ad ad

समाज


२३ एसपीबाट चार एसएसपी बढुवा कसरत : विवादित सिनियर छान्ने कि २ वर्ष जुनियर तान्ने?

२३ एसपीबाट चार एसएसपी बढुवा कसरत : विवादित सिनियर छान्ने कि २ वर्ष जुनियर तान्ने?

उजिर कार्की
जेठ ११, २०८१ शुक्रबार १८:४०, काठमाडौँ

नेपाल प्रहरीमा रिक्त चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको लागि बाटो खुलेको छ। चार एसएसपी डीआईजी बढुवामा सिफारिस भएसँगै नेपाल प्रहरीमा जनपदतर्फ चार जना एसएसपी रिक्त भएको हो। 

एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी डीआईजीमा बढुवा सिफारिस भएका छन्। 

उक्त चार पदमा बढुवाका लागि २३ एसपी प्रतिस्पर्धामा छन्। यीमध्ये सिनियर अधिकारीहरू भने धेरैजसो विवादित छन्। निर्विवादित अधिकारीहरूलाई रोेज्ने हो भने दुई वर्ष जुनियर टोलीबाट बढुवा गर्नु पर्नेछ। यी २३ प्रतिस्पर्धीमा एक मात्रै महिला अधिकृत छिन्– रञ्जु सिग्देल। 

प्रतिस्पर्धामा रहेका मध्ये सबैभन्दा सिनियर हुन् एसपी विमल बस्नेत। उनी २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका हुन्।

उनको ब्याचका सबै एसएसपी भइसकेका छन्। तर पहिले निलम्बनमा परेका बस्नेतले पछि सफाइ पाएका थिए। यही कारण उनी बढुवामा छुट्दै आएका छन्। अहिले उनले ५ वर्षपछि भर्ना भएको टोलीसँग एसएसपी बढुवामा प्रतिस्पर्धा गर्नु परेको छ।

गृहमन्त्री लामिछानेले यसअघि एसएसपीबाट डीआईजीमा बढुवा गर्दा पनि राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई स्थान दिएका छैनन्। अनुसन्धान विभागबाट आएको टोली एक वर्ष सिनियर भए पनि उनीहरू सबैलाई छुटाएर पछिल्लो टोलीबाट तीन जनालाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ।

एसएसपी श्यामकृष्ण अधिकारी पनि राष्ट्रिय अनुसन्धान विभागबाटै नेपाल प्रहरीमा आएका हुन्। श्यामकृष्ण २०५५ सालमा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर पछि प्रहरीमा आएका थिए। उनी एसपीमा आफूभन्दा दुई ब्याच जुनियरसँगै २०७५ मा बढुवा भएका थिए। 

राष्ट्रिय अनुसन्धान विभागबाट आएका बस्नेत र अधिकारीबाहेक २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ८ जना र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १३ जना एसपी एसएसपीको प्रतिस्पर्धामा छन्।

तर २०५६ र राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोलीका धेरैजसो विवादित छन्। उनीहरूमध्ये कारबाहीमा परेकाहरू धेरै छन्। यही कारण आफ्नो ब्याचबाट उनीहरू पछि परेका थिए। 

२०५६ को टोलीका एसपी हिराबहादुर पाण्डे यसअघि सिरहामा नेपाली कांग्रेसका नेताको घरमै गएर पेस्तोल ताकेको भन्दै विवादमा तानिएका थिए। उनलाई त्यहाँबाट तत्काल हेडक्वार्टर तानिएको थियो। 

एसपी नान्तिराज गुरुङले अघिल्लो पटक बढुवामा नपरेपछि संगठनविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेका थिए। त्यसपछि उनलाई स्पष्टीकरण सोधिएको थियो। एसपी भीम दाहालको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान नै गएको थियो। 

एसपी विनोद सिलवाल पनि नवलपरासीमा कार्यरत रहँदा तानिएका थिए। 

यस्तै २०५६ को टोलीकै रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं र विमलराज कँडेल पनि एसएसपीको दौडमा छन्। दुई वर्षपछि प्रहरी निरीक्षकमा भर्ना भए पनि २०७५ फागुन ७ गते उनीहरूसँगै एसपीमा बढुवा भएका अधिकृतहरू पनि एसएसपीको लबिइङमा छन्। 

यो टोलीमा आफ्नो ब्याचबाट प्रहरी नेतृत्व गर्ने अधिकारीहरू लबिइङमा लागेका छन्। २०५८ को टोलीका एसपीहरू रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि प्रतिस्पर्धामा छन्।

यो टोलीबाट अहिले एसएसपी बढुवा हुनेहरू आफ्नो ब्याचबाट नेतृत्वमा पुग्न अगाडि बढ्नेछन्। बाँकी रहेकाहरूका लागि असारमा र भदौमा ठाउँ खाली हुनेछ। आगामी भदौसम्ममा ३० वर्षे सेवाहद कायम रहे ठूलो संख्यामा प्रहरी अधिकारीहरू अनिवार्य अवकाश हुनेछन्।

विवादको घेरामा गृहमन्त्री, विधि मिचेर बढुवा
गृहमन्त्री भएदेखि नै नेपाल प्रहरीमा विवादित निर्णय गर्दै आएका रवि लामिछानेको एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णय पनि विवादित छ।

उनले आफ्नो नागरिकता र राहदानीको मुद्दामा सहयोग गरेका एसएसपीलाई डीआईजीमा बढुवा गरेका छन्। त्यसअघि पनि उनले विधि र प्रक्रिया मिच्दै आफ्नो स्वार्थअनुसार प्रहरीमा हस्तक्षेप गर्दै आएका छन्। 

उनले गराएका सरुवा पनि सबै विवादित छन्। डीएसपीबाट एसपीमा बढुवा गर्दा पहिलो नम्बरकै अधिकारीलाई छुटाएका थिए। रविको छनोटमा नेताका पीएसओ परेका थिए।

बढुवामा जस्तै सरुवामा पनि लामिछानेका निर्णय विवादित छन्। तराईका जिल्लाबाट डेढ महिनामै उनले एसपीलाई सरुवा गरेका थिए। सामान्यतः एक वर्ष जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिने गरिएको भए पनि लामिछानेले केही अधिकारीहरूलाई डेढ महिनामै जिल्ला प्रहरी प्रमुखबाट हटाएका थिए।

गृहमन्त्री हुनासाथ उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरूको सरुवा गराएका थिए। सीआईबीले उनी जोडिएको सहकारी ठगीको मुद्दामा अनुसन्धान गरिरहेको थियो। एआईजी किरण बज्राचार्यले उनको सहकारी ठगीको मुद्दाका सबै फाइल झिकाएर अनुसन्धान गरिरहेकी थिइन्। उनको फाइल अनुसन्धान गरिरहेका एसपी र डीएसपी पनि सीआईबीबाट अन्यत्र सरुवा गरिएका छन्।

रविले एआईजी बज्राचार्यलाई त्यहाँबाट हटाएर श्यामलाल ज्ञावालीलाई सीआईबी प्रमुख बनाए। ज्ञवाली सीआईबीमा आएसँगै रविविरुद्धका सबै अनुसन्धान रोकिएको छ।

उता बुटवलमा अनुसन्धान भइरहेको सुप्रिम सहकारीको ठगीमा पनि उनलाई प्रतिवादी नबनाई अभियोग पत्र दायर गरिएको छ। कास्कीको सूर्यदर्शन सहकारीको ठगीमा पूरक जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको थियो। तर अहिले त्यहाँ पनि उनीमाथिको अनुसन्धान रोकिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले पनि उनलाई कुनै अनुसन्धान नपरेको र कुनै उजुरी पनि नपरेको भनी पत्र नै दिएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको छ।

सर्वोच्च प्रशासनले समेत दर्ता गर्न नमानेको रिट बुधबार न्यायाधीशले दर्ता गर्न आदेश दिएका छन्। उनलाई क्लिनचिट दिने महान्यायाधिवक्ता दिनमणि पोखरेलको निर्णय खारेज भए गृहमन्त्रीमाथि नै अनुसन्धान गर्ने बाटो खुल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .