समाज


गर्भवती र भ्रूणका लागि कति हानिकारक छ धूमपान?

गर्भवती र भ्रूणका लागि कति हानिकारक छ धूमपान?

समृद्धा केसी
असार ११, २०८० सोमबार ८:२१, काठमाडौँ

हामी सबैलाई थाहा नै छ, सुर्तीजन्य पदार्थ खानु स्वास्थ्यका लागि हानिकारक छ। त्यसमा पनि गर्भवतीका लागि त झनै बढी हानिकारक हुने स्वास्थ्य विज्ञहरू बताउँछन्। 

विश्व स्वास्थ्य संगठनको तथ्याकंअनुसार १५ देखि ६५ वर्ष उमेरका कूल जनसंख्याको १४ दशमलव १ प्रतिशत महिलाले धूमपान गर्ने गरेका छन्।

गर्भवतीले सुर्तीजन्य पर्दाथ खाँदा स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम बताउँछन्। 

सुर्तीजन्य पदार्थ खाने गर्दा हरेक व्यक्तिलाई तत्कालीन र  दीर्घकालिन असर गर्छ तर यसले खास गरेर गर्भावस्थामा आमा र बच्चा दुवैमा गम्भीर असर पर्ने डा. गौतम बताउँछन्। 

‘यदि कुनै पनि महिलाले गर्भावस्थामा धूमपान गर्छिन् भने त्यसले आमा र बच्चा दुवैको अंगअंगमा असर पार्छ, खास गरेर फोक्सो र श्वासवप्रश्वास प्रणालीमा बढी समस्या पार्छ’, उनले भने। 

सहरी क्षेत्रमा धूमपान गर्ने आमाको संख्यामा कमी आए पनि गाउँघरमा सय प्रतिशत आमाले नै धूमपान गर्ने गरेको उनले बताए।

गाउँमा बस्ने महिलाहरू सानै उमेरमा बिहे गरेर आमा बन्छन्। सोही कारण पनि बच्चामा असर परिरहेको हुन्छ, त्यसमाथि चुरोट, गुट्खा र रक्सी खाँदा उच्च रक्तचापदेखि शारिरीक र मानसिक अपागंतासम्म हुने चिकित्सकहरू बताउँछन्। साथै पाठेघरमा पानीको कमी भई बच्चालाई असर पर्छ। 

सुर्तीजन्य पदार्थले आफू र पेटको बच्चामा कस्तो असर गर्छ भन्नेबारे जानकारी नै नभएका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने आमाहरूले खाने गरिरहेको डा. गौतमको तर्क छ। 

विशेषगरी गर्भवतीले धूमपान गर्दा एकजना मात्र नभएर दुई जनालाई असर गर्ने भएकाले यस्तो बेला सुर्तीजन्य पर्दाथबाट टाढै बस्नुपर्ने डा. गौतमको सुझाव छ।

‘एउटा बच्चासँग परिवारको  नकै सपना सजिएको हुन्छ,’ डा गौतम भन्छन्, ‘भोलि त्यही बच्चा जन्मिएर सवल नागरिक हुने हो तर पेटबाट नै आमाले सुर्ती, चुरोट खाँदा भोली बच्चा रोगी जन्मनसक्ने भएकाले धूमपान गर्नुहुँदैन।’

आमाको असावधानीले बच्चा जन्मँदा नै रोगी बच्चा जन्मने गरेको उनले बताए। 

‘मान्छे कहिल्य हार्न चाहँदैन तर हरेक आमाबुवा आफ्नो सन्तानसँग हार्छन तगडा होस् भन्ने चाहन्छन्, त्यसका लागि अहिलेबाट हरेक आमा बुवाले धूमपान छोड्नुपर्छ’, उनले भने।

एउटा रोगी बच्चा जन्मियो भने परिवारलाई मात्र नभएर राज्यलाई नै दुरगामी असर पर्ने भएकाले सुर्तीजन्य पर्दा नियन्त्रण र रोकथाममा सबैले ध्यान पुर्‍याउनुपर्ने कुरामा उनले जोड दिए। 

सुर्तीजन्य पर्दाथ सेवन गर्ने गर्भवती आमालाई अक्सिजनको कमी भई सालको विकास नभएर गर्भपात हुने सम्भावना बढि रहेको उनले बताए। 
सुर्तीजन्य पर्दाथले पेटमा रहेको बच्चाको अङ्ग नै राम्रोसँग विकास हुन नदिने  उनले बताए।

सुर्तीजन्य पर्दाथले बच्चामा पर्ने असर 
धूमपान गर्ने मानिसमा सबैभन्दा पहिला धुँवा गएर फोक्सोले पर्याप्त मात्रामा अक्सिजन लिन नसकेर शरीरमा रगतको प्रवाह राम्रोसँग हुन नसक्ने महिला तथा स्त्री रोग विशेषज्ञ डा. विभूति शाहीले बताइन्। 

धूमपान गर्ने आमाहरूमा अक्सिजनको कमी हुँदा गर्भमा रहेको बच्चाको विकास राम्रोसँग हुन नपाउने उनले बताइन्।

त्यसैले धेरै चुरोट खाने आमाहरुको गर्भपतन हुन, समयअगावै बच्चा जन्मने, बच्चाको शारिरीक विकास राम्रोसँग नहुने, रगतको कमी हुने र भविष्यमा दमजस्ता दीर्घरोग देखिने डा. शाहीले जानकारी दिइन्।

‘सुर्तीजन्य पर्दाथ सेवन गर्ने आमाहरूले जन्माएको बच्चाको फाक्सोको विकास राम्रोसँग हुने अध्ययनले देखाएको छ’, डा. शाहीले भनिन्।

सुर्तीजन्य पर्दाथमा क्यान्सर बनाउने धेरै तत्त्वहरू पनि हुने गरेको क्यान्सर रोग तथा जनस्वास्थ्य विज्ञ डा.अरुण शाहीले बताए। 

धूमपानमा धेरै खालका कासिनोजेनिक क्यान्सर बनाउने तत्त्वहरू रहेका हुन्छन्’, डा. शाहीले भने, ‘रगत क्यान्सर भएका बच्चाहरूको रिपोर्टमा आमाले धेरै धूमपान गर्ने पनि देखाएको छ। त्यति मात्र होइन, उनीहरूमा सानै उमेरमा दम, आस्थामा र फोक्सो क्यान्सर पनि देखिएको छ।’

सहरी क्षेत्रभन्दा जुम्ला, हुम्लाजस्ता विकट क्षेत्रमा बसोबास गर्ने आमाहरुले निकै धूमपान गर्ने गरेको डा. शाही बताउँछन्। गर्भवतीले स्वयं धूमपान नगरे पनि श्रीमान् वा नजिकै बस्ने मान्छेले खाएको चुरोटले पनि असर गर्ने उनले बताए। 

क्यान्सर रोग विशेषज्ञ डा. शाहीका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगले हुने क्यान्सरमा १५० प्रतिशतले वृद्धि भएको छ। 

कानुन भए पनि कार्यन्वयनमा कठिनाइ 
नेपाल सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथामका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८ ल्याएको छ। उक्त ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा “कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन” भनिएको छ। 

तर यो व्यवस्था प्रभावकारी रुपमा  कार्यन्वयनमा आएको छैन। 

कानुनले गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन नहुने भने पनि निकै कम संख्यामा मात्र त्यो लागू भएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्तबहादुर केसी बताउँछन्। 

जनमानसले ऐनलाई गम्भीरतापूर्वक नलिएर निकै सामान्य रुपमा लिएको उनको आरोप छ। 

‘यो ऐन कार्यन्वयन नगरे पनि हुन्छ भनेर लिएको छ,’ उनी भन्छन्, ‘हुन त यो आपराधिक कानुनभित्र नै पर्छ तर प्रहरी र मानिसको बुझाइ यो कानुनमा मात्र पर्छ भन्ने बुझाइ रहेकाले पनि कार्यन्वयन हुन नसकेको हो कि भन्ने पनि लागेको छ।’ 

यसलाई कार्यान्वयन गर्न पछिल्लो समय तीव्र रुपमा लागिएको डा. केसी बताउँछन्। 

सरकारले गर्भवती र बालबालिकालगायत अरुहरुले पनि सूर्तिजन्य पदार्थ खान हुँदैन भनेर यसका जोखिम र यसविरुद्ध कानुनमा भएका व्यवस्थाबारे एफएम, रेडियो, टेलिभिजनमार्फत पनि जनचेतना जगाउने क्रम चलिरहेको उनले बताए। 

डा गौतमले भने, ‘कानुन मात्र बनाएर हुँदैन। कागजमा मात्र लेखेर हुँदैन, किनभने सुर्तिजन्य पर्दाथ नियन्त्रण र रोकथाम गर्ने भनेको जनचेतना जगाएरै हो।’ 

कानुन बनाइसके पनि त्यसलाई कडाइका साथ लागू गर्नुपर्नेमा डा. गौतमले जोड दिए। 

‘बालबालिका र गर्भवती आमाले किनबेच गरेको देख्यो भने कडाइका साथ कारबाही गर्नुपर्छ,’ उनले भने, ‘कानुनमा उल्लेख गरेका कुराहरू राज्य, मिडिया र स्वास्थ्यकर्मीहरूले जनचेतना जगाउन आवश्यक छ। एक्लै गरेर यो काम सम्भव नभएकाले सबैको साथ चाहिन्छ।’

सुर्तीजन्य पदार्थका बर्सेनि जान्छ २७ हजारको ज्यान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थ खाएका कारण हरेक वर्ष २७ हजार १ सय ३७ जनाको ज्यान जाने गरेको छ। यो कूल मृत्युको १४ दशमलव ९ प्रतिशत हो। 

त्यस्तै, सुर्तीजन्य पदार्थका कारण विश्वभर वर्षमा ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भने धूमपान गर्ने सँगै बस्ने १२ लाख जनाको मृत्यु हुने गरेको तथ्या‌ंक छ। 

सन् २०३० सम्ममा ६ जनामध्ये एक जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगले हुनसक्ने अनुमान गरिएको छ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थ खानेमा एक प्रतिशतले कमी आएको छ। 

केही वर्ष नेपालमा ३० प्रतिशत (५१.९ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थ खाने गरेमा अहिले यो संख्या  २८.९ प्रतिशत (४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला) मा झरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .