ad ad

समाज


बिनाकसुर १ महिना जेल बसेका कृष्णबहादुर

बिनाकसुर १ महिना जेल बसेका कृष्णबहादुर

राधिका अधिकारी
चैत २६, २०८० सोमबार ७:७, काठमाडौँ

१ महिना ९ दिन लामो कारागार जीवन बिताएर अघिल्लो सोमबार मध्यराति घर पुगेका कृष्णबहादुर सार्की मंगलबार दिनभर टोलाइरहे। प्रायः चुपचाप बसिरहने उनी बेलाबेला भन्छन्, ‘हामीजस्ता भुईंमान्छेलाई राज्यले गर्ने न्याय यति नै त होला!’

छेउमा बसेर बुवाको यो अवस्था हेरिरहेका उनका कान्छा छोरा अम्बरबहादुर सार्की पीरले काममा जान सकेनन्।

अम्बर भन्छन्, ‘जिन्दगीभर ज्यालामजदुरी गरेर इमानमा बाँच्नुभयो। छोराछोरी हुर्काउनुभयो। बुवाले आफ्ना छोरी र अरुका छोरीमा कहिल्यै फरक व्यवहार गर्नुभएन। ७३ वर्षको उमेरमा छोरीचेली नै बेचेको आरोपमा हातमा हत्कडी लाग्यो।’

गत फागनु ११ गते मध्याह्न कृष्ण घाममा पल्टिरहेका थिए। उनका छोरा अम्बर काममा निस्किए। काम गरिरहेकै ठाउँमा खबर पुग्यो, ‘बुवालाई समात्न प्रहरी घरमा पुगेका छन्।’ 

अम्बर हतारिँदै घर फर्किए। ‘बुवालाई सञ्चो थिएन। आज नलैजानुस्, सञ्चो भएपछि आफैं आउँछौँ भन्दा पनि मानेनन्। हामीलाई पक्राउ पुर्जीसमेत देखाएनन्। लिएर गए,’ अम्बरले भने। 

प्रहरी चौकीमा पुगेपछि मात्रै कृष्णले आफू चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेको चाल पाए। त्यसपछि ३ दिनसम्म होस ठेगानमा नरहेको अम्बर बताउँछन्। 

‘३ दिनसम्म मलाई त्यहाँको बारेमा केही याद नै भएन। बेहोसजस्तै भएछु। पछि मैले आफू कारागारमा रहेको थाहा पाए। मसँग अरु मानिस पनि थिए,’ बुवाले भनेको अम्बरले सुनाए। 

कृष्णले मुस्किलले ५ सन्तान हुर्काए। अलिकति भएको धान फल्ने खेतमा इन्द्रावती नदी पस्यो। खेत बगरमा परिणत भयो। थोरै भएको पाखो बारीले ३ महिनाको गुजारा धान्न मुस्किल थियो। अरुको ज्याला–मजदुरी, मेलापात गरेर उनले ७ जनाको परिवार पाले। गाउँ छोडेर काठमाडौंसमेत नझरेका कृष्णलाई यो उमेरमा आएर विदेश लगेर छोरीचेली बेचेको आरोपमा समातियो।

सर्वोच्चले निर्दोष साबित गरेर घर पठाए पनि उनलाई आफू अन्यायमा परेको छु भन्ने लागिरहन्छ। 

२८ वर्षको उमेरमा रुखबाट लडेर कृष्णको ढाडमा समस्या आएको थियो। आर्थिक अभावमा राम्रो उपचार गर्न पाएनन्। पछिल्लो समय उनी लौरोको सहारामा हिँड्छन्। ३५ वर्षअघि उनकी श्रीमती पुतली सार्कीको मृत्यु भयो। त्यही वर्षको बालाचर्तुदशीमा कृष्णका बाबुछोरा पशुपतिमा सत्‌बीज छर्न आएका थिए। त्यसपछि गाउँ छाडेर कतै नगएका कृष्णबहादुरको दोस्रो काठमाडौं यात्रा नमीठो रह्यो।

‘आमाको मृत्युपछि गाउँ छोडेर ननिस्किएका मेरा बुवाको काठमाडौंको यात्रा धेरै ठूलो मूल्यको भयो,’ छोरा अम्बर प्रश्न गर्छन्, ‘उहाँले जिन्दगीभरको इज्जत हत्कडीमा बाँधेर हिड्नुपर्‍यो। कुनै मान्छेलाई पक्राउ गर्नुअघि उसका बारेमा अनुसन्धान हुनुपर्दैनथ्यो? कि गरिबहरुको आफ्नो स्वाभिमान हुँदैन? ठीक छ, काले सार्की मेरै बुवा हुन् भन्ने लागेछ, प्रहरीले पक्राउ गर्‍यो। निर्दोष साबित भएपछि दाम्लोमा बाँधेको गाई फुकाएर धपाएजस्तो सुटुक्क छोडिदिने? यो राज्यले उचित क्षतिपूर्ति दिनुपर्दैन? पीडितको मनमा मलम लाग्ने गरी माफी माग्नुपर्दैन?’ 

कृष्णबहादुरले सिन्धुपाल्चोक कारागारमा १ महिना ९ दिन गुजारे। मानसिक रुपमा विक्षिप्त भए।

अम्बर भन्छन्, ‘म दिनदिनै बुवालाई भेट्न जान पाउँदिनथेँ। ४/५ दिनमा जान्थेँ। बुवा अँध्यारो अनुहार लगाउनुहुन्थ्यो। म बाहिर निस्किएर रुन्थेँ।’

कारागारमा कस्तो व्यवहार गर्छन् भनेर सोध्दा कसैले नराम्रो नगरेको जवाफ कृष्णले छोरालाई दिन्थे। आफू निर्दोष भएकाले सफाइ पाउने विश्वास पनि उनमा थियो। तर न्यायका लागि कति समय कुर्नुपर्ने हो भन्ने चिन्ताचाहिँ सपरिवारमा थियो। कारागारभित्रै केही भइहाल्ने हो कि भन्ने अर्को चिन्ता।

३८ वर्षअघि अदालतले काले सार्की नामका व्यक्तिलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गरी सजाय तोकेको थियो। फरार रहेका काले सार्की भेटिएका थिएनन्। अदालतले पुराना फैसला कार्यान्वयनका लागि सरकारलाई ताकेता गर्‍यो। त्यसपछि काले सार्कीको खोजतलासका क्रममा गत फागुनमा ७३ वर्षका कृष्णबहादुर सार्कीलाई पक्राउ गरियो।

‘प्रहरीलाई कसैले कृष्णबहादुर नै काले सार्की हो भन्ने सुराक दिएका भरमा कुनै अनुसन्धान नै नगरी पक्राउ गरेको रहेछ,’ कृष्णको रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी सिन्धुपाल्चोक जिल्ला अदालतकी वैतनिक वकिल नानी थापाले सुनाइन्। 

नानी १ वर्षदेखि सिन्धुपाल्चोक जिल्ला अदालतमा वैतनिक वकिलका रुपमा काम गरिरहेकी छन्। त्यो दिन नानीले नाम नमिलेको मानिसलाई पक्राउ गरेर लैजाँदै गरेको थाहा पाइन्। उनी अदालतको तहसिल शाखामा बुझ्न पुगिन्। तर, जवाफ पाइनन्। 

कर्मचारीले उल्टै थर्काए, ‘तपाईँलाई जवाफ दिन यो तपाईँको इजलास होइन।’

उनले पनि सूचनाको हकका आधारमा के भइरहेको छ भनेर जान्ने अधिकार रहेको जिकिर गरिन्। 

तहसिल शाखाका कर्मचारीले सहयोग नगरेपछि उनी स्रेस्तेदारकहाँ पुगिन्। त्यहीँ थिए, कृष्णबहादुर पनि। उनी राम्रो होसमा थिएनन्।

अधिवक्ता नानी भन्छिन्, ‘उहाँ होसमै हुनुहुन्थेन। काले सार्की र कृष्णबहादुर सार्की म नै हुँ भनेर लेखेको कागज बनाइएको थियो।’

नानीले सोधिन्, ‘तपाईँ के गर्दै हुनुहुन्छ, थाहा छ बाजे?’

कृष्णको जवाफ थियो, ‘थाहा छ, काम भैरहेको छ। यहाँ सही गरेपछि घर जान पाइन्छ।’ 

कृष्णले कागजमा हस्ताक्षर गरे। त्यसपछि उनी कारागार चलान भए। त्यो रात नानीलाई निद्रा परेन।

नानी कानुन व्यवसायी राख्न नसक्ने व्यक्तिलाई कानुनी सहायता दिन सरकारले नै खटाएकी वकिल हुन्। उनले सिन्धुपाल्चोक जिल्ला अदालत र प्रहरीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्न छोरासँग सम्पर्क गरिन्। त्यो दिन फरार भनिएका काले सार्कीका छोरा पनि उपस्थित भएका थिए। 

‘उनले आफू काले सार्कीको छोरा भएको र बुवा मरिसकेको भनेर मृत्यु दर्ता प्रमाणपत्रसमेत लिएर आएका थिए,’ नानीले सुनाइन्।

यो निवेदन दर्ता गर्न नै ठूलो सकस झेल्नुपरेको नानी सुनाउँछिन्। भन्छिन्, ‘कृष्णबहादुरको नागरिकता खोज्नै ५ दिन लाग्यो। नागरिकता भेटेपछि पनि काले सार्की र कृष्णबहादुर सार्की म नै हुँ भनेर गरेको कागजले गर्दा अर्को समस्या भयो। रिट निवेदन दर्ता गर्न १ हप्ता लाग्यो।’

यो रिट दर्ता भएको ३ दिनमा पेसी चढ्यो। अदालतले बन्दीलाई सशरीर उपस्थित गराउन भन्यो। सिन्धुपाल्चोक प्रहरीले कृष्णलाई ल्याइदिएन। नानी महान्यायाधिवक्ताको कार्यालय पुगिन्। त्यहाँबाट ताकेता गर्दा सिन्धुपाल्चोक प्रहरीले बन्दी बिरामी भएकाले अस्पताल लैजानुपर्ने खबर पठायो। पहिलो पेसी त्यसै सकियो।

नानीलाई जिल्लाबाट धम्की आयो, ‘हाम्रै अदालतको तलब खाएर हाम्राविरुद्ध उभिने?’

नानीले त्यसपछि यस मुद्दामा देखिने व्यक्तिका रुपमा वकिल कमल कोइरालालाई अघि सारिन्। 

अर्को पेसीमा अदालतले ३ तहको अदालतको मिसिल झिकाउन र बन्दीलाई उपस्थित गराउन आदेश थियो। मिसिल आउन समय लाग्यो। मिसिलमा कतै काले सार्की भन्ने कृष्णबहादुर सार्की उल्लेख भएको छ कि भनेर खोजियो। तर कतै भेटिएन।

सर्वोच्चले कृष्णलाई झिकायो। सिन्धुपाल्चोक प्रहरीले उनलाई न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र महेश शर्मा पौडेलको इजलासमा पठायो। कसरी प्रहरीले निर्दोष वृद्धलाई शंकाका भरमा पक्राउ गरे भनेर बहस भयो।

त्यही दिन सर्वोच्चले कैद ठहर भएको भनिएका व्यक्तिको स्पष्ट रूपमा पहिचान र यकिन नभएको अवस्थामा शंका र अनुमानका आधारमा अर्को व्यक्तिलाई थुनामा राखेको ठहर गर्‍यो।

यस्तो कार्यले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा आघात पार्नेतर्फ पनि सचेत गराउँदै कृष्णबहादुरलाई थुनामुक्त गराउने आदेश दियो।

कृष्णलाई अघिल्लो सोमबार मध्यराति नै प्रहरीले उनका छोराको जिम्मा लगाएको छ।

जेलबाट छुटेपछि त्यो जेलमा गुजारेको समय भने उनले बिर्सन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .