ad ad

समाज


धर्मपालवरसिंह थापा : माओवादी विद्रोह हुँदा प्रतिरोधको तयारी नै नगरेका सेनापति

धर्मपालवरसिंह थापा : माओवादी विद्रोह हुँदा प्रतिरोधको तयारी नै नगरेका सेनापति

नेपाली सेनाका पूर्वप्रधानसेनापति स्व. धर्मपालवरसिंह थापा


मोहन थापा
जेठ ६, २०८१ आइतबार १९:९, काठमाडौँ

विसं २०५२–०५६ मा तत्कालीन शाही नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार सम्हालेका महारथी धर्मपालवरसिंह थापाको यही जेठ ३ गते ८५ वर्षको उमेरमा देहावसान भएको छ। फोक्सोसम्बन्धी रोगबाट पीडित थापाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका सिलसिलामा निधन भएको हो। 

धर्मपालवरसिंह थापा नेपाली सेनाका जीवितमध्येका सबैभन्दा जेठा प्रधानसेनापति थिए। अब उनीपछिका प्रधानसेनापति प्रज्ज्वलशमशेर जबरा ज्येष्ठतम भएका छन्। 

विसं १९९६ असोज २ गते पिता नेत्रबहादुर थापा र माता यज्ञकुमारी थापाको एक मात्र सन्तानका रूपमा काठमाडौँमा जन्मिएका धर्मपालवरसिंह थापालाई उनका हितैषीहरूले बोलाउने नाम ‘सोलोमन’ थियो। थापाले विसं २०१४ मा शाही नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा छनौट भई बेलायतको स्यान्डहर्स मिलिटरी एकेडेमीबाट अधिकृत आधारभूत तालिम उत्तीर्ण गरेका थिए। 

धर्मपालवरसिंहसँग धनकुटाका कृष्णनारायणसिंह थापाले एकै ब्याचमा स्यान्डहर्सबाट अधिकृत आधारभूत तालिम पूरा गरेका हुन्। एकेडेमीमा धर्मपालवरसिंह थापाको नाम ‘पल’ थियो। तालिम पूरा गरेर नेपाल फर्केपछि विसं २०१६ मा उनी शाही नेपाली सेनाको श्री फर्स्ट राइफल गणमा सहायक सेनानी पदमा नियुक्त भएका थिए। धर्मपालवरसिंहको ब्याची रहेका पूर्वरथी कृष्णनारायणसिंह थापाले आत्मकथा ‘समय सम्झना’ (२०७८) पृ.६३ मा लेखेअनुसार त्यसबेला सहायक सेनानी पदको मासिक वेतन रु. १७५ थियो। 

प्रमुख सेनानी छँदा थापाले शाही नेपाली सेनाको श्री बर्दबहादुर गण कमान्ड गरेका  थिए। 

विसं २०४८ मा धर्मपालवरसिंह थापा, सहायक सेनानीदेखि सहायकरथीसम्म आफूभन्दा सिनियर रहेका अधिकृत बेसिकका सहपाठी कृष्णनारायणसिंह थापालाई उछिनेर उपरथी पदमा बढुवा भई बलाधिकृत नियुक्त भएका थिए। कृष्णनारायण सिनियर भएर पनि विदेशमा धेरै बसेकाले स्टाफ कलेज गर्ने उमेर हद नाघेकाले सो तालिम गर्ने अवसरबाट वन्चित भएका थिए।

कृष्णनारायणको यही कमजोरीको छिद्रबाट अघि बढेका धर्मपालवरले तत्कालीन शाही नेपाली सेनाको रथी पदमा रहेको समय विसं २०५२ जेठ १ गते महारथी पदमा पदोन्नत भई प्रधानसेनापति नियुक्त भएर ४ वर्ष शाही नेपाली सेनाको कमान्ड गर्ने अवसर पाए। 

धर्मपालवरसिंह थापाले विसं २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधानसेनापति रहेका महारथी सिंहबहादुर बस्न्यातकी सुपुत्री कविता थापासँग विवाह गरेका थिए। थापा दम्पतीका ४ सन्तान छन्। श्रीमती थापाको केही वर्षअघि मृत्यु भइसकेको छ। पूर्वप्रधानसेनापति सिंहबहादुर बस्न्यातले सेनाबाट अवकाशपछि विसं २०३५–३९ मा अरब गणतन्त्र इजिप्टमा शाही नेपाली राजदूत भएर पनि काम गरेका थिए।

धर्मपालवर र कृष्णनारायण विसं २०५१ कात्तिक ४ गते उपरथीबाट रथीमा पदोन्नत भएका थिए। विसं २०३२ मा प्रधानसेनापति नियुक्त भएका महारथी गुणशशशेर जबरापछि नेपाली सेनामा रहेको रथी दरबन्दी खारेज गरिएकाले उनीपछि विसं २०३६ मा प्रधानसेनापति हुने सिंहप्रताप शाह, विसं २०४० मा प्रधानसेनापति हुने अर्जुननरसिंह राणा, विसं २०४४ मा प्रधानसेनापति हुने सत्चितशमशेर जबरा र विसं २०४८ मा प्रधानसेनापति भएका गडुलशमशेर जबरा उपरथी पदबाट सिधै महारथी बढुवा भई प्रधानसेनापति नियुक्त भएका थिए। 

विसं २०४८ मा प्रधानमन्त्री र रक्षामन्त्री भएका गिरिजाप्रसाद कोइरालाले सेनामा आफ्नो पकड जमाउन उपरथीबाट अवकाश हुन लागेका योगेन्द्रप्रतापजंग राणालाई सु.क. गोपाल कोइरालाको सहजीकरणमा प्रधानसेनापति बनाउन दुई रथी पदको दरबन्दी स्वीकृत गरेका थिए। तर राणा सम्भाररथी विभागमा आर्थिक अनियमिततामा फसे, नयाँ सिर्जना भएको रथी पदमा धर्मपालवर र कृष्णनारायणले बाजी मारे।

गुणशमशेर जबरापछि रथी पदबाट प्रधानसेनापति हुने पहिलो धर्मपालवर भए। त्यसयताका प्रधानसेनापतिहरू रथीबाट महारथीमा पदोन्नत भएर प्रधानसेनापति नियुक्त हुने गरेका छन्। 

धर्मपालवरभन्दा अघिका शाही नेपाली सेनाका प्रधानसेनापति महारथी गडुलशम्शेर जबराले विसं २०५१ चैत २१ बाट लागू हुने गरी शाही नेपाली सेनाका परमाधिपति श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहसमक्ष राजीनामा दिएका थिए। आफ्नो प्रधानसेनापतिको कार्यकालमा शाही नेपाली जंगी अड्डा अन्तर्गतको सम्भाररथी विभागमा भएको भ्रष्टाचार र आर्थिक अनियमितताको कारणलाई लिई उनले सेनाको स्वच्छ छवि र प्रधानसेनापति पदको मर्यादा तथा गरिमा कायम राख्न नैतिकताको आधारमा दिएको राजीनामा श्री ५ बाट स्वीकृत भएको थियो।

चार वर्षे कार्यकाल वैशाख ३० मा पूरा हुनुअघि जबराले चैत २१ मा पदबाट राजीनामा दिएका थिए।

धर्मपालवर सफल कि असफल? 
राष्ट्रको सुरक्षाको मेरुदण्ड मानिने राष्ट्रिय सेनाका प्रमुख अर्थात् प्रधानसेनापतिको कार्यकाल सफलता र असफलताको मापदण्ड केलाई मान्न सकिन्छ? यो अहं प्रश्न रहिआएको छ। के सैनिक ऐनमा निर्धारित कार्यकाल पूरा गरेर अवकाश हुनु मात्र प्रधानसेनापतिको सफलताको मापदण्ड हो?

यसबारे छिमेकी राष्ट्रहरूमा राम्रैसँग बहस हुने गरेको छ। तर नेपालमा चाहिँ फरक शासन व्यवस्थामा फरक कोणबाट मापन गर्ने गरिएको पाइन्छ। 

विगतमा राजदरबार रिझाउन सफल भएको आधारमा सफल मानिन्थ्यो। किनकि, पञ्चायतकालमा प्रधानसेनापतिको कार्यकालमा राजदरबार रिझाउन सकेमा अवकाशपछि राजदूत नियुक्तिको सम्भावना हुन्थ्यो। तसर्थ प्रधानसेनापतिहरूको ध्यान यसतर्फ हुन्थ्यो। विसं २०६३ को परिवर्तनपछिको परिवेश फरक छ। हालै दिवंगत प्रधानसेनापति धर्मपालवरको कार्यकाल विसं २०४६ को परिवर्तनपछि र गणतन्त्रभन्दा अघिको हो। तसर्थ सोही परिवेशमा रहेर थापाको कार्यकालको मूल्यांकन हुनुपर्छ। 

उनको कार्यकालमा सेनामा र नेपालमा भएका तथा दूरगामी प्रभाव परेका केही घटनाहरूका आधारमा स्वर्गीय थापाको कार्यकाल र व्यक्तित्वको मूल्याङ्कन गरिनु उपयुक्त हुन्छ। 

स्वर्गारोहणको यस दुःखद् घडीमा समवेदनासँगै, नेपालको इतिहासको संगीन परीक्षामा घोटिएका सैनिक पात्रको विगततर्फ फर्कने प्रयास गरेको छु। मेरो यो प्रयास व्यक्तिसँग भन्दा सैन्य संगठन र देशहितको कोणबाट अभिप्रेरित भएको हुँदा, पाठकवृन्दले यही सेरोफेरोमा बुझिदिनुहुनेछ भन्ने विश्वास छ। 

अधिकृत बढुवामा गलत नजिर
प्रधानसेनापति नियुक्त भएलगत्तै धर्मपालवरले रिक्त रथी पदमा त्यसबेलाका सिनियर उपरथी रघुचन्द्रबहादुर सिंहको बढुवा नगरी उनलाई उपरथी पदबाटै घर जान बाध्य पारेका थिए। 

विसं २०५२ जेठ १ गते धर्मपालवर नारायणहिटी राजदरबारमा महारथीको दर्ज्यानी चिन्ह लगाई श्री ५ वीरेन्द्रबाट प्रधानसेनापति पदको शपथ लिएर शाही नेपाली जंगीअड्डा प्रवेश गर्दा त्यसबेला उनीभन्दा मुनिका एक मात्र रथी कृष्णनारायण संयुक्त राष्ट्र संघको शान्ति मिसनमा विदेश भएको, शाही नेपाली सेनाका तेस्रो वरीयताका सिनियर उपरथी रघुचन्द्रबहादुर सिंहले जंगी अड्डा र शाही नेपाली सेनाको तर्फबाट बधाइसहित सैनिक सलामी टक्र्याएका थिए।

दरबन्दी रिक्त रहेको र आफू सिनियर भएकोले रघुचन्द्रले रथी पदमा बढुवाको अपेक्षा राख्नु स्वाभाविक थियो। तर धर्मपालवरले उनको बढुवा गरेनन्। फलतः सिंह विसं २०५२ मंसिरमा उपरथी पदबाटै सेवानिवृत्त भए। 

त्यसपछि प्रधानसेनापति थापाले रिक्त रथी पदमा सोही पुस ३ मा उपरथी कृष्णबहादुर गुरुङलाई बढुवा गरिदिए। थापाको यही नजिर अवलम्बन गर्दै, आफू महारथी पदमा बढुवा भई प्रधानसेनापति पदको शपथ लिएर जंगी अड्डा प्रवेश गर्दा नेपाली सेना परिवारको तर्फबाट बधाइसहित सैनिक सलामी अर्पण गर्ने सिनियर उपरथी गोविन्दबहादुर गुरुङलाई प्रधानसेनापति रुकमांगद कटवालले र सिनियर उपरथी अनुजबहादुर बस्नेतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी पद रिक्त हुँदा पनि बढुवा नगरी घर जान विवश बनाएका थिए।

सेनामा यसप्रकारको गलत नजिर सुरुवात गर्ने सेना प्रमुख धर्मपालवर हुन्। 

आयुक्त पद प्रदान समारोहमा प्रथम हुनेलाई खुकुरी उपहार दिँदै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैनिक प्रतिष्ठान, खरिपाटी, भक्तपुरमा

सेना–सरकार सम्बन्ध
विसं २०४६ को परिवर्तनपछि २०४८ मा प्रधानमन्त्री/रक्षामन्त्री भएका गिरिजाप्रसाद कोइरालाले सुरुवातमा जंगी अड्डासँग असहयोग नीति लिएकाले प्रधानसेनापति गडुलशमशेर जबरा निराश थिए। जबरा सरकारसँग, विशेष गरी कोइरालासँग सम्बन्ध सुधार गर्ने उपाय खोजिरहेका थिए। 

भलै पछिल्ला दिनमा जबरा र कोइरालाबीच सम्बन्ध राम्रो भयो। तर विसं २०५२ जेठमा प्रधानसेनापति भएका थापालाई यो झमेला परेन। त्यसबेलाका प्रधानमन्त्री मनमोहन अधिकारी र रक्षामन्त्री माधवकुमार नेपालले शाही नेपाली सेनासँग सकारात्मक सम्बन्ध बनाउने प्रयास गरेका थिए। 

लगत्तै प्रधानमन्त्री/रक्षामन्त्री भएका शेरबहादुर देउवा दम्पतीसँग प्रधानसेनापति थापा दम्पतीको सम्बन्ध राम्रो र उठबस बाक्लो थियो। सम्भवतः थापा कोइराला–जबराको प्रारम्भिक टकरावबाट सरकारसँग असल सम्बन्ध राख्ने कुरामा सतर्क थिए! उनको कार्यकालमा सरकारबाट सेनालाई असहयोग भएन।  

थापाको प्रधानसेनापति कालमा नेपालमा माओवादी सशस्त्र विद्रोहको सुरुवात भएको थियो।

विसं २०५२ जेठ १ मा धर्मपालवरसिंह थापा प्रधानसेनापति नियुक्त भए, २०५२ फागुन १ बाट नेकपा (माओवादी) ले  सशस्त्र जनयुद्ध घोषणा गरेको थियो। 

२०५२ फागुनमा माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्दा उनीहरूसँग आधुनिक हतियार, पर्याप्त पैसा, तालिमप्राप्त जनशक्ति थिएन। माओवादी जनसेनाका डेपुटी कमान्डर नन्दकिशोर पुन पासाङ लिखित पुस्तक ‘इतिहासका रक्तिम पाइला, पृ.१९’ मा लेखिएको छ, ‘यस्तो अभावको समयमा एउटा राइफल पनि ठूलै हतियार मानिन्थ्यो।’

त्यही राइफलको आडभरोसामा माओवादी विद्रोहीले धर्मपालवरको प्रधानसेनापतिकालमा सल्यानको पाथिभरा झिम्पे प्रहरी पोस्ट, रोल्पाको जेलबाङ लगायतका देशभरका अनेकौँ प्रहरी चौकीमाथि आक्रमण गरेर सरकारी हतियार कब्जा गरिरहेका थिए, शक्ति बढाइरहेका थिए। 

माओवादीहरूले २०५३/५४ मा नेपालका पहाडी जिल्ला रोल्पाको कुरेली, बाँकेको रामजा, रोल्पाकै दाराबोट लगायतका स्थलमा छापामार सैन्य तालिम सञ्चालन गरिरहेका थिए भने २०५४/५५ तिर देशभित्रै हतियार निर्माण गर्ने काममा लागेका थिए। साथै माओवादी छापामारले भारतभूमिमा गोप्यरूपमा उच्चस्तरको युद्धकला तालिमसमेत लिएको थियो। यही तालिमबाट तयार भएका विद्रोही छापामार र यसै समयमा संकलन गरेका विद्रोही एवम् हतियारबाट २०५७ असोज ८ को दुनै आक्रमण, २०५७ चैत १९ को रुकुमकोट आक्रमण, २०५८ असार २८ को होलेरी आक्रमणमा प्रहरी बललाई पराजित गर्न सफल भएका थिए। 

ती आक्रमणको सफलताबाट माओवादी विसं २०५८ मंसिर ८ गते दाङस्थित शाही नेपाली सेनाको भगवतीप्रसाद गुल्म कब्जा गर्न सफल भएको थियो। सो ब्यारेकमा लुटेको हतियारको शक्तिबाट नै माओवादी जनयुद्धलाई विसं २०६३ वैशाख ५ सम्म टिकाउन र सफल अवतरण गराउन सफल भएको थियो। 

सशस्त्र संघर्षको पहिलो चरणमै माओवादी छापामारले सिन्धुली, गोरखा, रोल्पा लगायतका प्रहरी चौकीबाट सरकारी हतियार खोसेर गणतन्त्रको जगमा प्रचण्डको लागि सिंहदरबारको गद्दावाल कुर्सीनिकट पाइला बलियोसँग बढाइरहँदा प्रधानसेनापति धर्मपालवर श्री ५ वीरेन्द्रको स्वर्ण जन्म महोत्सव (विसं २०५२ पुस १४) र गद्दी आरोहण रजत महोत्सव (विसं २०५३ माघ १७) मनाउने क्रममा जंगी अड्डामा पाँच तारे होटलको पार्टी र टुँडिखेलमा शाही इज्जत अर्पण कवाजमा शाही नेपाली सेनालाई व्यस्त बनाइरहेका थिए। 

ती भोज र कवाजमा धर्मपालवरले श्री ५ का हजुरमा आफ्ना उत्तम र असल चाकरले नेपाली शब्दकोशमा भएसम्मका महिमामण्डनकारी शब्द चयन गरी तयार गरिदिएको भाषण वाचन गरेर वाहवाही थापेका थिए। बेलायतको स्यान्डहर्सजस्तो उच्चस्तरको एकेडेमीबाट दीक्षित, संसारकै शक्तिशाली सेना भएको देश अमेरिकाको वार कलेजबाट प्रशिक्षित प्रधानसेनापतिले आफूले इतिहासकै उत्कृष्ट शब्दचयनबाट प्रशंसा गरेको, शपथ लिएको, चार सय वर्ष लामो इतिहास भएको (विसं १६१६ मा द्रव्य शाहले गाेरखा राज्य प्राप्त गरेबाट) शाह वंशीय राजसंस्थाको अन्त्यका लागि काठमाडौँतर्फ बढिरहेका विद्रोही पाइलातर्फ ध्यान नदिनु/ दिन नसक्नु/होसियारी अवलम्बन गर्न नसक्नु सफलता हो कि असफलता?

यस प्रश्नको समीक्षा इतिहासमा हुने नै छ। 

अझ यहाँनेर उल्लेख गर्नैपर्ने त्यस समयको एउटा सन्दर्भ छ।

माओवादीको सशस्त्र दलले दुर्गम जिल्लाहरूमा आधार इलाका घोषणा गरेर सशस्त्र अभियान सञ्चालन गर्ने सिलसिलामा गाउँगाउँबाट सैनिकका परिवार र आफन्त विस्थापित भइरहँदा, प्रधानसेनापति धर्मपालवर नेतृत्वको शाही नेपाली सेनाको सैनिक प्रशासन गोरखाको गरीब परिवारबाट सैनिक जागिर खाएर घर खर्च टार्ने स्वप्न बोकेका सिपाही रेशमलाल श्रेष्ठलाई माओवादीसँग सम्बन्ध भएका उनका आफन्तको पत्रलाई आधार बनाएर बर्खास्त गर्दै सुरक्षित अनुभूत गरिरहेको थियो।

धर्मपालवर राष्ट्रिय सेना प्रमुख रहेको समयमा नेपाल भूमिभित्र सशस्त्र विद्रोहीले अर्काे सशस्त्र सेना गठन गरेर क्रमशः विस्तार गरिरहेको सगौरव सार्वजनिक घोषणा गरिरहेको थियो। सरकारी सुरक्षा चौकीहरूमाथि सशस्त्र आक्रमण भइरहेको थियो। प्रहरी जवानहरू वीरगति प्राप्त गरेर सहिद संख्या बढिरहेको थियो। दुःखका साथ भन्नुपर्छ, यस्तो जटिल क्षणमा थापा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर–आरजु दम्पतीसँग जंगी अड्डा र सैनिक ब्यारेकहरूमा स्वादिष्ट व्यञ्जनको स्वाद चाख्दै, पत्नी नेतृत्वको सैनिक अधिकृत श्रीमती संघको ब्यानरमा समाज सेवाको चरणबद्ध नाटक मञ्चनमा व्यस्त थिए। यसप्रकारको दृष्टान्त आधुनिक विश्वका अन्य देशमा सायदै देख्न सकिन्थ्यो।

अर्थात् चार सय वर्ष लामो इतिहास भएको राष्ट्रिय सेनालाई चुनौती दिन सार्वजनिकरूपमै विद्रोहीले समानान्तर सशस्त्र सेना गठन गरेको घोषणा गरिसक्दा प्रधानसेनापति धर्मपालवर सन्चैले झम्सीखेल, ललितपुरको सरकारी सुविधासम्पन्न महलमा सपरिवार सुतिरहेका थिए। उनको यो सन्चो केही वर्षमै देश र जनताका लागि निकै महँगो परेको थियो।

यी दृष्टान्तलाई नियाल्दा धर्मपालवरको प्रधानसेनापतिको कार्यकाल नेपालको राजनीतिक र सैनिक इतिहासमा अत्यन्त महत्त्वपूर्ण छ। सैनिक, सरकार, इतिहासका समीक्षक र राष्ट्रिय सुरक्षामा चासो राख्ने सचेत नागरिकसमेतले उनको कार्यकाल, नेतृत्व, कार्यशैली, नीतिबारे आज मात्र होइन, भोलिका दिनमा समेत गम्भीर विमर्श गर्न आवश्यक देखिन्छ।

पजेरो सुविधामा सेना पनि!
विसं २०५२ भदौमा प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले सांसद र उच्चपदस्थलाई उच्चमूल्यका सवारी साधन खरिदमा भन्सार छुट सेवा दिएका थिए। यो छुटको सदुपयोग तत्कालीन शाही नेपाली सेनाको पीएसओजले पनि गरेको थियो। थापाको पहलमा पीएसओजलाई भन्सार छुटमा महँगा मोटर सुविधाको प्रबन्ध मिलाइएको थियो।

कुरा राम्रा र मिठा गर, शासक रिझाऊ, विद्रोहीलाई कागजमा गाली गर, जोखिम नलेऊ, जागिरे दिन गुजार। यही शैली थियो उनको। जसको परिणाम थियो, विसं २०५८ मंसिर ८ गते राति दाङ ब्यारेक कब्जा गरी गुल्मपति मारिएर हतियार लुटिँदा पनि सरकारको आदेशको प्रतीक्षामा सेना बस्नुपरेको। 

राजा वीरेन्द्रलाई उपहार चढाउँदै तत्कालीन प्रधानसेनापति धर्मपालवरसिंह थापा

दरबार रिझाउन सैनिकको पसिना 
नेपाली सैनिकले राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त देशहरूमा खटिँदा राष्ट्र संघले दिने भत्ता रकम सेनाले कटौती गरेर सैनिक कल्याणकारी कोषमा जम्मा गर्छ। राष्ट्र संघले शान्ति सैनिकलाई के कति भत्ता दिन्छ र सेनाले के कति कटौती गर्दछ? कल्याणकारी कोषमा के कति रकम जम्मा भयो? यसबारे सार्वजनिक जानकारी माग गरेर पशुपरिवहन गुल्मको अमल्दार पदबाट अवकाश पाएका दोलखाका अम्मरबहादुर थापामगर भद्रकाली र टुँडिखेलमा अनसन बसे। भूतपूर्व सैनिक जम्मा गरेर सभा-समारोह गरे। सर्वाेच्च अदालतमा मुद्दा हाले। 

तर अमरबहादुरको मागप्रति प्रधानसेनापति धर्मपालवर अनुदार रहे। तल्लो तहका सैनिकले रगतसँग साटेको सैनिक कल्याणकारी कोषमा सञ्चित रकमको हरहिसाब सार्वजनिक गर्न सर्वाेच्च अदालतले दिएको पटकपटकको आदेशसमेत आलटाल गरिरहे। बरु थापाले अम्मरबहादुरलाई सैनिक प्रहरी र नेपाल प्रहरी लगाएर हिरासतमा लिने, पक्राउ गरी थुन्ने, तर्साउने प्रयास गरे। प्रधानसेनापति थापाको यो कदम अनुदार र गैरन्यायिक थियो। 

अम्मरबहादुर अडानबाट डेग चलेनन्। सेना राजनीतिबाट कर्नरमा परेको समय र सर्वाेच्च अदालतको पछिल्लो निर्णायक आदेशमा बाध्य भएर विसं २०६३ मंसिरमा प्रधानसेनापति रुकमाङ्गद कटवालले कोषको हिसाब सार्वजनिक गरे। त्यसपछि कल्याणकारी कोषको वासलात समयसमयमा सार्वजनिक हुने गरेको छ।

यस कोषको रकममा प्रधानसेनापतिले मनपरी दोहन गर्ने सिलसिला आज पनि जारी छ। कोषमा योगदान गर्ने तल्लो तहका सैनिक टुलुटुलु हेर्ने र उच्च तहका जर्साबहरू अनेक बहानामा मोज गरिरहने सिलसिला यथावत छ। अरबौँ रकमको यो कोषको रकम आजसम्म शृंखलाबद्ध अनियमितता भइरहनुमा पूर्वप्रधानसेनापति धर्मपालवर एक्ला दोषी नभए  पनि अरूउत्तिकै जिम्मेवार उनी पनि छन्। 

धर्मपालवरको कार्यकालमा विसं २०५४/५५ तिर तत्कालीन युवराज दीपेन्द्र वीर विक्रम शाह बेलायत भ्रमणमा जान लाग्दा सरकारबाट पर्याप्त भत्ता रकम नपाएपछि युवराजले प्रधानसेनापति गुहारे। प्रधानसेनापति थापाले युवराज दीपेन्द्रलाई यही कोषबाट करोड हाराहारी रकम झिकेर पाउन्ड सटही गरी रिझाएका थिए। हिसाब सार्वजनिक नै नगरेपछि कति रकम उनले युवराजका पाउमा चढाए, त्यो खोजीकै विषय छ।

थप भएका सुविधा
राष्ट्रिय सेनामा आबद्ध भएर देशहितमा रगत–पसिना बगाउने राष्ट्रसेवक सैनिकलाई राष्ट्र र सेनाले सेवासुविधा दिनु जायज हो, यसतर्फ पहल गर्नु हरेक प्रधानसेनापतिको न्यूनतम कर्तव्य हो। यसतर्फ थापाले केही सकारात्मक पहल अवश्य गरेकै हुन्।

प्रधानसेनापति धर्मपालवरले विसं २०५२ भदौमा सिपाही पदलाई निजामतीतर्फ पियनसरह रहेकोमा बहिदारसरह बनाएर तलबमानमा एकरूपता कायम गरे। ६० वर्ष उमेर नाघेका हुद्दाभन्दा मुनिका भूतपूर्व सैनिकले खाईपाई आएको पेन्सन रकममा ३० प्रतिशत थप पाउने व्यवस्था मिलाएका थिए।

उनले विसं २०५३ पुसबाट अवकाशप्राप्त सैनिक र तिनका हकवाला परिवारका लागि सैनिक कल्याणकारी कोषबाट परिवार सहुलियतवापत मासिक रु. १०० दिने व्यवस्था मिलाएका थिए। सो रकम समयसमयमा वृद्धि गरी हाल वार्षिक प्रतिसैनिक ५ हजार बनाइएको छ। 

उनकै पालामा विसं २०५२ पुस १३ गते छाउनीको वीरेन्द्र सैनिक अस्पताल उद्घाटन भएको थियो। 

नेपाली सेनाका प्रत्येक सदस्यले उनलाई सम्झिनुपर्ने खास काम हुन् यी। 

खासमा, सैनिक सेवा सेवा–सुविधाका लागि भन्दा देशहितमा बलिदानी गर्न अग्रसर हुने संगठन हो। सैनिकलाई सुविधातर्फ अल्मल्याउने वा योगदानमूलक सुकार्यमा उन्मुख गराउने? यो दायित्व सैनिक नेतृत्वको हो।

सेवा–सुविधाको काम प्रधानसेनापति मातहतका धेरैमध्येको कुनै एउटा विभागको हो, प्रधानसेनापतिले सम्पूर्ण समय ध्यान लगाउनुपर्ने कुरा होइन। तसर्थ प्रधानसेनापतिको कार्यकालको समग्र मूल्यांकन सैनिकका सेवासुविधा थपघटले मात्र गर्दैन। प्रधानसेनापतिले त आगामी १०० वर्ष राष्ट्रिय सुरक्षा के कस्तो हुन्छ र सेनाले के कसरी समाधान गर्न सक्छ भन्नेतर्फ रणनीति निर्माणमा ध्यान दिनुपर्ने हो। यसमा पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापा चुकेकै हुन्।   

समग्रमा धर्मपालवरसिंह थापाको नेतृत्वकाल देशको राष्ट्रिय सुरक्षा मजबुत बनाउने रणनीतिमा भन्दा सेवासुविधा लिने–दिनेमा बितेको देखिन्छ। उनको कार्यकालको सोही गलत रणनीति र कार्यसम्पादन शैलीको परिणाम नेपाली सेना र देशले भोगिसकेको छ।

भलै उनको भद्रगोल कार्यसम्पादनमा सेनाका अरू पदाधिकारी, राज्यका अन्य निकाय तथा मुलुकको राजनीतिक वृत्तसमेत उत्तिकै जिम्मेवार छ, यसबारे अलग चर्चा गरिनु उपयुक्त हुनेछ।

स्वर्गीय प्रधानसेनापति धर्मपालवरसिंह थापाप्रति हार्दिक श्रद्धासुमन। उनको आत्माको चिर शान्तिको कामना। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .