समाज


भक्तपुरमा ज्वाइँले कलेजो दिएपछि ६५ वर्षीया सासूले पाइन् पुनर्जीवन

भक्तपुरमा ज्वाइँले कलेजो दिएपछि ६५ वर्षीया सासूले पाइन् पुनर्जीवन

नेपालखबर
फागुन २६, २०८० शनिबार ७:५४, काठमाडौँ

भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत एक महिलालाई ज्वाइँले कलेजो दान गरेका छन्।

६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले कलेजो दान गरेका हुन्। 

गएको सोमबार मानन्धरले आफ्नी सासु लक्ष्मीदेवीलाई कलेजो दान गरेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपणविज्ञ डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। 

डा. श्रेष्ठका अनुसार हाल कलेजो दान गर्ने ज्वाइँ र सासूको स्वास्थ्य अवस्था सामान्य छ। डा.श्रेष्ठकै नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको हो। 

नेपालमा पुरुषले महिलालाई अंगदान गरेका घटना विरलै छन्। 

नेपालमा भएका अंगदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई अंगदान गरेका त्यो क्षेत्रका विज्ञहरुले बताएका छन्। झन् ज्वाइँले नै सासूलाई कलेजो दान गर्नु दुर्लभ घटना भएको चिकित्सकहरुले बताएका छन्। 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ सालमा कलेजो प्रत्यारोपण सुरु गरेको थियो। 

प्रत्यारोपण केन्द्रमा पहिलोपटक भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिएकी थिइन्।

केन्द्रले यस अवधिमा एक हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। केन्द्रमा १५ देखि २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको डा.श्रेष्ठले जानकारी दिए। 

मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म गरिएका एक हजार दुई सय १२ मिर्गौला प्रत्यारोपणमा अंगदाता महिला आठ सय ७३ छन् भने पुरुष तीन सय ३९ मात्रै छन्।

अंग लिनेमध्ये ग्रहणकर्तामा महिला जम्मा २१ प्रतिशत मात्रै छन् भने अंग लिने पुरुषको संख्या ७९ प्रतिशत छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .