ad ad

समाज


महानगरकी अधिकृतको आरोप : मेयर बालेन्द्रले भर्‍याङमा बस्न बाध्य पारे, मानसिक यातना दिए

महानगरकी अधिकृतको आरोप : मेयर बालेन्द्रले भर्‍याङमा बस्न बाध्य पारे, मानसिक यातना दिए

नेपालखबर
फागुन १६, २०८० बुधबार १७:१३, काठमाडौँ

काठमाडौं महानगरपालिकाकी एकजना कर्मचारीले मेयर बालेन्द्र साह ‘बालेन’ले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन्। 

महानगरकी आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले लामो समयदेखि मेयर साहले बिनाकारण जिम्मेवारीविहीन बनाएर मानसिक यातना दिएको आरोप लगाएकी हुन्।

आफू यसबारे लामो समयदेखि मौन रहे पनि बाध्य भएर पहिलो पटक सामाजिक सञ्जालमै बोल्नुपरेको उनले बताएकी छन्। 

सामाजिक सञ्जाल फेसबुकका आफ्ना भनाइ सार्वजनिक गरेकी उनले आफूलाई जिम्मेवारी दिन पटक पटक प्रमुख प्रशासकीय अधिकृत, महानगर प्रशासन प्रमुख र प्रशासन महाशाखा प्रमुखलाई आफ्नो समस्या राख्दा सुनुवाइ नभएको बताएकी छन्।

महानगरपालिकामा काम गर्न नदिने भए अन्य ठाउँमा काम गर्ने स्वीकृति खोज्दा प्रमुख प्रशासकीय अधिकृतले फाइल कार्यपालिकामा लानै नदिएको उनको गुनासो छ।

उनले महानगरको कानुनी पाटो हेर्ने जिम्मेवारी आफ्नो भए पनि लाखौँ तलब खुवाएर मेयरले आफ्नो सचिवालयमा वकिल र अन्य कर्मचारी भर्ती गरेको बताएकी छन्।

‘मैले पटक पटक जिम्मेवारी माग्दा पनि सुनुवाइ हुन सकेको छैन’,  उनले भनेकी छन्, ‘ तलब दिएको छ, घरमा टिकटक बनाएर बस्नुहोस् भन्ने जवाफ आउने गरेको छ।’

उनले कानुन विभागमा स्थायी कर्मचारीहरू हुँदा पनि मेयर साहले मोटो रकम खर्चिएर आफूनिकट वकिलहरूलाई करारमा राखेको पनि बताएकी छन्।

महानगर प्रमुख साहले दरबन्दी नभएको ठाउँमा पनि आफूभन्दा २ तह जुनियरलाई राखेर हाजिर गर्न बाध्य पारेको उनले बताइन्। प्रशासनमा चरम राजनीतिकरण गरिएको आरोप पनि उनको छ।

‘कुनै कर्मचारीलाई ३० वर्षसम्म एउटै सेवामा एकै कुर्सीमा  दरबन्दी नहुँदा पनि प्रसासन सुधारका नाममा राख्ने, कुनै कर्मचारीलाई लामो समयदेखि आफूभन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर कामै गर्न नदिने नियत पक्कै बुझ्ने कोही त प्रशासक आउनु होला’, उनले भनेकी छन्, ‘२ तह जुनियरको मातहतमा हाजिर गराएर राखिनु क्यान्सर पीडित महिला कर्मचारीलाई दिने ठूलो मानसिक यातना हो। दिनभर काम नगरी भर्‍याङमा वा घरमा बस्न बाध्य पारिएको छ। घरमा बस्दा अफिसबाट छड्के हुने र जागिरबाट नै बर्खास्त गर्ने डर त्रास  छ।’

उनले अहिले पनि काठमाडौं महानगरमा कानुनतर्फ दरबन्दी खाली राखिएको बताइन्। 

‘अहिले कामपामा कानुनको दरबन्दी खाली राखिएको छ। कानुनमा काम गर्न मोटो रकम दिएर आफूनजिकका वकिलको जम्बो टोली मेयरले करारमा नियुक्ति गर्नु भएको छ। जसको प्रसासनिक खर्च वार्षिक लाखौँ हुन्छ’, उनले भनेकी छन्, ‘आफ्नो स्थायी कर्मचारीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टर्चर र कार्यलयगत हिंसा गर्नुको कारण के होला?  मानवताको नाताले उत्प्रेरित गरि काम गर्न दिनुको साटो मनोबल गिराएर,  त्यही काम गराउन करारमा जम्बो टोली कानुनी सल्लाहकार नियुक्ति गर्नु कति जायज होला?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .