समाज


सीतापाइला घटना : काजीले शंका गरेपछि ईश्वरीले खाएकी थिइन् विष, अदालतमा छ बलात्कारको मुद्दा

सीतापाइला घटना : काजीले शंका गरेपछि ईश्वरीले खाएकी थिइन् विष, अदालतमा छ बलात्कारको मुद्दा

उजिर कार्की
फागुन ९, २०८० बुधबार १८:५२, काठमाडौँ

काठमाडौंको नागार्जुन नगरपालिका ६ भैरवटोलमा डेरा गरी बस्ने एकै परिवारका ४ जनाको बुधबार ज्यान गयो।

५१ वर्षीय राजु घिमिरे भन्ने काजी विश्वकर्माले श्रीमती ईश्वरी श्रेष्ठलाई अरु पुरुषसँग सम्बन्धमा रहेको भन्दै हत्या गरेर आफूले आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ। 

काजीले श्रीमती ईश्वरी, ८ वर्षकी छोरी अनिसा र २ वर्षकी नातिनी सिवानीको हत्या गरेपछि आफन्तलाई टेलिफोन गरेर आफूले तीन जनाको हत्या गरेको बताएका थिए।

त्यसपछि आफू पनि मर्न जान लागेको बताएका उनलाई उद्धार गर्ने प्रयास हुँदा हुँदै पनि सफल भएन। 

घर नजिकैको जंगलमा उनी मृत फेला परे। ईश्वरी श्रेष्ठ र काजी विश्वकर्माले १८ वर्ष पहिले प्रेम बिबाह गरेका थिए। काजीसँग विवाह गर्नु पहिले ईश्वरीले पहिलेका श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी थिइन्। 

पहिलेका श्रीमानबाट जन्मिएका छोरालाई लिएरै उनी काजीसँग आएकी थिइन्। अहिले पनि उनीहरुसँगै बस्दै आएका थिए। पहिलेका श्रीमानबाट जन्मिएका अनिल विदेशमा छन्। बुहारी जेनीभने परिवार सँगै बस्दै आएकी थिइन्। 

सम्बन्धित समाचार

काजीले हत्या गरेकी नातिनी सिवानी अनिल र जेनीकी छोरी हुन्। 

ईश्वरी र काजीको सम्बन्धबाट भने एक छोरा र एक छोरी थिए। १४ वर्षका अनिश र ८ वर्षकी अनिसा उनीहरुका छोरा–छोरी हुन्।

तर अनिसाको आमासँगै हत्या भयो। अनिशलाई भने अरुको हत्या गर्ने बेलामा काजीले नै पसलमा पठाएको पाइएको छ।

हत्यापछि बाबुको भिडिओ सन्देश खिचेको भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए। 

एकअर्काका बाहिरि सम्बन्धलाई  लिएर उनीहरुको बारम्बार झगडा भएको खुलेको छ। २/३ वर्ष पहिले पनि उनीहरुको झगडाले उग्र रुप लिएको थियो। ईश्वरीको अरु पुरुषसँग सम्बन्ध रहेको भन्दै काजीले शंका गर्थे। 

त्यहीकारण घरमा उनीहरुको झगडा चल्यो। झगडापछि ईश्वरीले विष खाएको र अस्पताल लगेर बचाएको समेत पाइएको आफन्तलाई उद्धृत गर्दै प्रहरी अधिकारीले बताएका छन्। 

काठमाडौं परिसरका एक अधिकारीले भने, ‘ईश्वरीले २/३ वर्ष अगाडि पनि झगडा भइसकेपछि विष खाएकी रहिछन्। अस्पताल लगेर बचाइएको रहेछ। त्यसपछि पनि उनीहरूको बारम्बार झगडा भएको सुन्नमा आएको छ। केही मुद्दा त अदालतमा पनि छन्’, उनले भने। 

हत्यापछि रेकर्ड गराएको भिडिओमा पनि काजीले यस्ता कुरा खुलाएका छन्। काजीले काठमाडौंकै एक पुरुषसँग ईश्वरी सम्बन्धमा रहेको बताएका छन्। तर ती पुरुषविरुद्ध ईश्वरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। ईश्वरीको जाहेरीपछि प्रहरी बृत्त स्वयम्भूले उनलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर गरेको थियो। 

माघ अन्तिम साता जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा फैसला हुन बाँकी छ। तर प्रारम्भिक सुनुवाइ पछि ती पुरुषलाई अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ। 

तर बलात्कारको मुद्दा दायर गर्नुपहिले काजीले ईश्वरीलाई तीनै पुरुषसँग सम्बन्धमा रहेको भन्दै झगडा गर्थे। ईश्वरीले अस्वीकार गर्दै आएकी थिइन्। एक दिन काजीले ईश्वरीलाई उनै पुरुषसँग फेला पारे। 

त्यसबेला ईश्वरीले आफूलाई प्रलोभनमा पारेर बलात्कार गरेको बताएकी थिइन्। उनीहरूका म्यासेज र फोटो पनि भेटे। त्यसपछि ईश्वरी र उनको बिबादले उग्ररुप लियो।

त्यसको केही समयपछि ईश्वरीले ती पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिइन्। तर अदालतमा ती पुरुषले ईश्वरीले आर्थिक बार्गेनिङ गरेको समेत पेश गरे। अन्ततः उनी अदालतबाट धरौटीमा छुटेका थिए। 

ईश्वरीले बलात्कारको आरोप लगाएका पुरुष धरौटीमा छुटेपछि पनि उनै व्यक्तिसँग जोडेर काजीले गाली गर्ने गरेका थिए। धरौटीमा ती व्यक्ति छुटेको एक हप्तापछि घटना भयो।

त्यससँगै चितवनका अर्का पुरुषसँग पनि ईश्वरीको सम्बन्ध रहेको भन्दै काजीले उनीमाथि शंका गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .