ad ad

समाज


१५ वर्षपछि ब्युँतियो खामविरुद्धको मुद्दा

यसरी भएको थियो व्यापारी रामहरि श्रेष्ठको हत्या
१५ वर्षपछि ब्युँतियो खामविरुद्धको मुद्दा

कालीबहादुर खाम।


उजिर कार्की
चैत २०, २०८० मंगलबार १७:२०, काठमाडौँ

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणको १५ वर्षपछि माओवादीका पूर्वकमान्डर कालीबहादुर खामविरुद्धको मुद्दा अगाडि बढ्ने भएको छ। नेताको संरक्षणमा उन्मुक्ति पाउँदै आएका खामलाई मंगलबार ठमेलबाट पक्राउ गरिएपछि जिल्ला अदालत, चितवनमा मुल्तबीमा रहेको मुद्दा ब्युँतिएको हो। 

काठमाडौँ, कोटेश्वरका व्यापारी श्रेष्ठलाई २०६५ वैशाखमा अपहरण गरेर चितवन लगी हत्या गरेको अभियोग खाममाथि छ। सोही कसुरमा अनुसन्धान अगाडि बढाउन उनलाई आजै चितवन पठाउने काठमाडौँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए। 

कोटेश्वरको सरस्वती मार्गस्थित तत्कालीन माओवादी जनमुक्ति सेनाको तेस्रो डिभिजन सम्पर्क कार्यालयका घरधनीसमेत रहेका श्रेष्ठलाई ‘सानो काम छ’ भन्दै कब्जामा लिएर चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा लगेर हत्या गरिएको थियो।

१७ लाख रुपैयाँ र कालीबहादुर खामकै अंगरक्षकको पेस्तोल चोरी गरेको भन्दै श्रेष्ठलाई ‘सोधपुछका लागि’ चितवन लगिएको थियो। घरबाट लैजाने बेलामा पनि ‘खामले नै ल्याउनू भनेको छ’ भन्दै लगिएको श्रेष्ठकी पत्नी रमिलाले जाहेरीमा उल्लेख गरेकी थिइन्। 

तर ‘चोरीबारे किन कुरा खोलेको?’ भन्दै श्रेष्ठमाथि कुटपिट भएको र उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको थियो। २०६५ वैशाख २८ गते राति श्रेष्ठको मृत्युपछि उनको शव भालुढुंगास्थित त्रिशूलीको झोलुंगे पुलबाट फालिएको थियो। 

पछि उनको शव चितवनस्थित नारायणी नदी किनारमा फेला परेको थियो। खामसहितका आरोपितविरुद्ध रमिला श्रेष्ठले जिल्ला प्रहरी कार्यालय, चितवनमा अपहरण तथा हत्याको कसुरमा जाहेरी दिएकी थिइन्। 

उक्त जाहेरीपछि तेस्रो डिभिजनका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटलासहित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको अभियोग लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

उक्त मुद्दामा २०६८ जेठ १७ गते जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो। 

तर खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरूको मुद्दा मुल्तबीमा राख्ने आदेश भएको थियो। सोही मुद्दा खाम पक्राउ परेसँगै ब्युँतिएको हो। 

यस्तो थियो घटना
२०६४ चैत १२ गते राति १२ बजे कालीबहादुर खामका अंगरक्षकलाई ३ जनाले नियन्त्रणमा लिएर १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरेको आरोप थियो। सोही वर्षको चैत १७ गते श्रेष्ठको घरको शौचालयको खाल्डोमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख रुपैयाँ र भर्‍याङमुनि पेस्तोल फेला परेको थियो। सोही घटनाको अनुसन्धानका लागि भन्दै श्रेष्ठलाई २०६५ वैशाख ७ गते सोधपुछ गरेर तेस्रो डिभिजनको टोली फर्किएको थियो। 

वैशाख १५ गते पुनः काठमाडौँ आएर राति २ बजे रामहरि श्रेष्ठ, केशव अधिकारी र गंगाराम थापालाई शिविरमा लगेर सोधपुछ गरिएको थियो। सोधपुछका क्रममा रामहरिले हतियार र नगद चोरी गरेको स्वीकार गरेका थिए। अन्य दुई जनाले भने घटना अस्वीकार गरेका थिए। 

उनीसँगै अनुसन्धानमा रहेका दुई जनाले घटनाको पोल खोलेको भन्दै श्रेष्ठलाई कुटपिट गरेको र उनी गम्भीर घाइते अवस्थामा फेला परेको तत्कालीन डिभिजनले रिपोर्ट गरेको थियो। उपचारका लागि काठमाडौँ ल्याउने क्रममा श्रेष्ठको भालुढुंगामा मृत्यु भएको र तन्नामा पोको पारेर शव त्रिशुली नदीमा फालिएको थियो। 

श्रेष्ठको घरमा घटनाको दुई वर्ष पहिलेदेखि विविध भनिने कालीबहादुर खाम मगर दोस्रो तलामा बस्दै आएका थिए। श्रेष्ठलाई घरबाट लैजाने बेलामा पनि खामले नै ल्याउनु भनेको छ भन्दै घरबाट लगिएको थियो। तर रमिलाले बुझ्दा चितवनमा सोधखोज चलिरहेको र सकिएपछि फिर्ता गरिदिने जवाफ कालीबहादुर खामले नै दिएका थिए। २०६५ जेठ २ गते रमिलालाई मानिस लिन आउनुस् भनी बोलाइएको थियो। रमिलासहित शक्तिखोरमा जाँदा कालीबहादुर खामले कुटपिटबाट रामहरि श्रेष्ठको मृत्यु भइसकेको बताएका थिए। लास सोधीखोजी गर्दा नदीमा फालिदिएको जवाफ पाएको रमिलाले बताएकी थिइन्। उनले कालीबहादुर खामसहितले हत्या गरेको भन्दै जेठ ८ गते जाहेरी दिएकी थिइन्। 

त्यसको चार दिनपछि २०६५ जेठ १२ गते बिहान नारायणी नदीको पुलबाट किनारमा शव देखिएको थियो। स्थानीयले शव देखेपछि जुगेडीस्थित प्रहरी कार्यालयमा खबर गरेका थिए। पछि प्रहरी पुगेर हेर्दा रामहरिको शव भएको पुष्टि भएको थियो। 

उनको शरीरका विभिन्न भाग काटिएको र नीलडाम रहेको अवस्थामा थियो। 

यसअघि नै फैसला भइसकेका बटलालाई भने जिल्ला अदालतले तीन वर्ष कैदको सजाय सुनाएको थियो। उनीविरुद्ध पनि जन्म कैदको सजाय माग गर्दै मुद्दा दायर भएको थियो। 

सवारी चालक अर्जुन कार्कीलाई २० रुपैयाँ जरिवाना गरिएको थियो।

श्रेष्ठलाई घरबाट लैजाने बटालालाई कम सजाय गरेको र सवारी चालक कार्कीलाई पनि कम सजाय गरेको भन्दै दोहोर्‍याई हेरिपाउन परेको निवेदनमा सर्वोच्च अदालतबाट २०७४ माघ ९ गते मुद्दा दोहोर्‍याई हेर्न अनुमति दिएको थियो।

तर सर्वोच्च अदालतले २०७६ फागुन १८ गते बटलालाई सफाई दिने फैसला गरेको छ। सवारी चालक अर्जुन कार्कीको हकमा जिल्ला र उच्चकै फैसला सदर भएको थियो।

उच्च अदालत हेटौँडाका तत्कालीन न्यायाधीश तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा (हाल सर्वोच्चका न्यायाधीश) को संयुक्त इजलासले २०७० माघ ५ गते सदर गरेको थियो। 

तर जिल्ला र उच्चबाट एउटै फैसला भएपछि दोहोर्‍याएर हेरिपाऊँ भन्दै सर्वोच्च अदालतमा दुवै पक्षबाट निवेदन परेको थियो। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले बटलालाई पनि सफाइ दिने फैसला गरेको थियो। 

तर खामविरुद्धको मुद्दा भने अब सुरु जिल्ला अदालतबाटै फैसलाको प्रक्रिया सुरु हुने भएको हो। प्रहरीले बुधबार अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान सुरु गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .