ad ad

समाज


‘एउटै महिलाका दुई प्रेमी कुटाकुट गर्थे, मनोजले सुटर ल्याएर रुपेशको हत्या गराए’

प्रिन्सिपल हत्यामा प्रेमिका र सहकर्मी शिक्षकको पनि मिलेमतोको आशंका
‘एउटै महिलाका दुई प्रेमी कुटाकुट गर्थे, मनोजले सुटर ल्याएर रुपेशको हत्या गराए’

उजिर कार्की
कात्तिक १५, २०८० बुधबार १९:५८, काठमाडौँ

बाराको कलैयाका प्रधानाध्यापकको हत्यामा उनकै प्रेमिका र सहकर्मी शिक्षकहरुको समेत संलग्नता रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बाराले बुधबार हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ। जसमा प्रेमिका र दुई शिक्षक पनि छन्। दुईजना भने भारतीय सुटर समूहका छन्। 

बाराको कलैया उपमहानगरपालिका-६, मदरसा टोलस्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका प्रधानाध्यापक गुड्डु भन्ने रुपेश स्वर्णकारको कात्तिक १३ गते गोली हानी हत्या भएको थियो। घटनास्थलमा प्रहरीले चार राउन्ड गोलीको खोका बरामद गरेको छ। 

हत्यामा संलग्न रहेको आरोपमा सोही विद्यालयमा काम गर्ने मदरसा टोलकी २२ वर्षीया एक महिला, शिक्षकहरू मदरसा टोलका ३४ वर्षीय जमिल अख्तर र कलैया उपमहानगरपालिका-९, रामपुरका २६ वर्षीय रियाज अन्सारी पक्राउ परेका छन्। 

यस्तै हत्यामा संलग्न चार भारतीय सुटर फरार भएका छन्। तर सोही समूहका दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोतिहारी, पूर्वी चम्पारण, थाना घोडासहन जागिराकोटीका २३ वर्षीय चन्दनकुमार र थाना घोडासहन बहर्वाकाला-१२ का २३ वर्षीय अभिनवकुमार राजपुत छन्। 

उनीहरू भारतीय सुटर समूहकै सदस्य रहेको प्रहरीले दाबी गरेको छ। हत्यामा संलग्न मुख्य सुटरसहित ४ जना र महिलाका भारतीय प्रेमीसहित केही भने फरार छन्। केहीलाई पक्राउ गरेर प्रहरीले सोधपुछ गरिरहेको छ। उनीहरूलाई भने सार्वजनिक गरेको छैन। संलग्नता थप पुष्टि भएपछि मात्रै उनीहरूलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ। 

मोटरसाइकल चढेर फरार भएका चार जना

प्रेमिकाका लागि बिरयानी लिएर गए, गोली प्रहार भयो
रुपेश स्वर्णकार र ती महिला एउटै ठाउँ मदरसा टोलका हुन्। महिलाले गत वैशाखसम्म रुपेश प्रिन्सिपल रहेकै विद्यालयमा लेखापालको काम गर्थिन्। सोही क्रममा उनीहरू नजिकिएका थिए। 

रुपेश विवाहित हुन्। ती महिलाका प्रेमी भारतीय नागरिक मनोज गुप्ता थिए। उनी पनि विवाहित नै हुन्। प्रहरीका अनुसार, ३ वर्षदेखि उनी ती महिलासँग प्रेममा थिए। तर, छोराछोरीका बाबु रुपेश पनि आफ्नै स्कुलकी लेखापालसँग विवाहेतर सम्बन्धमा थिए। विद्यालयमा काम गर्ने क्रममा उनीहरुको प्रेम सम्बन्धबारे विद्यालयका अन्य शिक्षक पनि जानकार थिए। 

भारतीय प्रेमी मनोजले पनि पछि यो कुरा थाहा पाए। त्यसपछि मनोज र रुपेशको बीचमा पटकपटक झगडा र कुटाकुट पनि भएको अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए। 

प्रहरीले सार्वजनिक गरेका पाँच आरोपित

प्रहरीका अनुसार दुई प्रेमीबीचको झगडाका कारण ती महिला एउटालाई रोज्न बाध्य भइन्। उनले रुपेशलाई छाडेर भारतीय नागरिक मनोजलाई रोजिन्। त्यसपछि गएको वैशाखमा रुपेश प्रधानाध्यापक रहेको विद्यालयबाट उनी अलग भइन्। 

ती महिलाले प्रहरीसामु भने आफूलाई जागिरबाट निकालेको बताएकी छन्।

रुपेश आफूबाट अलग नभएपछि उनलाई मार्ने योजना बनाएको महिलाले स्वीकार गरेकी छन्। 

घटनाको दिन रुपेशले रेस्टुरेराँबाट प्रेमिकालाई बिर्‍यानी लगिदिएका थिए। त्यसपछि उनी आफ्ना छोराछोरीलाई चाउमिन लिएर फर्किंदै थिए। त्यहीबेला उनीमाथि गोली प्रहार भएको डीएसपी न्यौपानेले बताए। 

रुपेशको हत्याका लागि चार जना भारतीय सुटरलाई लगाएको प्रहरीको भनाइ छ। ती चारजनाले यसअघि पनि उनीहरूले यस्ता घटना घटाएको प्रहरीको दाबी छ। 

रुपेशको हत्याका लागि त्यो दिन भारतीय प्रेमी मनोज पनि कलैया आएका थिए। तर हत्यापछि उनी फरार भएको प्रहरीले जनाएको छ।
 
प्रहरीका भनाइमा, मोटरसाइकलमा गएर गोली प्रहार गर्ने चारजनाको पनि पहिचान भइसकेको छ। भारतको मोतिहारीको दर्पा थाना १ सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह, सोही स्थानका २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी रहेको खुलेको छ। उनीहरु गोली प्रहार गरेर फरार भएका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .