ad ad

समाज


परीक्षामा फेल भएका यी १५ जना बने जिल्ला न्यायाधीश

परीक्षामा फेल भएका यी १५ जना बने जिल्ला न्यायाधीश

उजिर कार्की
असोज ६, २०८० शनिबार ७:११, काठमाडौँ

जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा अनुत्तीर्ण भएका १५ जनालाई न्यायपरिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। न्यायपरिषदको असोज २ गते बसेको बैठकले ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा ७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। 

यस्तै आन्तरिक र खुला प्रतियोगिताबाट २९ जना न्यायाधीश नियुक्तिका लागि परीक्षा लिइएको थियो। तर परीक्षामा एक जनाबाहेक सबै फेल भए। जिल्ला न्यायाधीशको परीक्षाका लागि २५४ जनाले परीक्षा फारम भरेका थिए। तीमध्ये २११ जना पूरै प्रक्रियामा सामेल भएको न्याय परिषद्ले जनाएको छ। 

तर अन्तिम नतिजा प्रकाशन हुँदा भने एक जना मात्रै उत्तीर्ण भएका थिए। सर्वोच्च अदालतका इजलास अधिकृत पारसमणि पोखरेल मात्रै उत्तीर्ण भएका हुन्। उनलाई न्यायपरिषदले मोरङ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। 

तर आन्तरिक खुला र खुला प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेपछि बाँकी २८ जना न्यायाधीश न्यायपरिषदकै सिफारिसमा नियुक्त हुने भएका छन्। 

न्यायपरिषद्ले जिल्ला न्यायाधीशका लागि सर्वोच्च अदालतकै इजलास अधिकृत हिरण्यप्रसाद भण्डारी, लोकबहादुर हमाल, कौशलेश्वर ज्ञवाली, उदवीर नेपाली र नगेन्द्रकुमार कालाखेतीलाई पनि सिफारिस गरेको छ। उनीहरु यसअघि जिल्ला न्यायाधीशको परीक्षामा अनुत्तीर्ण भएका थिए। 

यस्तै अनुत्तीर्ण भएकै महेश खनाल, नगेन्द्रकेशरी पोखरेल, जुद्धबहादुर आलेमगर, नेत्रप्रसाद भुसाल, कुमार मास्के, रामाकान्त यादव, नीलकण्ठ बराल, प्रदीपकुमार उपाध्याय, शिवकुमार पोखरेल र दीपेन्द्र थापा मगर पनि जिल्ला न्यायाधीशमा सिफारिस भएका छन्। 

उनीहरुलाई नियुक्त गर्न सिफारिस गर्दै पदस्थापनका लागि अदालत समेत तोकिएको छ। यी बाहेक परीक्षामा सामेल नभएका अरु १३ जना कर्मचारीलाई न्यायाधीशमा सिफारिस गरिएको छ। 

न्यायाधीशमा सिफारिस हुनेमा सञ्जीव पोखरेल, इन्द्रबहादुर कठायत, शम्भुप्रसाद बराल, रुद्रमणि गिरी, दुर्गाप्रसाद खनाल, उपेन्द्रकेशर खनाल, रेशराज शर्मा, आनन्दराज पन्त, यदुराज शर्मा, मोना सिंह, रामप्रसाद पौडेल, श्यामप्रसाद श्रेष्ठ, र उषा श्रेष्ठ रहेका छन्। 

संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ।

रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानमा व्यवस्था छ।

आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको लागि प्रक्रिया अगाडि बढाएको थियो। परीक्षा १६ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो।

तर परीक्षाबाट पदपूर्ति हुन नसकेपछि न्यायपरिषदको छानोटमा न्यायाधीश सिफारिस भएका हुन्। 

यसबाहेक ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा वशिष्टकुमार घिमिरे, योगराज ढकाल, शम्भु गौतम, राजेन्द्रसिंह भण्डारी, रामचन्द्र शर्मा, ज्ञानेन्द्र इटेनी र कृतबहादुर बोहरा न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्। 

जिल्ला न्यायाधीशको परीक्षामा आवेदन दिनेको सूची :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .