समाज


शिक्षकहरुले मागे शिक्षामन्त्रीको राजीनामा, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने

शिक्षकहरुले मागे शिक्षामन्त्रीको राजीनामा, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने

काठमाडौंमा आन्दोलित शिक्षकहरू। तस्बिर : सरोज बैजु


नेपालखबर
असोज ४, २०८० बिहिबार १४:११, काठमाडौँ

सरकारले संसद् सचिवालयमा दर्ता गरेको 'विद्यालय शिक्षा विधेयक'को विरोधमा बिहीबार दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन्।

देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु काठमाडौंको माइतीघर मण्डलदेखि नयाँबानेश्वरको निषेधित क्षेत्रसम्म उत्रिएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन थालिएको हो। आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ।

बुधवारबाट सुरु भएको काठमाडौंकेन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन्।  

शिक्षकहरु आन्दोलनमा उत्रिएपछि सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन ठप्प बनेको छ।

शिक्षकले नपढाएपछि विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन्।

संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

ती माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .