समाज


बझाङ भूकम्प : एक महिला बेपत्ता, १३ जना घाइते

बझाङ भूकम्प : एक महिला बेपत्ता, १३ जना घाइते

नेपालखबर
असोज १७, २०८० बुधबार ५:३७, काठमाडौँ

बझाङमा मंगलबार दिउँसो गएका तीनवटा भूकम्पपछि गएको पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन्। 

भूकम्पपछि भत्किएका भौतिक संरचनाको कारण अहिलेसम्म १३ जना घाइते भएका खुलेको छ। कतिपय भागदौड हुँदा र भाग्ने क्रममा अग्लो ठाउँबाट फाल हान्दा घाइते भएका छन्।

जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा पहिरोमा पुरिएर करिव ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी हुन्।

मंगलबार दिउँसो टिमुर टिप्न जंगल गएको बेला उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले जानकारी दिए।

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा पहिलोपटक बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। 

दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस लगत्तै पाँच म्याग्निच्युडमाथिको अर्को भूकम्प गएको थियो।

भूकम्पको धक्का राजधानी काठमाडौं र भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो।

भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ। दर्जनौँ भौतिक संरचना भत्किएका छन्। 

भूकम्पबाट सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरमा क्षति भएको छ। सदरमुकाममै पक्की घरहरू चर्किएका छन्। गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन्।

भूकम्पले घर क्षति गरेपछि पीडित बनेकाहरुको खुला आकाशमुनि बास भएको छ। घरमा क्षति नभएकाहरू पनि भूकम्पको त्रासले बाहिरै बसेका छन्।

भूकम्पपछि अछाममा एक युवक विद्यालयको भवनबाट हाम फाल्दा घाइते भएका छन्। 

बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा रहेको बिन्देवासीनि माद्यामिक विद्यालयको  भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका प्रहरीले जनाएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .