सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना भएको छ। प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)ले बिहीबार बेशको उद्घाटन गरेका हुन्।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ।
काठमाडौंदेखि करिब २ सय १० किलोमिटर बर्दिवास सम्मको सिन्धुली बिपी हाईवेमा हुनसक्ने अन्य घटनाहरुको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापना बेश स्थापना भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।

सशस्त्र प्रहरी बल नेपालले यसअघि मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरा गरी ७ ठाउँमा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको छ।
मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एक/एक प्लाटुन, नं ९ पशुपतिनाथ बाहिनी काठमाडौंमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक/एक प्लाटुन, सम्पूर्ण गणहरुमा एक/एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एक/एक सेक्सन आवश्यक सामाग्रीसहित तालिम प्राप्त विपद् उद्धार टोली तयारी हालतमा राखेको छ।
यसैगरी रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवनमा समेत विपद् उद्धार टोली परिचालित गरिएको थापाले बताए।

Shares

प्रतिक्रिया