ad ad

समाज


लाख कमाउन गएका छोरा करोड ‘ब्लडमनी’ तिरेर फर्काउन संघर्ष

लाख कमाउन गएका छोरा करोड ‘ब्लडमनी’ तिरेर फर्काउन संघर्ष

यूएईको जेलमा रहेका भुवन र पहलमान


उजिर कार्की
फागुन १२, २०८० शनिबार १४:२३, काठमाडौँ

ओखलढुंगाको चिसंखुगढीका यमनारायण श्रेष्ठको धेरै समय अचेल काठमाडौँमै बित्न थालेको छ। उनी हरेक दिन दौडधुपमा हुन्छन्। विभिन्न कार्यालय धाउँछन्, नेताहरुलाई भेट्छन्।

बेलुका ललितपुरको भैँसेपाटीस्थित जेठो छोराको डेरा फर्किन्छन् र बास बस्छन्। भोलिपल्ट फेरि उही दैनिकी सुरु हुन्छ। 

यो धपेडी उनले आफ्नो छोराको ज्यान बचाउन गरेका हुन्। यमनारायणका माइला छोरा भुवन २०७४ वैशाख २६ गते रोजगारीका लागि संयुक्त अरब एमिरेट्स (यूएई) गएका थिए। 

‘दुई वर्ष पुगेपछि ०७६ मा आउँदो दसैँमा फर्किन्छु भनेर फोन गरेको थियो। पछि एक्कासि जेल परेको पो खबर आयो,’ यमनारायणले शनिबार बिहान नेपालखबरसँग सुनाए, ‘यहीँ पढ, बनिबुतो गरेर खाओ भनेको। तर के गर्ने एक पटक विदेशै जान्छु, पढेर केही नहुने भो भन्यो।’

लाख कमाउन भनेर विदेश गएको छोरो फर्काउन आधा करोड जुटाउनु पर्ने तनावमा छन् यमनारायण।

त्यहाँ पुगेको दुई वर्षपछि भुवन नेपाली साथीकै हत्याको अभियोगमा पक्राउ परे। अदालतले पनि उनलाई र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरलाई हत्या अभियोगमा दोषी ठहर गर्‍यो। 

नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगरको हत्या गरेको अभियोग उनीहरुलाई थियो। यो मुद्दामा पीडित परिवारले ब्लडमनी स्वीकार गरेका छन्। यदि पीडितले ब्लडमनी अस्वीकार गरेको भए उनीहरुलाई मृत्युदण्ड हुने थियो। ब्लडमनी बापतको रकम बुझाउन नसकेमा पनि मृत्युदण्ड हुनसक्छ। 

तर अहिले भुवन र पहलमानको परिवार आफ्ना सन्तान बचाउन मृतकका परिवारलाई दिने ३ लाख दिराम (करिब एक करोड ८ लाख नेपाली रुपैयाँ) जुटाउनु पर्ने परिबन्धमा छन्। 

यूएईमा रहेका नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरबीच झगडा पर्‍यो। 

२०७६ जेठ २० गतेको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरे। उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भयो। श्रीमानको मृत्युपछि यूएईमै रहेकी बाबुरामकी पत्नी नरिमा आले मगरले प्रहरीमा जाहेरी दिइन्। उनको जाहेरीपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गर्‍यो। अनुसन्धानका क्रममा उनीहरुले पनि हत्या गरेको स्वीकार गरे र अदालतले दोषी ठहर गर्‍यो। 

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरुले अपिल कोर्टमा निवेदन गरेका छन्। माथिल्लो अदालतमा उक्त मुद्दा विचाराधीन छ। 

यही बीचमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच ब्लडमनीमा सहमति जुटेको छ। हत्यामा संलग्न दुई परिवारका तर्फबाट मृतक बाबुरामका परिवारलाई ३ लाख यूएई दिराम (शनिबारको दर अनुसार एक करोड ८ लाख ६३ हजार नेपाली रुपैयाँ) अभियुक्त दुई परिवारका तर्फबाट बुझाउने सहमति भइसकेको छ। 

यूएईको कानुनमा हत्या गरेबापत पीडित परिवारले पैसा स्वीकार गरेमा त्यो पैसा तिरेर अभियोग फिर्ता लिन सकिने व्यवस्था छ। अदालतको फैसला अनुसार उनीहरुले मृत्युदण्डबाट बच्न मृतकका परिवारलाई ३ लाख दिराम तिर्नुपर्ने छ। 

दुई परिवारले डेढलाख दिरामका दरले रकम तिर्नुपर्ने हुन्छ। यो रकम मृतकका परिवारलाई बुझाएपछि अदालतले उनीहरुलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने छ।

ब्लडमनी बापत बुझाइसके साढे २१ लाख
उनीहरुको बीचमा २०७९ वैशाख १६ गते सहमति भएको थियो। सहमति अनुसार दुई परिवारले मृतककी पत्नी नरिमालाई २१ लाख बढी रकम बुझाइसकेका छन्। 

सहमति भएकै दिन पहलमानको तर्फबाट बुबा एकबहादुरले ५० हजार यूएई दिराम बराबरको नेपाली रुपैयाँ १६ लाख ६२ हजार ५ सय रुपैयाँ बुझाइसकेका छन्।

भुवनको तर्फबाट दाइ खेमराज श्रेष्ठले ३ लाख रुपैयाँ त्यसै दिन बुझाए। ५० हजार दिराममध्ये बाँकी १३ लाख ६२ हजार ५ सय रुपैयाँ दुई महिनाभित्रमा बुझाउने सहमति भएको थियो। तर उनले रकम जुटाउन सकेनन्। 

यमनारायण श्रेष्ठ

पछि दुई लाख रुपैयाँ लगेर दिए। उनले ५ लाख रुपैयाँ मात्रै बुझाइसकेका छन्। अरु रकम जुटाउन लागिरहेको भुवनका बुबा यमनारायण श्रेष्ठले बताए। 

बाँकी रकम मुद्दा फिर्ता गर्नका लागि सबै प्रक्रिया पूरा भएपछि दिने सहमति भएको छ। यो रकम बुझिसकेपछि मृतकका परिवारले कुनै पनि मागदाबी नगर्ने सहमति पत्रमा उल्लेख छ।

यूएईको कानुन अनुसार मृतकका परिवारलाई ब्लडमनी बुझाइसकेपछि मुद्दा फिर्ता हुन्छ। त्यसपछि उनीहरु थुनामुक्त भएर नेपाल फर्किन पाउँछन्। 

‘हामी दुई पक्षबीच मुलुकी देवानी संहिता २०७४ को भाग ५ र अन्य प्रचलित नेपाल कानुन तथा यूएईको अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ता लिन लागू हुने सर्तसहित हाम्रो मनोमान खुसीराजीले यो करारनामाको कागजमा सहीछाप गरी एकएक प्रति लियौँ, दियौँ,’ उनीहरुको सहमति पत्रमा भनिएको छ।

भुवनका दाइ खेमराज श्रेष्ठ र पहलमानका बुबा एक बहादुर थापा मगरले कागजातमा हस्ताक्षर गरिसकेका छन्। चाँडोभन्दा चाँडो मुद्दा फिर्ता लिने सहमति पत्रमा उल्लेख छ। 

अब उनीहरुको सहमति अनुसार नेपालमै रकम लेनदेन हुनेछ। कन्सुलर सेवा विभागको रोहबरमा गरिएको लेनदेन काठमाडौँस्थित यूएई दूतावासले प्रमाणीकरण गरेर अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता गर्दै जेलमा रहेका नेपाली रिहाइको प्रक्रिया पूरा हुनेछ।

यमनारायणको हैरानी
माइला छोरा भुवनले विदेश जाने ढिपी गरेपछि यमनारायणले म्यानपावरलाई बुझाउनु पर्ने धरौटी खोजिदिए। ‘म्यानपावरलाई ९० हजार तिरेको हो। उसलाई पठाउन डेढलाख जति खर्च लाग्यो। ऋणपान गरेर पठाएँ। तर त्यहाँ पुगेपछि काम पनि डेन्जरखालको पर्‍यो,’ उनले भने। 

भुवन स्काफोल्डिङको काममा गएका थिए। यमनारायणले सोध्दा ३०/४० तलाका बिल्डिङमा बाहिरबाहिरै झुण्डिएर स्काफोल्डिङ अर्थात् घरको निर्माण तथा मर्मतका लागि चाहिने अस्थायी संरचना बनाउने काम गर्नु पर्ने बताउँथे। काम जस्तो भए पनि फोन गरिरहन्थे, यमनारायणलाई ढुक्कै थियो। 

पक्राउ पर्नुपहिले उनले अब दुई वर्ष भयो, छिटो आएँ भने असारमा, नभए दसैँमा आउँछु भनेका थिए।

तर जेठको तेस्रो साता यमनारायणले नराम्रो खबर सुने।

‘मेरो भतिजाले काका एकछिन यहाँ आउनू भनेर बोलायो। जम्मा भैयो, भनौँ कि नभनौँ काका भन्यो। मैले हुने कुरा भए भन् नहुने कुरा भए नभन् भनेँ। भाइ त जेलमा परेछ भन्यो,’ उनले सुनाए, ‘त्यसपछि त हामी अन्धा न धुन्ध भयौँ। यत्तिका वर्ष भैसक्यो पहल गरेको, केही गर्न सकिएको छैन। अहिले बल्ल सबै जना निकालिदिन मद्दत गरिरहनु भएको छ।’

ब्लडमनी बापत सुरुमै ५० हजार दिराम दिने कागज गरे पनि रकम नहुँदा पूरै दिन नसकेको उनले बताए। उनीहरुले भुवन बचाउ अभियान सञ्चालन गरेर  अहिले सहयोग जुटाइरहेका छन्। 

यस्तै उनका छोरा भुवन र पहलमानलाई बचाउन संसदमा पनि कुरा उठेको छ। ओखलढुंगाका सांसद रामहरि खतिवडाले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनीहरुको ज्यान बचाउन सरकारले पहल गर्नु पर्ने माग गरेका छन्। ब्लडमनी नतिरे मृत्युदण्ड हुने भन्दै सांसद खतिवडाले उनीहरुलाई सकुशल फिर्ता ल्याउन पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .