ad ad

समाज


जीबी राईलाई डिपोर्ट गर्न मलेसियाले माग्यो कूटनीतिक पत्र

जीबी राईलाई डिपोर्ट गर्न मलेसियाले माग्यो कूटनीतिक पत्र

उजिर कार्की
फागुन २१, २०८० सोमबार १७:५१, काठमाडौँ

सहकारीका बचतकर्ताको अर्बौं रकम ठगेर फरार भएका जीबी भन्ने गितेन्द्रबाबु राईलाई डिपोर्ट गर्न मलेसियाले कूटनीतिक पत्र मागेको छ। नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएर उनलाई नेपाल फर्काउने प्रक्रिया अपनाएको थियो। 

तर, मलेसियाले त्यसैका आधारमा मात्रै पठाउन नमानेको हो। मलेसियाले नै कूटनीतिक माध्यमबाट पत्र प्राप्त भए उनलाई डिपोर्ट गर्न सहज हुने बताएपछि नेपाल प्रहरीले गत साता परराष्ट्र मन्त्रालय मार्फत उक्त पत्र पठाइसकेको छ।

करिब १० दिनअघि मलेसियाले कूटनीतिक पत्र माग गर्दै पत्र पठाएको थियो। 

जीबी राई नेपालमा ठगी आरोपमा अनुसन्धान भएपछि मलेसिया पुगेको यसअघि नै पुष्टि भइसकेको थियो। तर उनलाई नेपाल फर्काउन नेपाल प्रहरीले इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाएपछि पनि उनी मलेसियामा नै भिसा थपेर बसेका छन्। 

उनले मलेसियाको भिसा थप गरेपछि नेपाल प्रहरीले इन्टरपोल मार्फत उनलाई फिर्ता गराउन ताकेता गरेको थियो। तर उक्त ताकेतापछि मलेसियाले इन्टरपोलको नोटिसभन्दा पनि कूटनीतिक पत्र माग गरेको थियो। 

प्रहरी उच्च स्रोतले भन्यो, ‘उहाँहरूले इन्टरपोलकै नोटिसका आधारमा पठाउन अलि अप्ठेरो मान्नुभयो। कूटनीतिक च्यानलबाटै पत्र माग गरेपछि हामीले पठाइसकेका छौँ। अब फिर्ता गरिदेला।’

ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। 

सीआईबीको टोली फर्कियो
यो घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी निरीक्षकको कमान्डमा टोली खटाएको छ। सहकारीका सर्भर फेला पारेपछि त्यहाँबाट विवरण निकाल्न जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईबीको सहयोग मागेको थियो। सीआईबीले आवश्यक प्राविधिक सहयोग गरेर फर्किइसकेको सीआईबीका एक अधिकारीले बताए। 

उक्त सर्भरमा सहकारीको कारोबारका सबै विवरण फेला परिसकेको छ। अहिले अनुसन्धान टोलीले त्यसलाई थप प्रमाणित गर्ने काम गरिरहेको छ। पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा चारवटा सहकारीका सर्भर फेला पारेको थियो। अन्य जिल्लाका सहकारीको सर्भर माग गर्दा पठाउने र सूर्यदर्शनको सहकारीको विवरण अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीले बताए। 

बुटवलको सुप्रिम सहकारीको सर्भर भने पठाइसकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र विभिन्न संस्थासहित १८ जनाविरुद्ध पुरक जाहेरी परेको छ। पुरक जाहेरीमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। 

५ जना थुनामा, अरु फरार
मुख्य अभियुक्त राई फरार भएको यो प्रकरणमा पक्राउ परेका ५ जना पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन्। 

सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र लोन अधिकृत बुद्धि गुरुङ फरार छन्।

सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। ठगीमा परेको भनी १ हजार ३६ जनाले उजुरी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .