ad ad

समाज


यी चार घटनापछिको प्रश्न- एउटी आमालाई केले बनाउँछ आफ्नै सन्तानको हत्यारा?

यी चार घटनापछिको प्रश्न- एउटी आमालाई केले बनाउँछ आफ्नै सन्तानको हत्यारा?

मनोपरामर्शदाता उमंगजंग शाह र मनोविद् भगवती भट्टराई


राधिका अधिकारी
फागुन ५, २०८० शनिबार १७:४, काठमाडौँ

घटना १ः यसैसाता माघ २७ गते ललितपुरको इमाडोलमा रविना महर्जनले घरको छतबाट हाम फालेर प्राणत्याग पनि गरिन्।

उनलाई छतबाट खसेको देख्ने स्थानीयले प्रहरीको सहयोगमा अस्पताल पुर्‍याएका थिए। तर, उनले आफ्नो प्राण मात्र त्यागेकी रहिनछन्। दुई कलिला छोराछोरीको ज्यान लिएर आफू पनि नबाँच्ने निर्णय लिएकी रहिछन्।

रविनाको उद्धारपछि घरका कोठामा हेर्दा ६ वर्षीय छोरा र २ वर्षीया छोरी पनि अचेत भेटिएका थिए। उनीहरूलाई पनि बचाउने प्रयास सफल भएन। रविनाले सामूहिक मृत्युको निर्णय लिएपछि यो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटना २ः धनुषाकी गुडिया साहले २०७८ असोजमा आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी थिइन्। २४ वर्षीया गुडियाले आफ्ना ५ र ३ वर्षका दुई छोराको डोरीले घाँटी कसेकी थिइन्। घरमा दुवै छोराको ज्यान लिएपछि गुडियाले घरकै दलिनको पंखामा पासो लगाएर आफ्नो पनि ज्यान लिइन्। 

घटना ३ः दैलेखको डुंगेश्वर गाउँपालिकाकी एक महिलाले २०७७ चैतमा आफ्नो ३ वर्षको छोराको हत्यासँगै आत्महत्याको प्रयास गरिन्। २९ वर्षीया हीराले छोराको उमेशको घाँटी थिचेको पाइएको थियो।

घटना ४ः पोखरा, सिर्जनाचोककी सुशीला शर्माले २०७९ जेठमा ७ वर्षकी छोरीको हत्यापछि आत्महत्या गरिन्। सुशीला ३९ वर्षकी थिइन्। सुशीलाले छोरीलाई विष सेवन गराएको र आफ्नो घाँटीमा सलले कसेको अवस्थामा प्रहरीले भेटेको थियो। 

यस्ता समाचार बारम्बार आइरहन्छन्। 

नेपालमा मात्रै होइन, विश्वका अन्य मुलुकमा पनि थुप्रै यस्ता घटना भएका पाइन्छन्।

यी प्रत्येक घटनाको पृष्ठभूमि र सन्दर्भ बेग्लै होला। घटना घटाउने अन्तिम कारण पनि फरक हुन सक्ला। तर, यी घटनाले जन्माउने साझा प्रश्न हो, एउटी आमाले आफ्नै सन्तानको हत्या कसरी गर्न सक्छिन्? किन केही आमाहरू सन्तान र आफ्नो एकसाथ मृत्युको वीभत्स बाटो रोज्छन्?

बिरानो घर, बोल्नै डर
आमाबाट हुने हत्या र आत्महत्यामा समाजको संरचना र परम्परागत मान्यताले धेरै हदसम्म काम गरेको ठान्छन्, मनोविद्हरू। किनभने, समाजमा विद्यमान मातृत्वसम्बन्धी मान्यताले महिलालाई चरम बोझ र दबाब दिइरहेको छ। यसले आमाहरूको मानसिक स्वास्थ्य नराम्रोसँग बिगारिरहेको छ।

हुन पनि बाहिरी शरीरमा देखिने घाउ र छटपटाहट हुँदा त हत्पत्ति महिलाको उपचार प्राथमिकतामा नपर्ने समाज र परिवारमा आँखाले नदेखिने र सहजै अनुभव पनि गर्न नसकिने मानसिक स्वास्थ्यको ख्याल कसले गरिदेओस्?

नेपाली समाजमा आमाको मानसिक स्वास्थ्यलाई बेवास्ता गर्दा नै यस्ता दुर्घटना धेरै भइरहेको मनोविद् भगवती भट्टराई बताउँछिन्।

उनका भनाइमा, नेपाली समाजमा विवाहपछि नै छोरीहरूमा उकुुसमुकुसको अवस्था सिर्जना हुन्छ। तर, आफूमा आएको समस्या कहाँ गएर भन्ने? माइतीमा भन्दा पीर पर्छ भन्ने सोच हुन्छ। माइती पक्षले पनि आफ्नो परिवारको सदस्यका रूपमा लिन छाड्छ र जिम्मेवारीबाट पन्छिने गर्छ।

घरमा त झन् समस्या भन्न सक्ने अवस्था नै कम हुन्छ। समस्या भनिहाले त्यसको उल्टो असर आफैँले भोग्नुपर्ने त्रासमा धेरै महिला बाँचेका हुन्छन्।

यहीबीचमा उसले गर्भवती हुनुपर्छ। अनेक शारीरिक र मानसिक परिवर्तनको सामना गर्नुपर्छ। आर्थिक र पारिवारिक तनावसँगै अरू जटिलता थपिएपछि महिलामा डिप्रेसनले घर गर्छ।

प्रसवपछिका पीडा
आमाले आफ्ना सन्तानको हत्या र आत्महत्या यसैकारणले गर्छन् भनेर ठोकुवा गर्न सकिने अवस्था नरहे पनि धेरै घटनामा पोस्टडेलिभरी डिप्रेसनका कारण हुने गरेको मनोविद् उमंगजंग शाह बताउँछन्। 

उनका अनुसार, सुत्केरी भएलगत्तै सुरु भएको पोस्टडेलिभरी डिप्रेसन लामो समयसम्म रहिरहन सक्छ। यस्तो अवस्थामा बच्चाको रुवाइले आमाहरूलाई तनाव दिन्छ। अरूले बेवास्ता गर्दा ‘जे पनि मैले नै भोग्नुपर्ने किन?’ भन्ने भावना आउने गर्छ। यो भावना दोहोरिरहँदा उनीहरूले मातृत्वको मजा लिन सक्दैनन्। र, बच्चालाई बोझको रूपमा लिने र हत्याको मनःस्थितिसम्म पुग्ने गर्छन्। 

‘कतिपयले बच्चाको हत्यापछि आफ्नो पनि के काम भन्ने सोचेर आत्महत्या गर्ने गर्छन्,’ उनी सुनाउँछन्। 

बच्चा जन्माउनुअघि नै सबै सम्भावित दृश्यबारे विचार गर्न सके यस्तो दुर्घटनाबाट जोगिन सकिने मनोविद् भट्टराई बताउँछिन्। उनकै भनाइमा, नेपालमा बच्चा जन्मिएपछि हुने डिप्रेसनबारे केही वर्षयता चर्चासम्म हुन थाले पनि प्रभावकारी उपचार नपाइरहेका कारण क्षति कम गर्न नसकिएको छैन।

‘आफ्नी आमासँग आफ्नो सम्बन्धबारे छलफल गरौँ,’ भट्टराई भन्छिन्, ‘आफू र आफ्नो पार्टनरबारे आफ्नो भावना के छ, त्यस विषयमा पनि छलफल गरौँ। बच्चा जन्माएपछि कसरी तिमीलाई प्रभावित पार्नेछ भन्ने विषयमा पनि छलफल गरौँ। यो छलफलले पोस्टडेलिभरी डिप्रेसन हुनबाट जोगाउँछ।’

आर्थिक र पारिवारिक समस्या
मनोविद्हरूका अनुसार, मानसिक समस्या मात्रैले पनि आमाले बच्चाको हत्या र आत्महत्याको बाटो समात्ने होइनन्। यसमा पारिवारिक र आर्थिक पाटो जोडिएर आउँछ। 

आर्थिक अवस्थाको कारण भोलि के गर्ने, बच्चालाई कसरी पढाउने, जीवन कसरी निर्वाह गर्ने भन्ने चिन्ताबाट ग्रस्त आमाहरू समस्या समाधानको बाटो खोजिरहेका हुन्छन्। आमाहरू आफ्नो मात्र होइन, बच्चाको पनि मुक्ति चाहन्छन्। म नभएको खण्डमा बच्चाले दुःख पाउँछन् भन्ने चिन्ता हुन्छ। त्यही चिन्ता बढ्दै जाँदा केही आमाहरूले वीभत्स बाटो रोज्छन्।

‘मानिसले आत्महत्या गर्ने कारण थुप्रै छन्,’ मनोविद् भट्टराईको बुझाइ छ, ‘नेपालजस्ता अल्पविकसित तथा गरीब मुलुकमा आर्थिक पछौटेपनलाई आत्महत्याको प्रमुख कारण मानिन्छ। आर्थिक पछौटेपनले निम्त्याउने सामाजिक चिन्तन, चेतनाको स्तर तथा शारीरिक र मानसिक अवस्था नै विश्वमा आत्महत्याको तेस्रो प्रमुख कारणका रूपमा देखिएको छ।’

मनोपरामर्शदाता उमंगजंग शाहका अनुसार, हरेक आमाले समाजलाई आफ्नो आँखाले हेर्ने गर्छन्। उनीहरूमा आफ्ना लागि नभएको समाज, परिवार आफ्नो बच्चाका लागि पनि हुँदैन भन्ने धारणा विकास हुन्छ। धेरै आमाले बच्चालाई आफ्नो शरीरको अंग ठान्छन्। रिसमा आफ्नो बच्चालाई पाटपिट पारेपछि आमाहरू आफैँलाई दुखेझैँ रुन्छन्। पिटिएका बच्चा पनि आमाबाट भागेर टाढा जाँदैनन्, आमाकै छातीमा टाँसिएर रुन्छन्। त्यसैले कतिपय आमाहरूले आफू बाँच्न नसक्ने अवस्था आयो भने आफ्नो बच्चालाई पनि मारिदिने गर्छन्।

समाजमा भएका यस्ता दुर्घटनामा प्रायः साना बच्चा पर्ने गरेका छन्। ‘आमाले आफ्नो २०-२५ वर्षको सन्तान मारेर आफूले आत्महत्या गरेका केस निकै कम छन्,’ शाह थप्छन्, ‘आमाको मनमा जहिले पनि बच्चाप्रतिको जिम्मेवारी मेरो हो भन्ने सोचाइ हुन्छ। म भइनँ भने बच्चाको अवस्था के होला भन्ने भावना आउनु स्वाभाविक पनि हो। बच्चाले दुःख पाउँछ भन्ने मानसिकताले आमाहरूले आफूले आत्महत्या गर्नुअघि बच्चाको हत्या गर्ने गरेको पाइन्छ। समाजको लागि घातक लाग्ने आमाहरूको यो निर्णय आमा स्वयंले भने मुक्तिका रूपमा बुझेका हुन्छन्।’

दोषी को?
नेपालमा प्रतिदिन १५ देखि २० जनासम्मले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ। गत आर्थिक वर्षमा मात्रै ३ हजार ९४२ पुरुषले आत्महत्या गरेका छन्। सोही अवधिमा आत्महत्या गरेका महिलाको संख्या २ हजार २५६ रहेको प्रहरीको तथ्यांक छ। 

तर, बालबच्चा र श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका पुरुषको संख्या न्यून छ। पुरुषको तुलनामा आत्महत्याअघि आफ्ना बच्चाको हत्या गर्ने महिलाको संख्या बढी देखिन्छ। यसका अन्य थुप्रै पाटो भए पनि मुख्य कारण पोस्टडेलिभरी डिप्रेसन हुन सक्ने मनोविद्हरू बताउँछन्।

सुत्केरी भए पनि परिवारको राम्रो साथ, उनीहरूको अवस्थालाई सहज रूपमा स्वीकार गरेर उपचार गर्ने हो भने यस्ता दुर्घटना कम हुने उनीहरूको भनाइ छ।

आत्महत्या भइसकेपछि कारणबारे बढी खोतल्ने गरिन्छ। आत्महत्या मानसिक रोग हो भन्दै दुई दशकयता यसको रोकथाम गर्न विभिन्न प्रयास भइरहेको सरकारी अधिकारीहरू बनिबनाउ जवाफ दिन्छन्। 

आत्महत्याका धेरैजसो कारण मानसिक रोगसँगै जोडिएका मनोपरामर्शदाताहरू बताउँछन्। डिप्रेसनजस्तो मनोदशाबाट गुज्रिरहेको व्यक्तिले संसारलाई कसरी र कुन हदसम्म अन्धकार देख्छ भनेर विविध पक्षलाई केलाउँदा यसलाई आर्थिक, सामाजिक, राजनीतिक तथा स्वास्थ्य सेवा प्रवाह लगायतका थुप्रै पक्षले पृष्ठपोषण गर्ने उनीहरूको भनाइ छ। आमाहरूको आत्महत्यामा पनि उक्त कारकले काम गर्ने गरेको पाइन्छ। 

मानसिक समस्या भोगिरहेकालाई आत्महत्याबाट जोगाउन अत्यावश्यक भए पनि मनोचिकित्सा सेवा आम नागरिकको पहुँचमा पुग्न नसकेको मनोविद् शाहको भनाइ छ। 

‘आमाहरूको मानसिक स्वास्थ्यमा त काम नै गर्न सकिएको छैन,’ उनी भन्छन्, ‘पछिल्लो समय पोस्टडेलिभरी डिप्रेसन भएको थाहा पाएर महिलाहरू मनोपरामर्शका लागि त आउने गरेका छन्। तर, त्यो संख्या अत्यन्तै कम छ।’

परामर्शका लागि आउने महिलामध्ये पनि थोरैले मात्र परिवार साथमा लिएर आउने गरेको अनुभव शाहसँग छ। 

महिलाहरूले आफूमा आएको मानसिक समस्या परिवारमा भन्न नसक्ने उल्लेख गर्दै शाह भन्छन्, ‘मेरो समस्या थाहा पाएको खण्डमा मेरो बच्चा मबाट खोसिदिन्छन्, परिवारबाट एक्लिनुपर्छ। श्रीमान् र परिवारलाई भन्यो भने चुप लाग् भन्छन् भन्ने त्रास पनि छ।’

मस्कोकी मनोविद् मार्गरिटा कचेभाले भनेकी थिइन्, ‘बच्चा बोकेर मुस्कान छरिरहेका आमाहरूका पोस्टरसँगै आमा भएपछि कस्तोसम्म हुन सक्छ भन्नेबारे पनि पोस्टर बन्नुपर्छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .