ad ad

समाज


सहरभरि लुगा डुलाएर गलेको काँधमा बालेनका प्रहरीको लाठी र बुट

घाइते सडक व्यापारी भन्छन् : अस्पताल लैजानुको सट्टा कुट्दैकुट्दै टेकु पुर्‍याए
सहरभरि लुगा डुलाएर गलेको काँधमा बालेनका प्रहरीको लाठी र बुट

घाइते बद्री देवकोटा। तस्बिर : सरोज बैजु


राधिका अधिकारी
फागुन १८, २०८० शुक्रबार १७:३७, काठमाडौँ

जीवन गुजारा गर्ने अर्को कुनै विकल्प भेटेको भए नुवाकोटका बद्री देवकोटा उहिल्यै काठमाडौँ महानगरको फुटपाथ छोडेर हिँडिसक्थे। पारिवारिक जिम्मेवारीले लथ्रक्क गलेका काँधमा लुगाको भारी बोकेर हिँड्नु उनको रहर होइन। 

‘परिवारलाई खान पुग्नेसम्मको आम्दानी हुने कुनै रोजगारी पाएको भए महानगरको धपाइ, बटुवाको हप्काइ, बाटोको धुलो खाएर सडक किनारमा किन चिच्याउँदो हुँ!’ शुक्रबार बिहानको भेटमा नेपालखबरसँग देवकोटाले भने। 

सानैबाट अभावको आगोमा रापिँदै हुर्किएका बद्री परिवारको भोक मेट्न सहर पसेको दुई दशक बित्यो। यी दुई दशकमा सहरको रङ फेरियो, कयौँ पटक सरकार फेरिए, उनीहरूले दिने आश्वासनको किसिम फेरियो। तर, फेरिएन बद्रीको दुःखको कथा। 

उनका बुवालाई उमेरमै बाथ रोगले चाप्यो। जसका कारण उमेरमा विवाह गर्न पाएनन्। ४० वर्षको उमेरमा विवाह गरे पनि उनका ६ सन्तान भए। जेठी छोरीको बाल्यकालमै मृत्यु भयो। त्यसपछिका ५ सन्तानमध्येका जेठा छोरा हुन् बद्री। 

परिवारको आर्थिक अवस्था मजबुत थिएन। आफ्नो घर–खेत पहिरोमा पुरिएपछि रसुवाबाट नुवाकोट पसेका बद्रीको परिवारले मेलापात गरेर चल्नु पथ्र्यो। घरको काम गर्न सक्ने उनका बुवा चिरञ्जीवी देवकोटा एकदिन भिरबाट लडे। ढाड भाँचियो। हिँडडुल गर्न पनि अरुले सहारा दिनु पर्ने भयो। बद्रीकी आमाले गाउँघरको ओखतीमुलो गरिन्। तर, भाँचिएको ढाडको हड्डी जोडिएन। अस्पताल ल्याएर उपचार गर्न सक्ने अवस्था थिएन। २०६९ सालमा चिरञ्जीवीको मृत्यु भयो। 

बद्रीलाई पढ्न मन थियो। राम्रो जागिर खान मन थियो। राम्रो अस्पतालमा लगेर बुवाको उपचार गर्न मन थियो। तर, उनले स्कुल तहको पढाइ पनि पूरा गर्न पाएनन्। उनकी आमाले मेलापात गरेर १० कक्षासम्म पढाइन्। हुर्किंदै जाँदा आमाको दुःख हेर्न सकेनन्। पढाइ छोडेर पारिवारिक जिम्मेवारी उठाए। गाउँका अरु केटाकेटी स्कुल जाँदा उनी मेला जान्थे। मेलापात नगरे परिवारको पेट भरिँदैनथ्यो। 

‘पढ्नभन्दा पनि खानाको जोहो गर्नुपर्छ भन्ने कुराले स्कुल छोडियो,’ बद्रीले पुराना दिन सम्झिए। 

गरिबहरूले पनि पेटभरि खान पाउँछन्, उनीहरूका छोराछोरीले पनि पढ्न पाउँछन् भन्ने सपना देखाएर उनलाई माओवादीले लिएर पनि हिँडे। तर, उनले नेतृत्व गर्नेहरूको उदेश्य त्यो देखेनन्। त्यसपछि माओवादी चटक्क छोडेर काठमाडौँ आए। काठमाडौँमा उनका मामाका छोरा बस्थे। थानकोटमा उनको मसला उद्योग थियो। त्यहीँ डेलिभरीको काम गरे। बद्रीका दाजु नै ऋणमा डुबेका रहेछन्, ५ महिना काम गर्दा पनि पैसा पाएनन्। मसला डेलिभरीको काम पनि छोडे। 

देशमा २०६२/२०६३ को आन्दोलन चर्किएको थियो। बद्री कामको खोजीमा थिए। उनका अर्का दाइले सुझाए, ‘२० हजार पैसा जम्मा गर, दुई भाइ मिलेर घरघरमा लगेर कपडा बेचौँ।’ 

बद्री गाउँ फर्किए। ५ जनासँग सापटी लिएर २० हजार जुटाए। त्यसपछि काठमाडौँको महाबौद्धमा गएर नयाँ तन्ना किने। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रत्येक चोक, चौतारा र बस्तीहरूमा पुगे। अहिले पनि साँझबिहान फुटपाथ व्यवसाय गर्ने बद्री दिनभरि घरघरमा कपडा डुलाउँदै हिँड्छन्। 

कपडा बेच्न थालेको ४ वर्षपछि सुन्धाराको सडकपेटीमा लुगा बेच्न थालेका बद्री सुरुमा त व्यापारीबाटै लखेटिए। उनीहरूसँग दोस्ती गरेर सडकपेटीमा व्यापार गर्न बेग्लै संघर्ष गर्नु परेको बद्री सुनाउँछन्। उनका दुई छोराछोरी छन्। भाइहरू आफैं गरिखान सक्ने भए। पारिवारिक जिम्मेवारी खुम्चियो। बद्रीले कयौँ पटक सोचे, ‘राम्रो सटर लिएर पसल गरौँ कि!’

तर, उनले सोचेको जस्तो सहज थिएन। महँगो सटर भाडा, त्यो पनि पहिला नै ९/१० लाख डिपोजिट गर्नुपर्ने। उनीसँग यति ठूलो रकम थिएन।

‘सटरलाई पहिले नै लाखौँ डिपोजिट राख्नुपर्ने हुन्छ। कसरी सक्नु? सकेको भए आफ्नो कमाइ सम्मानजनक रुपमा खान हरकसैलाई मन हुन्छ,’ बद्री बह पोख्छन्।

यसअघि पनि महानगरले लखटेको थुप्रै घटना छन्। तर, अमानवीय व्यवहार भने नभएको बद्री सुनाउँछन्। 

भन्छन्, ‘महानगर प्रहरी आउँथे। यहाँ पसल नराख, मानिसलाई हिँड्न असहज भयो भन्थे। हामी आफ्ना सामान पोका पारेर भाग्थ्यौँ। फेरि आउने पसल राख्ने अरुको जस्तै मेरो कथा पनि उस्तै हो। तर, हात हाल्ने, मुख छाड्ने र सामान लैजाने पहिला हुँदैनथ्यो। सामान लैजाने क्रम पनि बालेन आएपछि सुरु भएको हो।’

बुधबार राति पौने ८ बजे काठमाडौँ नगर प्रहरीको एक जत्थाको आक्रमणमा परी सख्त घाइते भएका बद्री बालेनसँग गाँसिएर आफूले देखेको सपना सम्झिरहेका थिए। 

‘भोट माग्ने बेला बालेनले गीत गाउनु भयो– ‘गरिबको चमेली बोल्दिने कोही छैन।’ हामीले सोच्यौँ अब हाम्रा लागि बोल्ने मान्छे आउने भए। हामीले यहाँ भोट हाल्न पाउँदैनथ्यौँ तर उहाँले जित्नु पर्छ भनेर बोल्यौँ। समर्थन गर्‍यौँ। आज बोल्नुपर्ने दिन आएपछि यो हालत भएको छ,’ शरीरका नीलडाम देखाउँदै उनले भने। 

‘योजना बनाएर कुटियो’
राति ७ः३० बजेपछि मात्रै आफूहरू व्यापारका लागि सामान बोकेर सुन्धारा पुगेको नगर प्रहरीको आक्रमणमा घाइते भएका अर्जुन भट्टराईले बताए। 

‘हिजोअस्ति सामान जफत गर्न आउने नगर प्रहरी बुधबार राति एक्कासि आक्रमणमा उत्रिए, भाग्न समेत भ्याइएन, लखेटी लखेटी कुटे,’ अर्जुनले सुनाए। 

यसअघि माघ ७ गते पनि उनीहरूका थुप्रै सामान खोसिए। महानगर प्रहरीले खोसेको सामान पनि पछिल्लो समय व्यापारीलाई फिर्ता नदिने गरेको बद्रीले सुनाए।

भन्छन्, ‘पहिला जफत गरेको सामान अनुसारको बिल दिन्थ्यो। त्यो अनुसारको जरिवाना तिरेपछि फिर्ता पाइन्थ्यो। अहिले फिर्ता पाइँदैन।’ 

माघ ७ गते प्रहरीले आफ्ना थुप्रै सामान खोसेपछि सुन्धारा क्षेत्रमा व्यापारीले थोरै सामान मात्रै बोकेर आउने गरेको सुनाए।

‘पौने ८ बजेतिर हामी सधैँ थोरै–थोरै सामान ल्याएर बेच्ने गर्थ्यौँ। उनीहरूले पनि देख्दै आएका थिए। अस्ति त जम्बो टोली आएर थर्काउन थाल्यो। हामीले कुरा गर्न पनि पाएनौँ। हामीमाथि लाठी हानियो। समातेर गाडीमा हालेपछि बुट बजारियो। हामीमाथि अन्धाधुन्ध आक्रमण भयो,’ बद्रीले सुनाए। 

किन एक्कासि लाठीचार्ज गरियो भन्ने प्रश्नमा बद्रीले भने, ‘उहाँहरूको आफूखुसी व्यवहार हुन्छ। सधैँ त्यहीँ बसेको देख्दा नगर्ने, अस्ति चाहिँ किन त्यस्तो गर्नुपर्‍यो? हामीलाई केही थाहा छैन।’

उनका अनुसार लाठीचार्जपछि नगर प्रहरीहरूले घाइते सडक व्यवसायीलाई अस्पताल लग्नुको साटो भ्यानमा हालेर टेकु कार्यालय लगेका थिए। 

‘उनीहरूले हामीलाई भ्यानभित्रै यातना दिँदै जमल, थापाथली हुँदै लामो बाटो घुमाएर टेकुको नगर प्रहरी कार्यालय लगे। बाटोभरि लाठी र बुटले हान्दै टेकु लगेका हुन्,’ बद्रीले सुनाए।

यही आक्रमणमा घाइते भएकी नानीमाया बस्नेतलाई डाक्टरले १ महिना बेड रेस्ट गर्न भनेका छन्। नेपालखबरको सम्पर्कमा आएकी उनले आफ्नो धेरै बोल्न सक्ने अवस्था नरहेको म्यासेज मार्फत बताएकी छिन्। बद्री र नानीमाया सख्त खाइते भएका छन् भने अन्य केही व्यापारी सामान्य घाइते भएको बद्रीले बताए।

यता, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने प्रतिरक्षाका लागि लाठी चार्ज गर्नुपरेको जिकिर गरेका छन्।

पाण्डे भन्छन्, ‘फुटपाथ व्यवसायीहरूले आक्रमण गरेपछि के गर्नु त? हामीले प्रतिकार मात्रै गरेका हौँ। हामीले घाइतेलाई होइन, आक्रमण गर्नेहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हौँ।’

‘हामीलाई हमला भएको कसैले नदेख्ने, उनीहरूलाई हामीले धपाउँदा बबण्डर हुने?’ पाण्डे उल्टै प्रश्न गर्छन्।

सुन्धारा क्षेत्रमा सडक व्यापार नगर्न १ महिना अघिदेखि माइकिङ गरेर सचेत गराउन थालेपछि नै व्यापारीहरूले नगर प्रहरीलाई गाली गर्न थालेको पाण्डेको भनाइ छ। 

‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुंगा प्रहार भयो। यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो। कसैमाथि दमन गर्ने वा धरपकड गर्ने काम हामीबाट भएको छैन। त्यो हाम्रो काम पनि होइन,’ पाण्डेले सुनाए। 

पाण्डेको यो दाबी मान्न व्यापारी तयार छैनन्। नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको ज्यादतीबाट उम्कन यस्तो तर्क गरेको बद्री बताउँछन्। 

‘हामीले उनीहरूलाई कुटेको भए, कानुनविपरीत काम गरेको भए हामी कानुन अनुसार सजाय भोग्न तयार थियौँ। गिरफ्तार गरेर गाडीमा हालिसकेपछि पनि किन हामी माथि बुट बजारियो?’ बद्री अगाडी थप्छन्, ‘उहाँहरूको एक प्रहरी सामान्य घाइते भएका हुन्। उहाँहरूले भनेको जस्तो रड र ढुंगा प्रहार गरेको भए खै त उहाँहरूको शरीरमा चोट?’ 

सस्तो लोकप्रियताका लागि मान्छेलाई अमानवीय व्यवहार नगर्न महानगर प्रहरीलाई बद्री अनुरोध गर्छन्।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ केन्द्रीय समितिले पनि महानगर प्रहरीले गल्ती गरेको भन्दै महानगरपालिकाले कारबाही गर्नुपर्ने माग गरेको छ। संघ अध्यक्ष माया गुरुङ आक्रमण गर्नेलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरूको सामान लुट्नेजस्ता आपराधिक कार्यप्रति काठमाडौँ महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नुपर्ने बताउँछिन्।

सन्ध्याकालीन बजार व्यवस्थापन महानगरले गर्नुपर्ने भन्दै संघले महानगरभित्र सस्तो नागरिक बजार व्यवस्था गर्न, श्रम डेस्क व्यवस्था गरी श्रमिकहरूको सूचीकरण र व्यवस्थापनका लागि संघसहित सरोकारवाला सम्मिलित कार्यदल गठन गर्न पनि माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .