समाज


दुवै मिर्गौला ‘ड्यामेज’ भएका प्रेमीसँग बिहे गरिन्, अनि आफ्नै मिर्गौला दिइन् (भिडिओ)

दुवै मिर्गौला ‘ड्यामेज’ भएका प्रेमीसँग बिहे गरिन्, अनि आफ्नै मिर्गौला दिइन् (भिडिओ)

मिर्गौला प्रत्यारोपणपछि पत्नी दिलमायासँग प्रकाश।


समृद्धा केसी
असार १०, २०८० आइतबार ११:४१, काठमाडौँ

‘आफ्नै अगाडि ब्रम्हाण्डै भुलेर माया गरेको मान्छे छट्पटिँदै मरेको कसरी हेर्न सकिन्छ र?’ उनी प्रश्न गर्छिन्। 
                                                         000

साल : २०७५
स्थान : लेटाङ, मोरङ
नाम : दिलमाया लिम्बू
वर्ष : २७
माध्यम : फेसबुक

दिलमायाको फेसबुकमा प्रकाश बस्नेत नामको आईडीबाट फ्रेन्ड रिक्वेस्ट आयो। वाल स्क्रोल गर्छिन्, चिनेको मान्छे होइन। एक्सेप्ट नगर्ने निर्णयसहित ब्याक गर्छिन्। तर संयोग, अनायास उनका औँला कन्फर्म बटनमा थिचिन्छ। 

प्रकाशको मेसेज आउँछ– हाई।

दुर्घटनावश रिक्वेस्ट एक्सेप्ट भए पनि बोल्न चाहिँ नबोल्ने सोच्छिन् उनी।

तर...।

प्रकाश दिलमायालाई मेसेज गरिरहन्छन्।

दिलमाया उन्मुक्त हाँस्दै भन्छिन्, ‘खै कुन्नि! बोल्दिनँ भनेको मान्छेसँग कहिलेदेखि पो दोहोरो संवाद सुरु भयो!’

सुनसरी ब्रम्हाक्षेत्र घर भई कामको सिलसिलामा मलेसियामा रहेका प्रकाश र दिलमायाबीच संवाद बाक्लिन्छ। आत्मीयता बढ्दै जान्छ। कुरा गर्दागर्दै कहिलेदेखि पो प्रकाशसँग आत्मा साट्छिन् दिलमाया, उनलाई ठीकसँग याद छैन।

मिर्गाैला प्रत्यारोपणपछि फलोअपका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रतर्फ जाँदै दिलमाया र प्रकाश।

प्रकाश र दिलमायाबीच मेसेन्जरमा घण्टौँसम्म च्याट र भिडिओ कल हुन थाल्छ। 

सानैमा आमा गुमाएकी दिलमाया दाइभाउजुसँगै बस्दै आएकी थिइन्। आमाको मृत्युपछि पढाइ पनि छुट्यो। उनी घरकै काममा व्यस्त हुन्थिन्।

कहिलेकाहीँ जीवनदेखि दिक्क पनि हुन्थिन् उनी। दिगमिग लाग्थ्यो दुनियाँ। संसारै अँध्यारो लाग्थ्यो। तर जबदेखि प्रकाशसँग चिनजान भयो, दिलमायाको जीवन उज्यालियो। 

प्रकाशले आफू छिट्टै नेपाल आउने र बिहे गरेर दिलमायालाई लैजाने वाचा गरे। दुवै मिलेर सुनौलो भविष्यका सपना बुने।

दिलमायाले आफ्नो दिल प्रकाशलाई दिएकी थिइन्। भोट गएका मदन कुरिरहेकी मुनाजस्तै प्रकाश फर्किने बाटो हेरेर पर्खिरहन्थिन्। 

‘मै मोरीलाई लिन परदेशी आउँछ रे...’ गुन्गुनाउँथिन् उनी।
                                                     000
प्रकाशको स्वास्थ्यमा समस्या देखियो। उच्च रक्तचापसँगै उल्टी हुने, हातखुट्टा सुनिने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि अस्पताल गए। मिर्गौलामा समस्या देखियो। तीन महिना मलेसियामै उपचार गराए। निको होला भन्ने आशा गरे। तर समस्या झनै बढ्दै गयो। अनि २०७६ मा नेपाल आए। 

दिलमायालाई भेटे। आफ्नो सबै समस्या सुनाए। दिलमायाले छिटो निको भइहाल्छ भनी सान्त्वना दिइन्। 

तर समस्या बल्झिँदै गयो। दुवै मिर्गौला बिग्रिँदै गएको रिपोर्ट आयो। उनलाई पत्यार लागेन। अरुअरु अस्पताल पनि धाए र जाँच गरे। जुन अस्पताल पुगे पनि रिपोर्ट एउटै देखिन्थ्यो, मिर्गौलामा समस्या। 

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुवै मिर्गौला बिग्रिसकेकाले डायलासिस गर्नु पर्ने बतायो। यतिबेलासम्म नेपालमा कोरोना भित्रिसकेको थियो। डायलासिसअघि कोरोना परीक्षण हुन्छ। रिपोर्ट पोजिटिभ आउँछ।

कोरोना भयावह भएको त्यो बेला उनलाई तत्कालै एम्बुलेन्समा हालेर क्वारेन्टिन लगियो। एकातिर मिर्गौला बिग्रेको खबरले विक्षिप्त बनेका प्रकाशलाई क्वारेन्टिनको बसाइ जेलजस्तो लाग्यो। न त घरपरिवारसँग भेट हुन्थ्यो, न प्रेमिकासँग। त्यसमाथि कोरोना आतंकको ज्यास्ती। झनै विक्षिप्त बन्दै जान्छन् प्रकाश।

खुट्टा सुन्निने, उल्टी हुने र बेहोस हुने भएपछि क्वारेन्टिनमै दुईपटक डायलासिस गरिन्छ। तर त्यतिबेला प्रकाशले के गरिँदै छ, केही पत्तो भने पाएनन्। डाक्टरले भनिरहे, ‘रगत छान्नुपर्छ।’ 

‘जीवन र मृत्युको जोखिम तपाईं आफैँले लिनुपर्छ,’ डाक्टर उनलाई भन्छन्।

प्रकाश जोखिम मोलेर डायलासिसका लागि तयार हुन्छन्। रिस्क पेपरमा हस्ताक्षर गराएर डाक्टरले डायलासिस सुरु गर्छन्। यसरी क्वारन्टिनमै दुई पटक डायलासिस गरिन्छ प्रकाशको।

पहिलो पटक डायलासिस गरेर छानेको त्यो रगत देख्दा निकै डराएको सुनाँछन् उनी। एक महिना क्वारेन्टिन बसेपछि भाइलाई लिन बोलाएर त्यहाँबाट निस्कन्छन् उनी।

त्यसपछि उपचारका लागि उनी भारतको पटनामा रहेको इन्दिरा गान्धी अस्पताल पुग्छन्। सुविधासम्पन्न अस्पताल पुगे निको भइहाल्छ कि भन्ने आशले पटना पुगेका उनको स्वास्थ्योपचारको प्रक्रिया त्यहाँ पनि उही हुन्छ। अनि मिर्गौलाको उपचार भारतमा भन्दा नेपालमै सस्तो हुने थाहा पाएर पुनः नेपालै फर्कन्छन्। 

उपचारकै क्रममा प्रकाशको जन्मदिनमा केक खुवाउँदै दिलमाया।

रिपोर्ट राम्रो आउँछ कि भन्ने आशामा भारत पुगेका प्रकाश उता पनि उस्तै रिपोर्ट आएपछि बाँच्ने आशा नै मारेको बताउँछन्।

‘अब यसै पनि मरिने भइयो भनेर ६ महिनासम्म डायलाइसिस र उपचार केही नगरी यत्तिकै बसेँ,’ उनी भन्छन्, ‘त्यसपछि खुट्टा सुनिने, ज्वरो आउने समस्या झनै बल्झियो।’

प्रकाशको जिद्दिपनले रोगलाई रोकेन। बरु च्याप्दै लग्यो। जे खायो त्यही उल्टी हुने, हिँड्नै नसक्ने, सुतिरहने भएपछि उनलाई विराटनगरको विराट टिचिङ अस्पताल लगियो। 

प्रकाशको अवस्था निकै नाजुक भइसकेकाले आईसीयूमै राखेर हप्ताको तीन पटक डायलासिस गरियो। डायलासिस गर्दा हप्तामै १० हजार बढी खर्च हुन थालेपछि कमाएको सबै पैसा सकियो। अनि ऋण गरेर उपचार नभर्ने भनी उनी अस्पतालबाट घर फर्किए।

तर रोगले उपचार खर्च छैन भनेन, झनै थल्यायो। सास फेर्न नसक्ने र बेहोस हुने भएपछि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो। तर त्यहाँ डायलासिस मेसिन ६ वटा मात्र भएकाले सहजै पालो पाएनन्। डायलासिसका लागि मात्रै पनि धेरै दुःख खेप्नुपरेको बताउँछन् उनी।

जब मान्छे बेहोस हुन्थ्यो, तब मात्र दुई घण्टाका लागि पालो पाउने गरेको उनले सुनाए। 

‘सिधै सुत्दा सास फेर्न गाह्रो हुन्थ्यो,’ प्रकाशले भने ‘भित्ताको सहारा लिएर घोप्टे परेर पाँच महिना बिताएँ।’

असहज भएर ६ घण्टा भेन्टिलेरमा पनि बस्न परेको सुनाउँछन् उनी। 

उपचार नै साह्रै महँगो भएपछि बिस्तारै आफ्नाहरू पनि टाढिँदै गएको उनले बताए। 

‘दुईजना दाइले बिहे गरिसक्नुभएको थियो। उहाँहरूलाई पनि लाग्यो होला आफ्नो पनि परिवार छ, कहिलेसम्म म रोगीलाई हेरेर बस्न सक्नु! उहाँहरू अब सक्दैनौं भनेर टाढा जानु भयो,’ उनले भने।

तर दिलमायाले कहिल्यै प्रकाशको साथ छाडिनन्। 

त्यसपछि दिलमायासँग टाढिन खोजे प्रकाश
प्रकाशले आफ्नो जीवन सकिइसकेको ठानेका थिए। रोगका कारण कसैलाई पनि दुःख दिन चाहँदैन थिए उनी। 

त्यसैले उनी घर छाडेर इटहरीमा एक्लै बस्न थाले तर दिलमायाले उनको साथ छाडिनन्। उनीसँगै बस्न थालिन्। 

यता प्रकाश दिनप्रतिदिन गल्दै गइरहेका थिए। उनी दिलमायाको अनुहार हेर्थे, माया पनि उत्तिकै गर्थे। तर आफ्ना कारण दिलमायालाई दुःख दिन चाहेनन् उनले। टाढिन खोजे। 

उनी भन्छन्, ‘म त मर्ने भएँ नै, तर मेरो कारणले गर्दा उसको जीवन पनि बर्बाद हुने भयो भनेर म टाढिन खोजेँ। हेर्दा पनि बच्चाजस्तै। मायालाग्दी। उनको जीवन नबिग्रिओस् भनेर टाढा हुन धेरै प्रयास गरेँ। तर उनले मान्दै मानिनन्।’

नयाँ जीवनको सुनौलो संसार कल्पना गरेर बसेकी दिलमायाको पीडा पनि प्रकाशको भन्दा कम भने थिएन। 

विदेशबाट फर्किनेबित्तिकै बिहे गर्ने वाचा गरेका प्रकाश रोग लिएर फर्किए। तर पनि दिलमाया पछाडि हटिनन् ‘मरे सँगै मर्ने, बाँचे सँगै बाँच्ने’ अठोट उनले लिएकी थिइन्। 

दिलमाया भन्छिन्, ‘रोगले च्याप्दै लगेपछि उहाँ टाढिन खोज्नुभएको थियो। उहाँले मेरो पछि नलाग, म मरिसकेको छु। तिम्रो त पूरै जिन्दगी बाँकी छ। अरुसँग गरिखान सक्छौ, मलाई छाडिदेऊ भन्नुभयो तर मैले मानिनँ।’

‘म त उहाँबिना बाँच्नै नसक्ने भएको थिएँ,’ दिलमाया भन्छिन्, ‘दिनरात उहाँको मात्र याद आउँथ्यो। उहाँले टाढा हो भनेपछि त म झन् डिप्रेसनमा गएको जस्तो भएँ।’

उपचारपछि दिलमाया र प्रकाश

त्यहीबीचमा प्रकाशका भाइ सुवास आफ्नो मिर्गौला दिन अघि सरे। तर ब्लड ग्रुप नै मिलेन।

‘बुबा–आमा पनि वृद्ध अवस्थामा पुगेका र दीर्घ रोगी भएकाले उनीहरूको त मिल्नै कुरै भएन,’ प्रकाशले भने।

दिलामायाले प्रकाशलाई छाड्ने मौका पाएकी थिइन्, तर उनी स्वार्थी बनिनन्। 

भाइको मिर्गौला नमिलेपछि दिलमाया आफैँ मिर्गौला दिन अघि सरिन्। उनको भावुकता कानुनले सुन्दैन थियो। गैरआफन्तबाट मिर्गौला लिनु कानुनले बर्जित गरेको छ।

उनले प्रकाशलाई भनिन्, ‘कोर्ट म्यारिज गरौं।’

दिलमायाको फराकिलो दिल देखेर प्रकाशका आँखा रसाउँछन्। तर प्रेमिकाको मिर्गौला लिन उनलाई गाह्रो लाग्छ। बिहे गर्न पनि प्रकाश मान्दैनन्। आफू मर्ने पक्का भएको भन्दै दिलमायालाई आफूलाई छोडेर नयाँ जीवन सुरु गर्न सुझाउँछन्। तर दिलमाया जिद्दी गर्छिन्, छोड्न मान्दिनन्। जति बाँचिन्छ, प्रेमपूर्वक सँगसँगै बाँच्ने कसम खुवाउँछिन् दिलमाया।

दिलमायाको मायाको अगाडि प्रकाशको केही लागेन, अनि दुवैले कानुनी रुपमा बिहे गरे।

प्रकाशलाई धेरैपटक गाह्रो भएर पीडामा छटपटिएको दिलमायाले नजिकबाट देखेकी थिइन्। तर उनी टुलुटुलु हेर्नबाहेक अरु केही गर्न सक्दैन थिइन्। 

मिर्गौला प्रत्यारोपणका लागि प्रकाश र दिलमाया काठमाडौं आए। र, भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गए।

प्रत्यारोपणका लागि पनि धेरै नै संघर्ष गर्नु परेको प्रकाश बताउँछन्। बिहे भएको दुई वर्षपछि मात्र प्रत्यारोपण गर्न मिल्ने भएकाले काठमाडौं आए पनि एक वर्ष दुई महिना कुर्नुपरेको उनले बताए।

जाँच गर्दा दिलमायाको मिर्गौला प्रकाशसँग म्याच हुन्छ। बिहे गरे पनि प्रकाश आफ्नो कारण दिलमायालाई गाह्रो नहोस् भन्ने ठान्छन्, र पुनः मिर्गौला लिन अस्वीकार गर्छन्।

अनि दिलमाया अस्पतालमै रुन थालिन्।

दिलमाया मरे म मर्छु तर तपाईंलाई बचाउँछु भन्दै डाक्टरलाई जसरी पनि आफ्नो श्रीमानलाई बचाइदिन हारगुहार गर्छिन्। 

अन्ततः सबै कानुनी प्रक्रिया पुर्‍याएर गत बुधबार (३१ जेठ) दिलमायाले प्रकाशलाई मिर्गौला दिएकी छन्। 

‘म नि:शब्द छु, भगवान् बनेर आइन् दिलमाया’
प्रकाश भन्छन्, ‘म त मरिसकेको मान्छे हो। यही रोग लागेपछि धेरै पटक मर्न कोसिस पनि गरेँ तर दिलमायाले हरेक दुःखमा साथ दिइन्। उनी भएपछि म बाँच्नु पर्छ भन्ने लाग्थ्यो।’

दिलमायाले स्याहार गर्न थालेपछि आफू पूरै परिर्वतन भएको बताउँछन् प्रकाश। श्रीमतीले नयाँ जीवन दिएको उनको भनाइ छ।

‘दिलमाया मेरा लागि श्रीमती मात्र होइन, आमा बनिन्, साक्षात् भगवान बनिन,’ प्रकाश भन्छन्, ‘म निशब्द छु। म प्रत्यारोपण भएको दिन निकै भावुक बनेँ। त्यो दिन आफ्नो घाउ केही दुखेन। उसलाई कति दुख्यो होला भन्ने मात्र लाग्यो।’

दिलमायाको त्याग र प्रेमको अगाडि आफू शून्य भएको प्रकाश बताउँछन्। 

‘डायलासिस गराउँदै जाँदा कति श्रीमान वा श्रीमतीले छोडेर हिँडेको पनि देखेँ। तर दिलमायालाई आफैँले छोड भन्दा पनि छोडिनन्,’ प्रकाशले भावुक हुँदै भने।

दिलमाया र प्रकाशको पुरानो तस्बिर

उता दिलमाया पनि अहिले खुसी छिन्।

‘माया भनेको के हो, प्रेम भनेको के हो, मैले यसबेला नै बुझेँ,’ दिलमाया भन्छिन्, ‘मैले उहाँ पीडामा छटपटिएको देखेँ तर हार खाइनँ। म स्ट्रोङ भएर सँगै बसेँ। जसरी भए पनि बचाउँछु भनेर म लागेँ।’

उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।  

दिलमाया भन्छिन्, ‘अरुले मायालाई कसरी लिन्छन्, थाहा छैन। मेरा लागि माया भने पनि जे भने पनि सबै उहाँ नै हो। म खुसी छु, मैले उहाँलाई बचाउँन सकेँ।’

यता प्रकाशकी आमा पनि निकै खुसी छिन्। आँखाभरि आँसु पार्दै उनी भन्छिन्, ‘मेरो छोरालाई नयाँ जीवन दिने मेरी बुहारी भगवान् हुन। उनलाई भगवानले सधैँ रक्षा गर्ने छन्।’

प्रकाशको अनुहारमा नयाँ जीवन खेल्दै गरेको सजिलै देख्न सकिन्छ। उनीहरू एकअर्काको हात समाएर अस्पताल पुग्छन्। अबका दिनहरूमा यसैगरी मायाले एकअर्काको संसार सुन्दर पार्ने सपना उनीहरू बुनिरहेका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .