समाज


उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन (तस्बिर)

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन (तस्बिर)

गुह्वेश्वरी नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै एक व्रतालु।


सरोज बैजु
मंसिर ४, २०८० सोमबार ७:१५, काठमाडौँ

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरिएको छ। 

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ छठ पर्व सम्पन्न गरिएको हो।  

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। 

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ। 

चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन शुक्रबार व्रतालुले नहाय खाए अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए। त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाएका थिए। खर्नाका दिन व्रतालुहरूले दिनभरि निराहार उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (नुन नहालेका) खानेकुरा खाएका थिए। 

त्यस्तै षष्ठीका दिन अर्थात् आइतबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठघाट पुगेका थिए। 

षष्ठीका दिन हिजो आइतबार साँझ व्रतालुले पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए।  

त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्न गरेका हुन्। 

हेर्नुहोस् काठमाडौँको गौरीघाटस्थित गुह्येश्वरी मन्दिर परिसरमा व्रतालुले सूर्यदेवलाई अर्घ्य दिँदै गरेका तस्बिर- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .