ad ad

समाज


स्वास्थ्यमन्त्रीको आरोप : गोविन्द केसी मेडिकल माफियाद्वारा सञ्चालित छन्

स्वास्थ्यमन्त्रीको आरोप : गोविन्द केसी मेडिकल माफियाद्वारा सञ्चालित छन्

नेपालखबर
मंसिर ९, २०८० शनिबार १५:४४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन्। 

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरूको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत समेत गराएका छन्।

‘म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले। उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ। किन हिँडेको भनेर मैले सोधे। साथीहरूले काम चाहीँ गल्ती थियो। तर हामी हिँड्नैप¥यो,’ बस्नेतले अघि भने, ‘अनि किन हिँड्या भनेको? ज्यान जोगाई दिन मान्छे मर्न लाग्यो भनेर। त्यस्तो पनि कुरा हुन्छ। कन्भिन्स गर्नुप¥यो नि। यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ। अब हामीले यो काम गर्नु हुँदैन। तपाई आफू ठिक मान्छे हो। तर तपाईलाई संचालन गर्ने गिरोहहरू गलत छ भनेर भन्न किन नसक्ने? अब भन्नुपर्छ तपाईंहरूले।’

वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी दिँदै उनले नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको जिकिर गरे। 

राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडांैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए। 

‘मैले क्याबिनेटमा यो कुरा लगेँ। कार्यक्रम एकदमै राम्रो भन्नुभयो सम्माननीय प्रधानमन्त्रीज्यूसहित सबै मन्त्रीज्युहरूले। लागू कसरी गर्ने त्यो चाहीँ हेर्नुपर्छ भन्नुभयो। कानुन त हामीले बनाउने हो नि। यदि यो प्रस्ताव ठिक छ भने कानून त्यो अनुसार बनाउन किन कन्ज्युस्याँई गर्ने? त्यहाँ पनि फेरि गिरोहहरूको खेल हुन्छ। कुरा क्लियर छ। मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ कहाँ पर्छ? त्यहाँबाट खेल्न थाल्छन,’ उनले भने।

उनले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पटकपटक आग्रह गरे।

‘नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो। हामी हिँडिराखेका छौँ,’ उनले भने।

देशलाई मडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्ने उनले बताए।

‘अहिलेको हिसावले हो भने ५ वर्ष पछि यो देशमा डाक्टर र नर्स पाइँदैन। र, मेरो प्रस्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन। यो प्रस्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरू संसारभर हामी पठाउन सक्छौँ। अहिले हामीले कोरा व्यक्तिहरूलाई विदेश पठाइरहेका छौं। सारा बर्बाद गरेका छौं। कोरा व्यक्तिलाई विदेश पठाएर। यसैकारण ठगिएका छन हाम्राहरु। बदनाम भएका छन्। आम्दानी राम्रो हुँदैन। तर हामीले योग्य, दक्ष मानिसहरू जाँदाखेरी त्यसको सम्मान अर्कै हुन्छ। राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ। तर हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्नेछौं मेडिकल शिक्षामा। यो किन नगर्ने?,’ बस्नेतले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .