केन्द्रीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्ग हो- बीपी राजमार्ग। १६० किलोमिटर लम्बाइको यो मध्यपहाडी राजमार्ग काभ्रेको धुलिखेलबाट सुरु भई सिन्धुली हुँदै महोत्तरीको बर्दिबास पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ।
जापानको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित देशकै एक उत्कृष्ट राजमार्ग मानिने बीपी राजमार्ग २०८१ असोज ११ यता भने साह्रै झन्झटिलो, सास्तीपूर्ण र जोखिमयुक्त मात्र बनेको छैन, अनिश्चित यात्राको पर्याय पनि बन्न पुगेको छ।
दसैँको मुखमा असोज १० देखि १२ गतेसम्मको भीषण वर्षापछि खसेको पहिरो तथा आएको बाढीका कारण काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म बीपी राजमार्ग दर्जनभन्दा बढी ठाउँमा क्षतविक्षत छ।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार ८ किलोमिटरजति बीपी राजमार्ग बाढीले पूर्ण रूपमा बगाएको छ भने थप ४ किलोमिटर सडक ठाउँठाउँमा भत्किएका छन्।
समग्रमा बीपी राजमार्ग १२ किलोमिटर पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। सडक डिभिजन प्रमुख सुमनका अनुसार उक्त सडकलाई पहिलेकै अवस्थामा ल्याउन कम्तीमा २ वर्ष लाग्नेछ।
‘पहिला त पैसाको व्यवस्था हुनुपर्यो, बीपी राजमार्ग पुनःनिर्माण गर्न ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छौँ, तर यो रफ अनुमान हो, नापजाँच नै सुरु भइसकेको छैन’, डिभिजन प्रमुख सुमनले नेपालखबरसँग भने, ‘अनि त्यो बनाउन कम्तीमा २ वर्ष लाग्ने देखिन्छ।’
त्यतिन्जेलसम्मका लागि भने अहिलेकै अस्थायी ट्र्याकबाट सास्तीपूर्ण र जोखिमपूर्ण यात्रा गर्नुको विकल्प नरहेको सडक डिभिजन प्रमुख सुमन बताउँछन्।
भीषण पहिरो र बाढीका कारण असोज ११ गते बेलुकादेखि पूर्ण रूपमा बन्द भएको बीपी राजमार्ग असोज २५ गतेदेखि साना सवारीसाधन मात्र सञ्चालन हुनेगरी एकतर्फी रूपमा खुलाइएको थियो।
रोशी खोलाको बगरै बगर बनाइएको अस्थायी सडक थप मर्मत गरेपछि असोज २९ देखि भने यात्रुवाहक ठूला सवारीसाधन (बस) पनि सञ्चालन भइरहेका छन्। तर उक्त यात्रा कति सास्तीपूर्ण र जोखिमपूर्ण छ, भनिसाध्य छैन।

शनिबार (कात्तिक ३ गते) बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-९ स्थित नार्के बजार बगाएको स्थानदेखि अस्थायी ट्र्याक बनाइएको चौकीडाँडासम्म बोलेरो गाडीमा यात्रा गर्दा थाहा भयो- अहिले यो राजमार्गको हालत कति नाजुक छ भन्ने।
बिनातयारी आफ्नै काम विशेषले भएको त्यो यात्राका क्रममा मोबाइलबाटै भए पनि बीपी राजमार्गको कष्टकर यात्राका दृश्य भिडिओमा कैद गर्ने प्रयास गरिएको छ।
अपर्झट मोबाइलबाट खिचिएको भिडिओ गुणस्तरीय नभए पनि बीपी राजमार्गको वर्तमान अवस्था नजिकबाट बुझ्न सहयोग नै पुग्ने विश्वासका साथ यो सामग्री तयार पारिएको हो।
यस्तो छ सडकको हालत
नार्के बजारदेखि धुलिखेलतर्फ स्याउली बजार भन्ने स्थानसम्म बीपी राजमार्ग रोशीले सर्लक्कै बगाएको छ। जहाँ सवारीसाधन खोलैखोला गुडाउनुपर्छ, कतै धुलो त कतै पानी झेल्दै।
स्याउली बजारदेखि थोरै अगाडिसम्म बीपी राजमार्ग बचेको छ। तर लगत्तै गिम्दीबेँसीबाट फेरि बीपी राजमार्गको नामोनिसान छैन। अलि अगाडि बढेपछि चारसय, ह्लासकोट हुँदै कटुन्जे सानो बजार आउनुअघिसम्म सवारीसाधन रोशी खोलैखोला कुदाउनुपर्छ।
त्यस दिन टन्टालपुर घाम लागेको थियो। तर थोरै मात्र पनि वर्षा भयो र बाढी आयो भने तत्काल यातायात अवरुद्ध हुने निश्चित छ।
कटुन्जे सानो बजारमा पनि बाढी पसेर घर बगेका र लडेका छन्। तर बीपी राजमार्ग भने अलि माथि भएकाले बचेको छ। तर कटुन्जे कट्नासाथ झन् ठूलो बिजोग सुरु हुन्छ- बीपी राजमार्गको।

स्थानीयका अनुसार कटुन्जे कटेपछि चौकीडाँडा क्षेत्र सुरु हुन्छ, जहाँ रोशी खोलाभित्रै ढुंगा-गिट्टी हाली पानी बगेको स्थानभन्दा केही उँचो पारेर सडक बनाइएको छ। त्यहाँ थोरै बाढी आउनासाथ यातायात अवरुद्ध हुने अवस्था छ।
रोशी खोलैखोला अगाडि बढेपछि चरंगे खोला आइपुग्छ, जसलाई चौकीडाँडा भनिन्छ। त्यही चरंगे खोलाबाट धुलोमय उकालो थोरै चढेपछि बीपी राजमार्ग जोडिन्छ। नार्केबाट धुलिखेलतर्फ अगाडि बढ्दा सबैभन्दा सास्ती र जोखिम चौकीडाँडामै देखियो।
वास्तवमा चौकीडाँडामा बीपी राजमार्ग रोशीले मात्र होइन, चरंगे खोलाले पनि बगाएको रहेछ। त्यसपछि भने सग्लो बीपी राजमार्ग भेटिन्छ। चौकीडाँडामा कम्तीमा एक घण्टा जाममा पर्यौँ।

तल चरंगे खोलाबाट उकालो चढिरहेका टिपर, बससहितका सवारीसाधन बीचमै रोकिनुपर्यो। बाटो साह्रै साँघुरो छ। धुलिखेलतर्फबाट ठूलो बस आएको रहेछ। न यताका गाडी उता छिर्न सक्नु न उताका बस यता आउन सक्नु।
तलबाट गएका सवारीसाधन ओरोलामा आफैँ गुडेर दुर्घटना हुने भयले चालक तथा सहचालक धमाधम ‘ओट’ लगाइरहेका छन्। एकपटक माथि चढिसकेका टिपरसहित कम्तीमा चार सवारीसाधन ब्याक गर्नुपर्यो। यस क्रममा हामी चढेको बोलेरोले झन्डै सडक छाडेको!
बल्लबल्ल उताका ठूला दुई बस चरंगे खोलातर्फ तल आए। त्यो ट्रयाकमा तिनलाई मोड काट्नै मुस्किल!

यसरी चौकीडाँडाको त्यो उकालोमा यात्रा जति सास्तीपूर्ण छ, त्यत्तिकै दुर्घटना हुने जोखिम पनि छ। एक यात्रु भन्दै थिइन्, ‘यहाँ दिनभर पुलिस बस्नुपर्ने, नत्र यहाँ कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्छ।’
सडक डिभिजन प्रमुख भक्तपुरका प्रमुख सुमन भन्छन्, ‘अहिले बीपी राजमार्गमा सररर गुड्ने पिच छैन, भित्ता काटेर हुन्छ कि खोलामा ट्र्याक बनाएर सकभर सवारीसाधन सञ्चालन जारी राख्ने प्रयास गरेका छौँ, कतिपय स्थानमा दुइटा गाडी क्रस गर्न सक्ने अवस्था छैन।’
यसलाई बुझेर चालकले सवारीसाधन सञ्चालन गर्नुपर्ने उनको सुझाव छ।
‘ड्राइभरहरूलाई बीपी राजमार्ग पहिलोको जस्तै खुल्यो भन्ने पर्या छ, ठाउँ पायो भने छिराइहाल्ने, नकुर्ने’, उनले भने, ‘५ मिनेट नकुर्दा ५ घण्टा जाम भइरहेको अवस्था छ।’

सडकको जोखिमलाई विचार गरेर राति अर्थात् साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बीपी राजमार्गमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उनले बताए।
‘तर राति पनि पल्लो गाउँ त हो किन जान नदिने भनेर जबर्जस्ती गर्छन्’, उनले गुनासो गरे।
बीपी राजमार्ग पहिलेकै अवस्थामा फर्काउन कम्तीमा २ वर्ष कुर्नुपर्ने हुँदा वर्षायाममा सो सडक अवरुद्ध हुने निश्चित छ।
‘बर्खायामका लागि हामीले विकल्प सोचिरहेका छौँ’, सडक डिभिजन भक्तपुरका प्रमुख सुमनले भने, ‘वैशाख-जेठ लागेपछि त्यो खोलाको बगरमा गाडी चलाउन त सम्भवै हुन्न, त्यसबेला चरिकोटजस्ता वैकल्पिक सडक प्रयोग गर्नेबारे सोचिरहेका छौँ।’
अब तल भिडिओमा हेर्नुहोस् नार्केदेखि चौकीडाँडासम्म बीपी राजमार्गको वर्तमान हालतः
रोशीले बगाएको बीपी राजमार्गको यात्रा सास्तीसँगै जोखिमपूर्ण pic.twitter.com/5TVbrRe2Ej
— Nepalkhabar (@nepalkhabar) October 20, 2024
Shares

प्रतिक्रिया