नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यो वर्षको पहिलो शिकार याम शुरु भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो शिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको शिकार गर्न अनुमति दिएको छ। यस्तै शिकार आरक्षले आठ बँदेलका लागि शिकार खेल्न अनुमति प्रदान गरेको छ।
ढोरपाटन शिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यो वर्षको पहिलो शिकारयाम शुरु भएको बताए। उनका अनुसार अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल शिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ।
‘यो शिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको शिकार खेल्न विभागले अनुमति दिइसकेको छ, अहिले विदेशी शिकारी आरक्षतर्फ आउने तयारीमा छन्’, उनले भने, ‘यो वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका शिकारीले शिकार खेल्न अनुमति पाइसकेका छन्।’
यो वर्ष प्रतिस्पर्धामा अमेरिकाका मात्रै पाँच शिकारी आउने भएका हुन्। उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत असोज १७ गतेपछि ढोरपाटन शिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा शिकार खेल्न सक्नेछन्। शिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी शिकारीको साथमा खटिन्छन्।
शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ‘ब्लक’मा पठाउनका लागि तयारी अवस्थामा राखिएको संरक्षण अधिकृत थापामगरले बताए। विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गरेको हुन्छ।
शिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ। ढोरपाटन क्षेत्रमा बर्सेनी ९असोज–मङ्सिर० पहिलो याम र ९फागुन–वैशाख० मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको छ। खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’मा शिकार खेल्न रुचि राख्ने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ।
विदेशी शिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन्। १५ दिनमा शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ। विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ।
साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ। नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, हेलिकोप्टर सबै बन्दोबस्तीका सामग्री तयार गर्दा एक शिकारीले करिब २० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ।
२०४४ सालमा स्थापना भएको शिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ। शिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत स्थापना भएको हो। रासस
Shares

प्रतिक्रिया