समाज


विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई पुरस्कार!

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई पुरस्कार!

घटनास्थल


नेपालखबर
माघ २६, २०८० शुक्रबार ११:४७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने प्रहरीलाई विमानस्थल सुरक्षा कार्यालयले पुरस्कार दिएको छ।

कुटाकुटमा संलग्न ४ प्रहरीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको थियो। तर तिनैमध्येका दुई जनालाई सम्बन्धित प्रहरी कार्यालयले भने पुरस्कार प्रदान गरेको हो। 

प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले उनीहरुलाई पुरस्कार दिने निर्णय गरेका हुन्।

विमानस्थल प्रहरी स्रोतका अनुसार प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, सहायक निरीक्षक (असई) सञ्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्कृत गरेका हुन्।

चौधरीलाई १ हजार २००, तामाङलाई १ हजार १०० र गुप्तालाई ८०० रुपैयाँसहित पुरस्कृत गरिएको छ। पुरस्कारको विवरण अभिलेखमा समेत जनाउन राष्ट्रिय प्रहरी किताब खानामा पठाइएको छ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले उनीहरुलाई कारबाही गर्न सिफारिस गरेपछि डीआईजी चन्द असन्तुष्ट बनेका थिए। समितिले उक्त घटनामा प्रहरीको कमजोरी औंल्याउँदै चार प्रहरीलाई कारबाही गर्न र प्रहरीलाई हातपात गर्ने अध्यागमन अधिकृत छाया मोक्तानलाई मन्त्रालय तान्न सिफारिस गरेको थियो।

समितिले विमानस्थलमा कार्यरत डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतोलाई कारबाहीको सिफारिस गरेको थियो। 

समितिको यो सिफारिसमा असन्तुष्टि जनाएका डीआईजी चन्दले राजीनामा समेत दिएका थिए। तर प्रहरी प्रधान कार्यालयले उनको राजीनामा अगाडि नबढाई फिर्ता गरिदिएको थियो। चन्दलाई राजीनामा फिर्ता गर्न र तत्काल विमानस्थलबाट सरुवा गर्ने बताएपछि चन्द १० दिनको बिदामा छन्। 

यहीबीच उनलाई सरुवा गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .