ad ad

राजनीति


सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तापक्ष भन्छ- कांग्रेसको शैली अशोभनीय

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तापक्ष भन्छ- कांग्रेसको शैली अशोभनीय

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १६:६, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायत विपक्षीले अवरोध गरेको छ। कांग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो।

बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए भने सांसदहरूले बोल्नका लागि समय माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गरेका थिए।

तर कांग्रेस सांसदहरू बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडी नबढाइ बैठक स्थगित भएको जानकारी गराएका थिए।

बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसदहरूले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए।

सांसद प्रदीप पौडेलले सभामुखले कांग्रेस सांसदहरूलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए। उनले सत्ताको इराशामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए।

उनले भने – ‘प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखले बोल्न दिनुभएन। संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसदले उल्लंघन गरेको छ। सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ। सभा शुरु हुनु अगाडी प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो। आज त्यो पनि बन्द गरिएको छ। त्यसबाट संसद एकलौटी ढंगबाट चलाउने, जर्बजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ।’

यता, सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरूको अवरोधका कारण आफूहरूले बोल्न नपाएको बताए। प्रमुख प्रतिपक्ष दलका सांसदहरू पालैपालो बोलिरहेका भएपनि सत्ता पक्षका सांसदहरू भने बोल्न नपाएको उनको भनाई छ।

उनले कांग्रेस सांसदहरूले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताए। उनले छिटोभन्दा छिटो संसद खुल्नुपर्नेमा जोड दिनुभयो।

उनले भने – ‘यो संसदमा प्रमुख प्रतिपक्षले जे कुरा राख्नुभयो, बोल्न पाउनुपर्छ भन्नेकुरा त्यही कुरा हामी सत्तापक्षले पनि भन्दै आएका छौँ। प्रमुख प्रतिपक्षको कारणले गर्दा कोहीपनि सांसदहरूले बोल्न पाएनन्। देशभरका समस्याहरू संसदमार्फत् सरकारलाई सुनाउने, सरकारलाई खबरदारी गर्ने सांसदको अधिकार हो। त्यो अधिकार दुई महिनादेखि नेपाली कांग्रेसका माननीयज्युहरूले अवरोध गरिरहनु भएको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने गरेको भन्दै आजको बैठकमा बोल्ने भए सबैलाई बोल्ने वातावरण बनाउनेगरी बैठक अगाडि बढाउन खोजेको बताए।

उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा कांग्रेस सांसदहरूलाई बोल्न नदिने नभनिएको स्पष्ट पारे। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रमुख सचेतक परियारले सहकारी प्रकरणमा छानबिन समिति बनाउने विषयमा आइतवारसम्म सहमति जुट्ने बताए।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताए। उनले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको बताए। समस्या समाधानका लागि कार्यदलले निचोड निकाल्ने उनको भनाई छ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)कै सांसद लेखनाथ दाहालले नेपाली कांग्रेसको अवरोधका कारण महिनौदेखि संसदमा बोल्न नपाएको बताए। उनले कांग्रेस सांसदहरूले आफूहरूको मौलिक हकको अपहरण गरेको आरोप लगाए।

उनले कांग्रेस सांसदहरू आफू बोलेर संसद अवरोध गर्ने गरेका भन्दै सोही कारण सभामुखले आजको बैठकमा कांग्रेसलाई बोल्न नदिएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .