समाज


बालुवाटार घोटालामा सयभन्दा बढी भ्रष्टाचारी ठहर, अधिकांश मालपोत, नापी, भूमिसुधार र गुठीका कर्मचारी

नक्कली मोहीलाई पनि तोकियो सजाय
बालुवाटार घोटालामा सयभन्दा बढी भ्रष्टाचारी ठहर, अधिकांश मालपोत, नापी, भूमिसुधार र गुठीका कर्मचारी

बालुवाटार जग्गा घोटाला प्रकरणको फैसला सुनाउँदै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्की (बायाँ)। तस्बिरः विशाल कार्की


उजिर कार्की
फागुन ३, २०८० बिहिबार २०:३४, काठमाडौँ

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतले मुख्यतः कर्मचारीहरूलाई दोषी ठहर गरेको छ। यसमा संलग्न बिचौलिया पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

मालमोत, भूमिसुधार, नापी र गुठी संस्थातर्फका सबैजसो प्रतिवादी दोषी ठहर भए पनि भवन निर्माण तर्फका सरकारी कर्मचारीले सफाइ पाएका छन्।

रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मीनबहादुर गुरूङ यस प्रकरणका मुख्य योजनाकार तथा बिचौलियाका रूपमा दोषी ठहर भएका छन्। यिनै तीन जनाका नाममा सबैभन्दा बढी जरिवाना पनि तोकिएको छ।

रामकुमार सुवेदी र शोभाकान्त ढकाल २ वटा कसुरमा दोषी ठहर भएका छन्।

उनीहरूबाट एउटा कसुरमा ७५ लाख र अर्को कसुरमा ८० लाख ४८ हजारका दरले बिगो जरिवाना हुने अदालतको ठहर छ। त्यस्तै दुवै कसुरमा २-२ वर्षका दरले कैद पनि तोकिएको छ।

यस्तै अन्य मुख्य अभियुक्तहरूमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, मुकुन्द्रप्रसाद आचार्य, जगतप्रसाद पुडासैनी, सुनीति राणा, शैलजा राणा, हेमन्त शमशेर, हाटक शमशेर र रुक्म शमशेरलाई २ वर्षका दरले कैद र ७५ लाख रुपैयाँका दरले जरिवाना भराउने फैसला भएको छ।

तत्कालीन मालपोत अधिकृत टीकाराम घिमिरे, हुपेन्द्रमणि केसी, मोहम्मद साविर हुसैनसहित ६ जनालाई ७ लाख रुपैयाँका दरले जरिवाना र ६ महिना कैद सजाय अदालतले सुनाएको छ। 

सरकार जग्गा हात पार्न खडा गरिएका नक्कली मोहीहरू बिलबहादुर महर्जनसमेत ५७ जना र इन्द्रबहादुर थापासमेत १२ जना गरी ६९ जनालाई पनि २ वर्षका दरले कैद सुनाइएको छ। उनीहरूसँग अख्तियारले दाबी गरेअनुसारकै बिगो बमोजिमको जरिवाना पनि असुल्न अदालतले भनेको छ।

तत्कालीन सचिवहरू छविराज पन्त र दीप बस्न्यात पनि यस भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। पन्त खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्मा मन्त्रीसमेत भएका थिए।

बस्न्यात अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त हुँदै प्रमुख आयुक्तसम्म भएका थिए। 

उनीहरू दुवै जनाका नाममा ८० लाख ४८ हजार जरिवाना र २ वर्षका दरले कैद हुने फैसला भएको छ।

यस्तै कर्मचारीहरू प्रेमबहादुर खापुङ, अर्जुन  खतिवडा, शंकरप्रसाद सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमल्सिना, परशुराम पोख्रेल, कृष्णप्रसाद पौडेल, प्रकाश भट्ट र टंक पौडेललाई ८० लाख ४८ हजार रुपैयाँका दरले जरिवाना र जनही २ वर्षका दरले कैद हुने फैसला भएको छ। 

यस्तै श्रीकृष्ण महर्जन, तीर्थमाया महर्जन, द्वारिकामान महर्जन, ग्वाराभाइ महर्जन, मचानानी महर्जन, बाबुराजा महर्जन, रेना गुरुङ, तीर्थमाया महर्जन, कान्छा महर्जन, हर्ष महर्जनलाई मतियारको कसुर गरेको ठहर गर्दै जनही २ वर्ष कैद र अख्तियारले तोकेबमोजिमकै जरिवाना हुने ठहर गरेको छ।

यी सबै जोड्दा १ सय १० जना दोषी ठहर भएको देखिन्छ। तर, कतिपय व्यक्ति दोहोरो कसुरमा दोषी ठहर भएकाले एक सयको हाराहारीले कैद तथा जरिवानाको सजाय पाएको हुन सक्ने र फैसलाको पूर्ण पाठ प्राप्त भएपछि मात्र यकिन हुने विशेष अदालत प्रशासनले जनाएको छ। 

उच्च पदस्थ कर्मचारीहरूमा भूमिसुधार सचिव दिनेशहरि अधिकारीले भने सफाइ पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .