुगेका थिए । परीक्षण गर्दा छातीमा जमेको पानी नहटेकाले ५ गते पुनः अस्पताल भर्ना गरिएको थियो । 

छातीमा जमेको पानी निकाल्नेक्रममा संक्रमण भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाएका थिए ।

वैशाख ६ गते एयर एम्बुलेन्सबाट थप उपचारका लागि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पौडेललाई भर्ना गरिएको थियो।

१० दिन अस्पताल बसेपछि गत वैशाख १७ गते उनी स्वेदश फर्केका थिए। छातीमा जमेको पानी सुकाउन पौडेलले झन्डै दुई महिना एन्टिबायोटिक लिँदा पछिल्लो समय स्वास्थ्य निकै कमजोर भएको स्रोतले बतायो। 

भारतको एम्स अस्पतालमा हुँदा राष्ट्रपति पौडेलको क्यान्सर, क्षयरोगसहित सम्पूर्ण जाँच गरिएको थियो’ पारिवारिक स्रोतले भन्यो, ‘त्यसबेला रिर्पोट सबै नेगेटिभ आएको थियो।’

भारतबाट फर्किएको केही समयपछि उनमा मुटुको समस्या देखिन थालेको हो। चैतयता राष्ट्रपति पौडेललाई नेपाल र भारतमा पाँच पटक अस्पताल भर्ना गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .