समाज


भूमिकास्थानमा आगलागीबाट ४३ घरगोठ जले, १३ परिवार बासविहीन

भूमिकास्थानमा आगलागीबाट ४३ घरगोठ जले, १३ परिवार बासविहीन

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १७:३४, अर्घाखाँची

भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन्। आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भनिन्, ‘भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन। कहाँ बस्ने कहाँ खाने।’

शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो। त्यही खरानी स्याहार्दै उनले बिलौना गरिन्।
    

‘घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिलेत खाने ठाउँ पनि छैन्’, गङ्गाबहादुर विकले सुनाए। आगलागीले उनको पनि घर नष्ट भएको छ। उनले घरमा भएको केही पनि बचाउन नसकिएको बताए। ‘ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरु सबै नष्ट भयो’, उनले भने।

मल्ल र विक मात्र होइन धारापानीमा शनिबार भएको भीषण आगोलागीका कारण १३ घर परिवार अहिले खुला आकाशमा बस्न बाध्य छन्। आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए।

बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्णरुपमा आगो निभेको छैन।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन्। आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए। चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री  वितरण गरिएको छ।

भीषण आगलागीले गाउँनै सखाप भएको छ। जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन्। हिजो भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र छ भैँसी जलेर नष्ट भएका हुन्। सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री प्रयाप्त नहुँदा आगोलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए। उनले सुरक्षाकर्मी संग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन्।

जिल्लाका छ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल छ। अन्य पालिकाहरुमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्याङ्कर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो। कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .