ad ad

समाज


मुस्लिम युवती तबस्सुम सिद्दिकी जसले हिन्दु वास्तुकलामा गरिन् पीएचडी

‘हिन्दु र मुस्लिम समुदायले मान्ने भगवानका नाम फरक होलान्, मन्दिर र मस्जिदको नाम समान अक्षरबाट सुरु हुन्छ’
मुस्लिम युवती तबस्सुम सिद्दिकी जसले हिन्दु वास्तुकलामा गरिन् पीएचडी

तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
माघ २६, २०८० शुक्रबार १७:१६, काठमाडौँ

डा. तबस्सुम सिद्दिकी हुर्किएको समाज छोरीका लागि उदार थिएन। उनीसँगै हुर्किएका मुस्लिम समुदायका थुप्रै छोरीहरूले स्कुलसमेत जान पाएनन्। आफ्नी छोरीलाई स्कुल पठाउँदा तबस्सुमका बुवा पूर्वन्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले पनि अनेक प्रश्नको सामना गर्नुपर्‍यो। 

‘बुवाले समाजका प्रश्नको परवाह गरेको भए मेरो सपनाको पखेटा उहिल्यै काटिन्थ्यो,’ आर्किटेक्ट इन्जिनियर तबस्सुम भन्छिन्, ‘अहिले म मुस्लिम समुदायका अन्य छोरीहरूजस्तै घरव्यवहारमा रुमल्लिरहेकी हुन्थेँ।’

तबस्सुमलाई राम्रोसँग याद छ, उनका सहपाठीहरूका लागि पढाइलाई निरन्तरता दिन कति कठिन थियो। ‘मभन्दा पछि तल्लो क्लासमा एक जना भर्ना हुनुभएको थियो। कक्षा ५ तिर पुग्दानपुग्दै उहाँले पनि स्कुल छोड्नुभयो,’ उनले सुनाइन्।

स्कुलमा अन्य समुदायका शिक्षक-विद्यार्थीसँग घुलमिल गर्न तबस्सुमलाई गाह्रो थियो भने समाजमा उनका बुवा सलाहुद्दिनलाई।

समाज सलाहुद्दिनलाई बारबार प्रश्न गर्थ्यो, ‘के सोचेर छोरीलाई स्कुल पठाउँदै छौ?’ 

सलाहुद्दिन जवाफ दिन्थे, ‘छोरा र छोरीमा के भिन्नता छ?’ 

कानुन व्यवसायी बुवाले दुई छोरीको शिक्षाका लागि सामना गरेका प्रश्नलाई नियाल्दै हुर्किएकी तबस्सुमले सपना देखिन्, ‘मुस्लिम छोरीहरूलाई हेर्ने समाजको नजर परिवर्तन गर्छु।’ 

उनका बुवा छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्थे। त्यही चाहनाले उनले जेठी छोरी तबस्सुमलाई भारतको नैनीताल लगेर स्कुल भर्ना गरिदिएका थिए। पढ्दापढ्दै तबस्सुम बिरामी परिन्। त्यसपछि नेपालगन्ज फर्किन्। सलाहुद्दिनले उनलाई अंग्रेजी माध्यमको निजी स्कुलमा भर्ना गरिदिए।  

बाबुले नै लड्नुपरेको समुदाय तबस्सुमका लागि त झन् असहज थियो। तर, स्कुल भने उनका लागि सहयोगी भइदियो। फरकफरक समुदायका साथीहरूको मित्रवत् व्यवहारका कारण तबस्सुमलाई फराकिलो संसारमा उडान भर्न सहज भयो। 

भन्छिन्, ‘उनीहरू सहयोगी थिए। तर, मनको कुनै कुनामा असहजता सधैँ रहिरह्यो।’ 

विद्यालयबाटै तबस्सुमले देखेको एउटै सपना हो, आर्किटेक्ट इन्जिनियर।

वरिपरि हेरेर उनी बेलाबेला डराउँथिन्, गल्थिन्। गलेको दिन भावनात्मक काँध थाप्ने उनका बुवा थिए। त्यसैले उनको पढ्ने र आफ्नो समुदायमा उदाहरण बन्ने यात्रा रोकिएन। छोरीले हरेस खाएको दिन सलाहुद्दिन भन्थे, ‘कुनै पनि बहानामा आफ्नो यात्रा नरोक्नू। सपना पूरा गर्न जहाँ पुग्नु परे पनि पुग्नू। तर, आफ्नो संस्कृति नभुल्नू।!

सलाहुद्दिनको यही हिम्मतले काम गर्‍यो।

उनले सन् २००४ मा वास्तुशास्त्रमा स्नातक सकिन्। दुई वर्षपछि स्नातकोत्तर पूरा गरिन्। यसबीचमा उनले पाकिस्तानमा हिन्दु वास्तुमा आधारित प्राकृतिक चिकित्सासम्बन्धी अस्पतालको डिजाइन पनि गरिन्।

तबस्सुमले अहिले नेपाल संस्कृत विश्वविद्यालयबाट वास्तुकला विषयमा विद्यावारिधि गरेकी छिन्। स्नातकोत्तरमा इन्टेरिअर डिजाइनमा शोध गरेकी उनले विद्यावारिधि ‘हिन्दु वास्तुशास्त्र तथा इस्लामिक वास्तुकलाबीच तुलनात्मक अध्ययन र समकालीन नेपाली वास्तुकलामा त्यसको प्रभाव’ शीर्षकमा गरेकी हुन्।

यस विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो मुस्लिम महिलाको कीर्तिमान पनि उनले बनाएकी छन्।

आफू बस्ने समाज नबुझी कुनै पनि क्षेत्रमा प्रगति गर्न सकिँदैन भन्ने बुवा सलाहुद्दिनले नै सिकाएका हुन्। त्यसैले तबस्सुमले हिन्दु वास्तुकलामा अध्ययन र चाख बढाइन्। प्रत्येक वास्तु संरचनामा हाम्रो शास्त्र र कला खोज्न थालिन्। भवन निर्माण गर्दा होस् वा आन्तरिक सजावटको काम गर्दा, त्यसका लागि उनी पहिला शास्त्रतर्फ फर्किन्छिन्। अनि त्यसमा कलात्मकता भर्न रूचाउँछिन्। 

शास्त्रले ज्ञान र आत्मबल दिन्छ, कलाले रचनात्मकता र सन्तुष्टि। त्यसैले हाम्रा धेरै पुराना वास्तु सम्पदा आज पनि राष्ट्र अनि समाजका चिनारी बनेर रहेका छन्।

आफ्नो मुलुकको कला-वास्तुकलाबारे मुस्लिम राष्ट्रका जनतालाई सुसूचित गराउने तथा मुस्लिम कला–संस्कृतिलाई नेपालीमाझ परिचित गराई आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले तुलनात्मक अध्ययन गरेको तबस्सुम बताउँछिन्। 

भन्छिन्, ‘म जन्मिएको मुस्लिम समुदाय र मैले संगत गरेको हिन्दु समुदाय दुवैप्रति मेरो प्रेम छ। दुवै समुदायको वास्तुशास्त्रमा थुप्रै समानता छन्। दुवै समुदायले मान्ने भगवानलाई हो। हाम्रा भगवानका नाम फरक होलान्। मन्दिर र मस्जिदको सुरुवात नै समान अक्षरबाट भएको छ।’

हाम्रो प्रश्न थियो- नेपाल हिन्दुबहुल देश भएकाले पेसागत सहजताका लागि यो विषय रोज्नुभएको हो?

उनी भन्छिन्, ‘त्यो पनि हो। आफूलाई कुनै पनि क्षेत्रमा टिकाइराख्न आफ्नो वरपरको वातावरणलाई ध्यान त दिनैपर्छ।’ 

डा. तबस्सुम सिद्दिकीका बुझाइमा, हिन्दुहरूले वास्तुलाई धर्मको रूपमा लिन्छन् तर वास्तवमा वास्तु एउटा कला हो, जसको वर्णन वेद, उपनिषद आदि संस्कृतका ग्रन्थहरूमा पाइन्छ।

उनले वास्तुशास्त्रलाई वैदिक डिजाइनको संज्ञा दिएकी छन्, जसलाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छिन्। त्यसैकारण शोधपत्रलाई पनि अंग्रेजी भाषामा लेखेकी छन्। संस्कृत विश्वविद्यालयमा प्रायः संस्कृत वा नेपाली भाषामा शोध लेख्ने चलन छ। 

स्नातक गरेपछि उनी कामको खोजीमा थिइन्। नेपालमा काम पाइनन्। काम गर्न लखनउ पुगिन्। ५ वर्ष त्यहाँ काम गरिन्। तर, सन्तुष्ट हुन सकिनन्। उनलाई आफू जन्मिएको देशमै पहिचान बनाउनु थियो। त्यसपछि स्वदेश फर्किइन्।

स्वदेशमा फेरि पनि काम नपाउने समस्या नै सामुन्नेमा आयो।

‘एक त छोरी मान्छे, त्यसमाथि पनि म मुस्लिम समुदायको छोरी,’ उनले आफ्ना भोगाइका पत्र खोलिन्, ‘मैले पढेको छु, ममा सीप छ। तर क्षमतामाथि प्रश्न उठ्थ्यो। मलाई यो क्षेत्र छोडेर हिँड्न मन लाग्थ्यो। त्यो बेला पनि मेरो बुवा बलियो खम्बा बनेर उभिनुभयो।’

उनले हार खाइनन्। आफूलाई कामबाटै प्रमाणित गर्नु थियो। सीप र क्षमता प्रदर्शन गरेरै विश्वास जित्नु थियो। त्यसका लागि अरूले भन्दा बढी नै मेहनत गर्ने र यही समाजमा केही गरेर देखाउने अठोट लिइन्। 

तबस्सुम चाहन्छिन्, आफ्नो समुदायका छोरीहरूले आफूले जस्तो सपनाका लागि हिँड्ने बाटो अप्ठ्यारो नहोस्। छोराले जस्तै उनीहरू आफ्नै सपना बनाएर हुर्किन पाऊन्। आफ्नै पौरखमा बाँचून्। उनका बलिया पाइतालाको डोबमा हिँडेका ३ भाइबहिनीमध्ये १ जना इन्जिनियर र २ जना डाक्टर छन्। यस्तै मार्ग आफ्नो समुदायका अन्य छोरीहरूका लागि पनि कोर्न चाहेको उनले बताइन्। 

पाटन इन्जिनियरिङ क्याम्पस र कान्तिपुर इन्जिनियरिङ कलेजमा प्राध्यापनरत तबस्सुमले नेपाली वास्तुकलालाई विश्व समुदायमा चिनाउन बेग्लै प्रयास पनि गरिरहेकी छन्। अन्य देशसँग सम्बन्ध प्रगाढ बनाउने सेतु वास्तु, कला र संस्कृति हुन सक्छ भन्ने उनको मान्यता छ। यही मान्यताअनुसार नागरिकस्तरबाट पहल गर्न उनकै नेतृत्वमा मदर फाउन्डेसन नामक संस्था सक्रिय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .